‘ए छोराकी आमा! बाबुले आज पनि फोन गरेन? त्यो बिरामी पो पर्यो कि? कति दिन भइसक्यो बोली सुन्या छैन!’ धनपति बाजेले खोक्दै सकी नसकी पत्नीसँग कुरा गरे। उनी बिरामी परेको एक महिना नै हुन लाग्यो।
‘गर्ला नि! कामले भ्याएन होला। डाक्टरले धेरै नबोल्नु भनेको होइन। भरखर औषधी खानुभएको छ। सुत्नु एकैछिन,’ छोराको आवाज सुन्न नपाउँदा उनलाई पनि न्यास्रो नलागेको त होइन तर पनि बिरामी पतिलाई सान्त्वना दिन उनले यसो भनिन्।
राकेश पढ्नलाई भनेर विदेश गएको दश वर्ष भइसक्यो। बाह्र कक्षा सक्नासाथ ऊ घरमा जिद्दी गरेर विदेश हानियो। आजसम्म फर्केको छैन। सुनिन्छ उसले उतै घरबार गरिसक्यो र विदेशमा कमाइ पनि राम्रै छ। फोनमा सामान्य कुराकानी मात्र गर्न चाहने र काममै व्यस्त रहेको भनी थोरै गफ गर्ने राकेशले आफ्ना बारेमा सबै कुरा बताएको पनि छैन।
‘ए आमा! त्यसले आज त फोन गर्छ कि? त्यो हेर्न मिल्ने मोबाइल मेरै छेउमा राखिदेऊ ल। बिचरा काममा फुर्सद हुनासाथ त सम्झेला नि। के दुःखका दिन आए त्यसका! फोन गर्न पनि भ्याउन छाड्यो। आफ्नो मर्ने बेला भइसक्यो। यसपालि एउटी दुलही भित्र्याउन पाए हुन्थ्यो। खै फोन त गर्न भ्याउँदैन। बिहे गर्न के भ्याउला। हँ...’ धनपति तन्द्रामा बरबराउन थाले।
राकेश धनपति दम्पतीको एक मात्र सन्तान हो। ऊ पेटमा हुँदा आमा निकै बिरामी परिन्। डाक्टरले राम्रो उपचार गरेकाले धन्न आमा छोराकै ज्यान बाँच्यो। डाक्टरले सुरुमा त दुईमध्ये एकलाई मात्र बचाउन सकिन्छ भनेका थिए तर पछि दुवैको ज्यान बाँच्यो। यो बेला धनपतिले सारै पिर मानेका थिए।
उनीहरूले छोरालाई आजसम्म यस बारेमा जानकारी दिएका छैनन् तर राकेश जन्मेदेखि आजसम्म धनपति छोराको स्वास्थ्यमा विशेष ख्याल गर्छन्। सानैदेखि सानोतिनो बिरामी हुँदा पनि डाक्टरकहाँ पुर्याइहाल्थे। त्यही बेलाको चिन्ताले धनपति दम्पतीले अर्को सन्तानको चाहना समेत गरेनन्।
उनी आफ्नो सबै सम्पत्ति सकेर भए पनि छोरालाई डाक्टर बनाउन चाहन्थे। आफू बुढेसकालमा बिरामी पर्दा छोराले उपचार गरिदेओस् भन्ने उनको चाहना र सपना थियो। यही सपना पूरा गर्न धनपतिले छोराको पढाइमा कुनै कन्जुस्याइँ गरेनन्। उनले देशकै राम्रो मानिएको विद्यालयमा छोरालाई पढाए। फी, कापी, कलम, खाजा आदिका बारेमा राकेशलाई सोच्नसम्म दिएनन्। राकेशले कक्षा १० सम्मको पढाइ राम्ररी सक्यो।
एसएलसी परीक्षाको परीक्षाफल प्रकाशन भएको दिन राकेशले बा-आमासँग भन्यो, ‘मेरो त डिस्टिङ्सन आएछ। अब १२ कक्षा सकेर म त विदेश जाने हो। यहाँ बसेर केही पाइँदैन। विदेश गयो भने त आनन्द हुन्छ।’
छोराको यस्तो कुरा सुन्दा धनपतिलाई हाँसौँ वा रोऔँ के गरौँ भन्ने भयो। मनमा एक प्रकारको नजानिँदो चिसो पस्यो। केही बोल्न सकेनन्। आमाले चाहिँ ‘जान्छस् विदेश, यहाँ बाबुको यत्रो सम्पत्ति छ। देशमै बसेर केही गर्न सकिँदैन? बाबुको छोरालाई डाक्टर बनाउने सपना छ, छोरो भने के-के कुरा गर्छ। बरु अब कुन स्कुल राम्रो छ, त्यहीँ पढ्ने सोच बना’ सम्म भनिन्।
राकेशले आमाको कुरालाई त्यति वास्ता गरेन। ऊ अब दुई वर्ष त बस्ने हो नेपाल भन्दै भित्र पस्यो।
धनपतिको खेतीपाती, गाउँले व्यापार व्यवसाय अथाह थियो। उनी छोरालाई यसको हकदार बनाउन चाहन्थे। उनको सपना छोरालाई डाक्टर बनाउने र एउटी शील स्वभावकी बुहारी भित्र्याउने मात्र थियो। उनी आफूलाई भन्दा धेरै बढी माया छोरालाई गर्थे। छोराले जे भन्यो त्यो पुर्याइदिन्थे। राकेश पढ्नमा त टाठो थियो। उसले अर्को विद्यालय जान चाहेन। त्यही विद्यालयबाट कक्षा १२ उत्तीर्ण गर्यो। अब भने धनपतिमा छोराले विदेश जान्छु भन्ने कुरा नदोहोर्याओस् चाहना प्रगाढ।
