आमा
जीवनको आरम्भ
पहिलो सङ्गिनी
मैले महसुस गरेको पहिलो ढुकढुकी
यी आँखाले देखेका पहिलो मुस्कान
यी कानले सुनेका पहिलो बोली
यी हातले खोजेका पहिलो साथ
यी पाइला चाल्न मिलेको पहिलो आँट।
दिनको पहिलो आवाज- ‘आमा’
प्रेमको पहिलो आवास- ‘आमा’
मेरो जीवनको प्रारम्भ
दिनको उज्यालो थालनी
बिहानीको सूर्य उदय- ‘आमा’
च्यातिएको धोती पहिरिएर पनि
उनी रानीझैँ देखिन्छिन्
पसिनामा लतपतिँदा पनि
उनी अप्सराझैँ देखिन्छिन्!
उनका आँखामा गाजल नहोला
ओठमा लाली नहोला
तर मुस्कान असाध्यै गाडा छ
नाडीमा सुनका बाला नहोला
हात व्यवहारले बाँधिए होला
तर मनमा करुणाको भण्डार छ।
औँसीको घनघोर रातमा पनि
जुनेली साँझझैँ चमत्कार हुन् आमा
असम्भवलाई सम्भव बनाउने
साहसी हुन् आमा
कायरताको विरुद्धमा अडिन सक्ने
लडाकु हुन् आमा
सबैमा साहसको हुण्डरी चलाउने
विरङना हुन् आमा।
हिमालझैँ अटल आँट बोकेर
सङ्घर्षमा पनि रमाउँछिन्
जस्तो सुकै परिस्थिति पनि
हाँसेरै कटाउँछिन्।
उनी सबैको मर्म बुझ्छिन्
तर उनको मर्म खै कसले बुझ्न सक्ला?
आफ्नो सुख अरूको नाम अर्पित गर्छिन्
तर खै कसले आफ्नो हाँसो
उनको नाम अर्पण गर्न सक्ला?
सन्तानको सफलताको समर्थक
हर्षविभोर उत्साहको कारण- आमा
डरले अत्तालिँदा सन्तानको अडान
अनि एक मात्र प्रेरणा- आमा
उनको मुस्कानले
संसारको सबै प्रकाश फिक्का पार्छ
उनको ममताले
ब्रह्माण्डलाई पनि पराजय गर्छ।
जीवनमा कसिएका गाँठा
मनमा अल्झिएका धागा
उनी आफ्नो कोमलताले फुकाउँछिन्
करुणाको ज्योति फैलाउँछिन्
आफ्नो निस्वार्थपनल
आकांक्षाहरूको फूल फुलाउँछिन
नयाँ उमङ्गको वर्षा गराउँछिन्।
यता-उता बाटो अलमलिँदा
सही मार्ग देखाउने मार्गदर्शन हुन् आमा
घाम र छायाझैँ जीवनको स्थिरता हुन् आमा
व्यस्त जीवनमा रमाइलो पल हुन् आमा।
जीवनको अर्थ उजागर गर्ने शिक्षक हुन् आमा।
पहिलो धर्म, अन्तिम आस्था
हुन् आमा
पहिलो बोली, अन्तिम स्मृति
हुन् आमा।
शब्द मात्र होइनन् ,भावना हुन् आमा
स्वयं जीवनको परिभाषा हुन् आमा
उनको काखमा जीवनको हर्षोल्लास छ
उनीको स्नेहमा अनगिन्ती माया छ।
अभिलाषा निकै सूक्ष्म
आँट भरिभराउ
यस्ती छिन् मेरी आमा
अनेकौँ भूमिका धारण गरेर
निभाउन सफल
कति महान् छिन् आमा।