कुसुन्ती चार कक्षामा पढ्थिन्। उनको विद्यालय टाढा भएकाले लामो यात्रापश्चात् मात्र विद्यालय पुग्थिन्। उनको परिवार निम्न आर्थिक अवस्थाको थियो। उसकी आमा बिहानै काममा जाने गर्नुहुन्थ्यो। त्यसैले उनी छिटो छिटो खाना पकाउने, खाने र भाडा माझेर मात्र विद्यालय जान तयार हुन्थिन्।
गृहकार्य अघिल्लो दिन सक्ने उनको राम्रो बानी थियो। गृहकार्य राती अबेरसम्म बसेर सक्थिन्। उनकी आमा उनको गृहकार्य नसकुन्जेल छेवैमा उम्दै भए पनि कुरेर बस्नुहुन्थ्यो।
त्यो ताका गाउँमा बिजुली पुगेको थिएन। सदरमुकाम चौतारामा भर्खर बिजुली आइपुगेको थियो। तसर्थ, उनी टुकी वा लालटिनको प्रयोगले आमालाई काममा सघाउने, पढ्ने लेख्ने आदि काम फत्ते गर्थिन्।
यस प्रकार नै फूलबारीमा एक परिवार रुपी बिरुवा हर मौसममा गृष्म र शिशिर खेप्दै रमाइरहेको थियो। तर, बिरुवामा अकस्मात् चिसो तुसारो लागेर ओइलिने अवस्था सृजित भयो। विडम्बना! उनको परिवारमा पोहोर साल दुखद घटना घट्यो।
सदरमुकाम तिरै कामको सिलसिलामा उनका बुबा ज्यामी काम गर्दागर्दै घरको पाँचौँ तलाबाट लडेर बित्नु भयो। त्यसपछि त कुसुन्तीले आफ्नो जीवनमा धेरै नै उतारचढाव भोग्नुपर्यो। उनलाई बुबाको रङ, रोगन, अनुहार, जीउडाल हुबहु सबै याद थियो। अहिले पनि कहिलेकाहीँ उनलाई बुबा नहुनुको पीडाले सताउँथ्यो। फलस्वरूप उनी मध्यरातमा भावविह्वल भएर आमासँग गुटमुटिएर सुत्थिन्।
त्यो बर्फी गाउँ पातलो थियो। मिश्रित जातजातिहरूको निवास गरेको भए तापनि तामाङ जातिको बाहुल्यता थियो। प्रकृतिले असाध्यै बास् गरेकी थिइन्। हरियाली, लता, लालित्य जिउँदो थियो। निकै तल इन्द्रावती ऋतुअनुसार कहिले प्रचुर घर्षणका साथ, त कहिले सुस्त गतिमा बग्थिन्।
घना जंगल थियो जताततै। माथि तिब्बती लेकबाट उम्रिएको पानी गाउँमै आइपुग्थ्यो। पहाडका थुम्का थुम्कामा घर अडिएका थिए। ती घरहरू प्रकृतिले होसियार पूर्वक काखमा राखेर चुम्बन गरेकाजस्ता देखिन्थे। तर पनि, पहाडी क्षेत्र भएकाले पहिरो जाने उत्तिकै जोखिम थियो। त्यो खतरा हुँदाहुँदै पनि कुसुन्तीकी आमाको अरू कतै जाने उपाय थिएन। त्यस कारण, विगतदेखि त्यहीँ ठाउँमा थातथलो थियो।
सहरीकरणको प्रभावले उग्र रूप लिँदै थियो, विकट क्षेत्रतिर। यसर्थ, एकातिर बर्फी गाउँ रित्तिँदै पनि थियो। वर्षैपिच्छे गाउँबाट एक दुई परिवार काठमाडौँ हानिन्थे। आखिर राजधानीमा बच्चाबच्चीलाई पढाउने पाठशाला गाउँका भन्दा अलि गुणस्तरीय मानिन्थे। रोजगार पाइने सम्भावना ज्यादा हुन्थ्यो। जेनतेन कामको इन्तजाम भए, जिन्दगी चल्थ्यो नै।
