पानी छुँदा पनि करेन्ट लागेको जस्तो पूरा शरीर नै जिरिङ्ग हुन्थ्यो तर अहिले गाउँको पानी त्यस्तो छैन। जलवायु परिवर्तन अथवा यावत कारणले हुनसक्छ, आश्विन दोस्रो साताको घामले पारिलो बनाउनुको सट्टा चिरिक्क कमिलाले टोकेको जस्तो पोलिरहेछ।
छेउपट्टि धुपीका हरिया बोट र त्यसमाथि देखिने पारी उभिएको कुम्भकर्ण हिमाल कुनै प्रख्यात चित्रकारको सिग्नेचर क्यानभासभन्दा कम छैन। कलमले नलेखेको बेला बेस्सरी हात बजार्दा उछिट्टिएका थोपाहरू जसरी सो आँगनमा उम्रिएका झारहरूलाई उखेल्दै छिन्, नेपालको सरदर औसत आयुको दुई तिहाइ जीवन बाँचिसकेकी एक महिला।
निधारलाई मुहान बनाएर जेठमा भर्खर मूल फुटेको कुवा जसरी पलाएका केही थोपा पसिनालाई कुहिनाको सहाराले पुछ्दै फत्फताउँछिन्, ‘द्वादशी भइसक्यो, आज कमेरो छ्यापेर म एक्लीले कहिले यत्रो घरमा रातो माटो लगाइसक्नु?’
बाल्टीमा भर्खर चोबेर भित्तामा बजार्न लागेको कुचोलाई फेरि बाल्टीमै राखेर म पुलुक्क आमातिर हेर्छु। त्यति बेला केही जवाफ दिइहाल्नु मुनासिब नठानेर फेरि आफ्नै काममा ध्यान केन्द्रित हुन्छु।
‘झार उखेली सकेर पूरा आँगन लिप्नुपर्छ। पोहोरको दसैँदेखि पाहुना कोठाको कपडा धोएका छैनन्। आँगनको भित्तो टालेको छैन,’ फेरि उस्तै सानो तर गहिरो आवाज।
‘एक जना खेताला लगाएर गर्नु नि त नसक्ने भए,’ कुचोलाई बाल्टीमै विश्राम दिएर टाउको फनक्क घुमाएर मैले भनेँ।
‘तेरो कुन चाहिँ खेतालाले कुलदेवताको कोठामा लिपपोत गर्छे?’ आमाले एकै सासमा रुखो आवाजले वाक्य पूरा गर्नुभयो, मानौँ उहाँलाई पहिले थाहा थियो मेरो सोही प्रतिक्रिया आउँछ।
ए! मैले त भर्खर पो बुझेँ। आमाले फेरि घुमाउरो तरिकाले बिहे गरिनस् भन्नुभएको रहेछ। तिहारमा आमाले सेलरोटी राम्रो घुमाउनुहुन्छ, यी कुराहरू जस्तै। घुमाउरा मध्येमा मलाई मन पर्ने भनेको त्यही एउटा सेलरोटी मात्र हो।
घरको लम्बाइपट्टिको भित्ता सकेर अगाडिको भित्तामा कमेरो छ्याप्न बाल्टी घिसार्दै भनेँ, ‘ए भनेपछि लिपपोत गर्ने खेताला हैन, साथी चाहिएको?’
