तिमीलाई थाहा छ
हामीले सानोमा पढेको
बिहानी सुनौलो लाली बोकेर आउँछ भनेर
तर मैले वर्षौँ भयो
आमाका आँखामा खुसीको लाली नदेखेको।
आमा प्रत्येक पल क्षितिजपारि हेर्दै टोलाएर
आँसुका ढिका खसाल्दै तिम्रै बाटो हेरिरहेकी छिन्
तिमी परदेशिनुभन्दा अगाडि
आमालाई किनिदिएको रातो साडी
अझै उस्तै छ
तिमीलाई याद छ
जसरी गाईको बाच्छी हराउँदा
रातभरि कराएकी थिई मालीगाई
त्यसरी नै प्रत्येक रात आमा बरबराउँछिन्।
बहिनीको ती सुनौला केशमा
तिमीले ल्याइदिएको त्यो रातो रिबन
अझै चुँडिएको छैन
ऊ प्रत्येक साँझ
ठोका ढकढकाउने आवाज खोज्छे
र चन्द्रमालाई प्रश्न गर्छे
‘के तिमीले मेरो दाजुलाई देख्यौ?’
तिमीले त बाबालाई
‘म तपाईँको काँध थाप्छु’ भन्दै गाको होइन र?
वर्षौँ भयो
बाबाले आकाशबाट चुँडिएर गएका ताराहरूसँग
‘छोरो घर फकिओस्’ भनी माग्न थालेको
अचेल त यस्तो लाग्छ
हाम्रो घरबाट निस्कने धुवाँले पनि
तिमीलाई खोज्न भौँतारिन्छ हरेक साँझ र बिहान।
तैपनि अझै प्रेमले आशाको दियो
निभ्न दिएको छैन
सन्नाटासँगै
अज्ञात कैदका पर्खाल तोड्दै
कसैले त तिमीलाई फर्काइदिन्छ
अनि भनिदिन्छ ‘बिपिन घर फर्किए’ भनेर
त्यो सुनौलो दिन अवश्य आउनेछ
जब फेरि ढोका उही आवाजले बज्नेछ
आँसु र आलिङ्गनहरूमा
ममताको वर्षा हुनेछ।
थाहा छैन
कहाँ छौ, कस्तो छौ
तर यत्ति थाहा छ
बन्धनमा परेको छौ
गलेको होला शरीर, सकिएका होलान् आँसु
तर हार नमान्नू, विश्वास नछोड्नू
वात्सल्यको ममता बोकी
बिपिन, तिमी अवश्य फर्किनेछौ।