तस्बिर सजाएर सामाजिक सञ्जाल रंगाइन्छ
फूलको थुप्रो, धूपको धुवाँ
कहिलेकाहीँ देखिन्छ सहानुभूतिको इमोजी
तर त्यो क्याप्सन, त्यो स्ट्याटस—
के साँच्चै बुझ्छ बुबाको सपना?
कि केवल क्षणिक लाइक र कमेन्टका लागि
दुःखलाई प्रदर्शन गरिन्छ?
बुबा, तपाईंले सिकाउनु भएको थियो—
‘समाज सजावटले होइन
कर्मले बदलिन्छ।’
तर आज मान्छे तस्वीरमा हराउँछन्
काममा हराउँदैनन्।
देशको रगत पसिनाले खप्किएको सपना
तपाईंले बोकेको त्यो अमिट आस्था
आज खोक्रो भाषण र चम्किलो पोस्टमा
हराउँदै गएको छ।
तर म सम्झन्छु—
तपाईंले भन्नुहुन्थ्यो,
‘देशलाई गुनासो होइन, योगदान देऊ
समाजलाई सजावट होइन, सेवा गर।’
फोटोमा तपाईंको अनुहार मसँग हाँस्छ
तर त्यो हाँसो मसँग प्रश्न गर्छ—
के म तपाईंको बाटोमा छिर्दै छु?
के म तपाईंले देख्नुभएको सपना पूरा गर्दै छु?
कि म पनि अरूझैँ
सिर्फ श्रद्धाञ्जलीमा मात्र सीमित हुँदै छु?
सामाजिक सञ्जालमा रंगिनु सजिलो छ
तर कर्ममा डुबिनु कठिन छ
तस्बिर सजाउनु क्षणिक छ
तर देश सजाउनु पिँढीको जिम्मेवारी हो
फूलमाला छिट्टै सुक्छ
तर बुवाको सपना सदासर्वदा हरियाली हुन्छ।
बुबा,
म तपाईंको तस्वीरलाई
फेसबुकमा होइन
मेरो पसिनामा सजाउनेछु
म तपाईंलाई
इन्स्टाग्राम स्टोरी होइन
देश र समाजको इमानमा बोकिनेछु।
तपाईंलाई सम्झने तरिका
फोटोमुनिको श्रद्धा लेख्नु होइन
बरु अधूरा सपना पूरा गर्न
रातको निद्रा बेच्नु हो।
देश हाँस्ने दिन
मेरो श्रद्धाञ्जली हुनेछ
समाज सचेत हुने दिन
मेरो माला हुनेछ
आफू निष्ठा र कर्ममा डुब्ने दिन
मेरो बुबा फेरि
तस्वीर होइन
मेरो जिन्दगीमै जीवित हुनेछन्।