यो पटक अघिको जस्तो नभएर केही लाजको कणहरू घुलेको मिश्रित आवाज थियो।
आमाबुबालाई निश्चित क्रियाकलापहरूमा बाहेक मलाई व्यक्तिगत रूपमा विवाहको आवश्यकता महसुस नै भएको छैन। यसको प्रमुख कारण सामाजिक सञ्जाल हुन सक्छ। साना गुडिया जस्ता नानीहरू विशेष गरी छोरीहरूको रिल देख्दा रहर जागे पनि अर्को थरीका भिडियोहरूले हाउगुजी फैलाउँछन्। सञ्जालमा व्याप्त विवाहपछि स्वतन्त्रताको हनन भएको र आन्तरिक शक्ति परास्त हुने लगायतका भिडियोले थप दूर-दूर गराउने रहेछन्।
ल मानौँ आवश्यकताको महसुस भइहाल्यो भने पनि कुनै रूपले ‘म तयार छु’ वाला ग्रिन फ्ल्याग प्राप्त भएकै छैन। विज्ञान प्रयोगशालामा एसिड-बेस टाइट्रेसन गर्दा निश्चित मात्रामा क्षार घोलिसकेपछि इन्डिकेटरले रङ परिवर्तन गर्छ, जसलाई इन्ड प्वाइन्ट भनिन्छ। मेरो अविवाहित जीवन कति होला? अब त एक किसिमले बानी परेको छ। हरेक चाडपर्वमा घरमा मिठाई, पाहुना, कोसेली भन्दा अघि बुहारीको कुरा आउन थालेको छ। सुरु-सुरुमा आफन्तले जिस्काउन प्रयोग गर्ने शब्द ‘विवाह’ अहिले सबैको थेगो प्रायः बनेको छ।
मलाई थाहा छ यो दसैँमा पनि मैले ‘ह्याप्पी दसैँ’ भन्दा धेरै ‘बिहे कहिल्यै खुवाउने?’ सुन्नुपर्नेछ। एक पटक यही प्रश्नको सामना गर्दा आफैले दिएको उत्तर अहिले आफैले सम्झिँदा आफैसँग हाँसो लाग्छ।
सिरानघरे माइला काकाको प्रश्नमा मैले ठट्यौली जवाफ दिएको थिएँ, ‘बिहे मात्र खान मन लागेको हो भने त मलाई आएको सबै निम्तोमा तपाईंलाई लिएर जान्छु नि त, हुन्छ काका?’ माहौल हाँसोमय बनेको थियो। त्यसपछि काकाले सो प्रश्न दोहोर्याउने हिम्मत कहिल्यै गर्नुभएन।
कुचोलाई अन्तिम पटक बाल्टीमा सबैतिर सोरेर भएभरको कमेरो भेला गरी भित्तामा जोडले हिर्काएँ, मानौँ यो कुचोमा सबैको प्रश्न समेटिएका छन् र म ठुलो ढुङ्गामा पछार्दै छु। फोक्सोमा शान्तिको एक सर्को सास पुग्न नपाउँदै भित्तामा ठोकिएको छिर्का परिवर्तित भएर अनुहारमा बजारिए। एउटा कण आँखामा पनि पस्यो। खुर्सानीले पोलेको जस्तै बेसरी पोल्यो। मनले मनसँग नै भन्यो, ‘ह्या बरु प्रश्नहरू नै ठिक छन्। ढिलो चाँडो त मैले बिहे त गर्नुपर्छ।’
नुहाइधुवाइ सकेर लामो अन्तरालपछि यति आरामले बस्न पाएको मोबाइल खोलेँ। मोबाइलले पनि यतिका समय नचलाएको देखेर केही अनिष्ट भयो सोचिसकेको हुँदो हो। वरपरका सबैको आँखा छलेर उनको च्याट बक्समा गएर लेखेँ-
‘आफैले लिपपोत, रातो माटो लाउनुभयो,
तिमी नभएर आमाले फेरि एक साल दुःख पाउनुभयो,
तिमी नभएर’
‘कान्छा! ए कान्छा!’
हँ ‘हजुर’ म झसङ्ग हुन्छु।
‘उठ अब,’ आमाले भन्दै जानुभयो, ‘आज बिहानैदेखि घरमा कमेरो लगाउन भनेको यति बेलासम्म उठ्नुपर्दैन?’
हतार हतार सिरक फालेर जुरुक्क उठे। हिमालबाट सिधा आएको चिसो हावाले एकसरो लुगा छिचोलेर शरीर जिरिङ्ग बनायो। तर अहिले बिहान देखेको सपना जति होइन।