एक दिन
यी शब्दहरू पढिनेछन्
अर्थ खोजिनेछ
र भाव बुझिनेछ।
एक दिन
रातको एकान्तमा
कसैले यी शब्दहरू पढ्नेछ
आफूलाई त्यसमा भेट्नेछ
र गर्नेछ
एउटा फरक निर्णय।
सायद म जीवित नहुँला
त्यो क्षण,
जब त्यो एक पाठकले पढ्नेछ
र भेट्नेछ
त्यो ज्ञान
जसलाई म
दिन–रात खोजिरहेछु।
एक दिन
मौनताको गहिराइमा
ऊ आफूलाई पाउनेछ
हराउनेछ
आफ्नै मन, मस्तिष्क
र विचारभित्र।
त्यो दिन
जब ऊ पढ्नेछ
यी शब्दहरू
बुझ्नेछ
शब्दभित्र लुकेका
भावका अर्थहरू।
त्यो दिन
मेरो लेख पूर्ण हुनेछ
जसरी आज म अपूर्ण छु—
जीवित भएर,
पाठक भएर
र शब्द पढिँदा पनि।
तर एक दिन
त्यो एक पाठक
जसलाई मैले जीवनभर खोजिरहेँ
उसले खोज्नेछ
पाउनेछ
आफूलाई
र पढ्नेछ
जसका लागि म लेखिरहेको छु।
एउटा यस्तो पाठक
जसको प्रभाव
सय पाठक बराबर हुनेछ
त्यो दिन
मेरो साहित्य सफल हुनेछ।