कक्षा १२ को नतिजा आएको एक हप्तापछि राकेशले भन्यो, ‘बा-आमा! म त अब साँच्चै विदेश जाने हो। उतै गएर पढ्ने! अरू कुरा मै मिलाउँछु। मलाई पैसा चाहिँ दिनुपर्छ। सन्त, उर्मिला, पारस पनि जाने भएका छन्। हामी सल्लाह गरेर एउटै देश जान्छौँ। यहाँ बसेर केही हुने होइन। काम पनि पाइँदैन।’
धनपति केही बोल्न सकेनन्। उनको किलकिलेमा थुक अड्किएको मात्र देखियो।
‘हन के भन्छ यो! पढेर, ठुलो भएर बुढेसकालमा हामीलाई सुख देला कि भनेको त। बाको त्यत्रो सपना छ। हामीलाई लत्त्याएर जान्छस् विदेश? जानुपर्या छैन। यहीँ डाक्टर पढ्। हामी गर्छौँ खर्च,’ आमाले कुरा राखिन्।
‘खर्चको कुरा हैन आमा, भविष्यको कुरा छ मेरो। तपाईँहरू जसरी मात्र म बाँच्न सक्दिनँ नि। यहाँ के पाइन्छ र बाँच्नु?’ यसपछि पनि राकेशले धेरै कुरा भन्यो। बूढाबूढीले सुन्न पनि सकेनन्। केही भन्न पनि सकेनन्।
राकेशको जिद्दीका अघि उनीहरूको केही लागेन। राकेशले विदेश जानका लागि चाहिने सबै तयारी पूरा गर्यो। आमा-बाले मागेको पैसा दिए। छोरालाई डाक्टर बनाउने सपना देखेका धनपतिको ओठमा मुस्कान देखिन छाड्यो। आमा पनि छरछिमेकसँग भन्न थालिन्, ‘खै, उ बेला एउटा सन्तानले पुग्छ भन्ने सोचियो, अहिले बाबुले पखेटा फटफटाउन लाग्यो। बुढेसकालमा दुःख पाइने भो बाबै!’
जनै पूर्णिमाको दिन थियो। धनपति जनै फेर्ने तरखर गर्दै थिए। राकेश खुसी हुँदै आयो र भन्यो, ‘मेरो भिसा लाग्यो। अब टिकट काटेर अर्को महिना त उडिन्छ। अब मेरो सपना पूरा हुने भो।’
धनपति भक्कानिए। केही बोल्न सकेनन्।
नभन्दै राकेशको उड्ने दिन आयो। सबै सामान तयार पारेपछि आमा-बाले निधारमा टीका लगाउँदै भने, ‘बाबु, हाम्रो सपना र तेरो सपना फरक भयो। सन्तानका लागि हामी हार्न तयार भयौँ तर तैँले आफ्नो सपना पूरा गरेस्। आमा-बा र देश नबिर्सनू है बाबु।’
आमा-बा भक्कानिए तर राकेशको मुहारमा एक अलौकिक खुसी छलबलियो। उनीहरूले छोरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याए। ऊ झोला बोकेर एउटा ठुलो विमानतिर लाग्यो। आमा-बा आँसुको पोको बोकेर भाडाको ट्याक्सीमा चढे।
सुरुमा दिनैपिच्छे, केहीपछि हप्तैपिच्छे र अलिकपछि महिना दिनमा त राकेश राम्ररी कुरा गर्थ्यो। उसका कुरामा प्रायशः नेपालभन्दा विदेश धेरै राम्रो भएको, पढ्न निकै मिहिनेत गरिरहेको र दसैँमा घर फर्कने कुरा गर्थ्यो। ऊ दसैँमा घर भने कहिल्यै फर्केन। चार वर्षपछि उसले पढाइ सकेर काम गर्न लागेको कुरा गर्यो। काम गर्न थालेपछि आफू व्यस्त रहेको कुरा गर्न थाल्यो र पछि अब नेपाल नफर्कने र आमा-बालाई यतै ल्याउने कुरा गर्न थाल्यो।
यति हुँदा पनि धनपतिमा आशा मरेन। छोरा आउला र बिहे गरिदिउँला। बुढेसकाल सहज होला भन्दाभन्दै यतिका वर्ष बिते। अहिले धनपति रोगी भएका छन्। उनकी पत्नी पनि काम गर्न सक्दिनन्। खान लाउनलाई सम्पत्ति त छ तर सन्तान साथमा नहुँदाको पीडा सही नसक्नु छ।
‘बा! ए बा! उठ्नु त। छोराले विदेशबाट फोन गरेको छ। आज अनुहार हेरेर गफ गर्ने भनेको होइन। यी अनुहार हेर्ने फोन यहीँ छ। सधैँ त यसरी निस्लोट निदाउनु हुन्नथ्यो। के भयो आज? बाबु, एक छिन पर्खी है!’ छोरासँग बोल्दै आमाले बाबुलाई झकझक्याइन्।
धनपतिले कुनै प्रतिक्रिया जनाएनन्। उनले हात समाएर यसो उचालिन्, हात गह्रौँ बनेर तल झर्यो। उनले पतिका छातीमा हात राखिन्। हात राख्नसाथ फोन भुइँमा झर्यो।
उनी बा भन्दै भक्कानिइन्, फोनमा पनि बा भन्ने आवाज आइरह्यो।