कक्षा एक, दुई र तीन सम्म त कुसुन्तीलाई विद्यालय जान बहुतै मजा लाग्थ्यो। उनका बुबाले उनलाई विद्यालय पुर्याउने र ल्याउने काम सधैँ गर्नुहुन्थ्यो। उनलाई कहिले माथि काँधमा चढाएर; कहिले दुई हातले अगाडी फर्काएर; कहिले पिठ्युँमा अडाएर गफगाफ गर्दै ल्याउने/पुर्याउने गर्नुहुन्थ्यो। तर कक्षा चारमा आइपुग्दा उनले आफ्नो बुबालाई गुमाइन्।
उनी एक्लै घना जंगलको बाटो घण्टौँ हिँडेर विद्यालय जानु पर्थ्यो। काम नभएको दिन उनकी आमा मिङ्माले पुर्याउने पनि गर्नुहुन्थ्यो। उनलाई स्कुल पुग्न हिँडेरै मात्र दुई घण्टा ज्यादा लाग्थ्यो।
पहाडको बाटो उकालो, ओरालो, कुलो र खोल्सो तर्दै जानु पर्थ्यो। उनको घर गाउँको ओल्लो छेउमा भएकाले उनलाई त्यही विद्यालय नै नजिक पर्थ्यो। बिच बाटोमा एउटा घर थियो जुन घरबाट एउटा सानी नानी पनि त्यो पाठशालामा पढ्थिन्। बिच बाटोबाट भेट भएर कहिलेकाहीँ सँगै जान्थे र आउँथे।
विद्यालयमा उनलाई माया गर्ने गुरुहरू हुनुहुन्थ्यो। किनकि, उनी मेहनती तथा मायालु थिइन्। कपाल कैलो र वर्ण सेती थियो। कद सानो, सानी डल्ली थिइन्। उनको घरको हाल राम्रोसँग बुझ्नुभएको एक जना गुरुले उनलाई बढ्ता माया दर्साउनु हुन्थ्यो।
‘कुसुन्ती कतिखेर पाठशाला आइपुग्लिन्’ भनेर अफिस कोठाबाट बाटो बाटो आँखा तेर्साउनु हुन्थ्यो। उनी ढिलो आउँदा उनलाई खोजीनिती गर्नुहुन्थ्यो।
एक दिनको कुरा हो। कुसुन्तीले बाटोमा आउँदा दुई वटा लामा लामा चाबी देखिन्। ती नयाँ चाबी भएकाले टिलिक्क टल्किएका थिए। उनलाई ती नयाँ टल्किने चाबीले हिँड्दा हिँड्दै एक्कासि आकर्षित गरे। त्यसपछि उनले वरपर पल्याक पुलुक्क हेरेर ती चाबीलाई टिपिन् र हातमा राखेर नियालिन्।
‘आहा! कस्ता राम्रा टल्केका चाबी?’ उनी मनमनै प्रसन्न भएर अगाडि बढिन्।
‘हिँड्दा हिँड्दै गोजीबाट कसैको झरेको पो हो कि न?’ चिन्तित भइन्।
‘कोही भेटिन्छ कि न बाटोमा मान्छेहरू?’ आशावादी भइन्।
‘मलाई पाप पो लाग्ने हो कि न?’ आध्यात्मिक बनिन्।
मलाई गुरुले कराउनु पो हुन्छ कि न?’ डराइन्।
उनको मनमा यी यस्तै कुराहरू एकपछि अर्को खेल्दै गए। त्यस बिहान यी नै कुराहरू सोच्दासोच्दै उनी विद्यालय पुगेको पत्तो पाइनन्।
दिन थियो शुक्रवारको। विद्यालयमा अतिरिक्त क्रियाकलाप आयोजना हुने दिन थियो। त्यस दिनको हस्तलेखन प्रतियोगितामा कक्षाकोठामा भएका सबै विद्यार्थीले भाग लिनु पर्थ्यो। तर उनको गोजीमा दुई चाबी भएकाले उनी निकै डराइरहेकी र आत्तिएकी थिइन्। उनले प्रतियोगितामा भाग लिए पनि ध्यान दिएर लेख्न सकिनन्। तसर्थ, उनले औपचारिकता निभाउनका लागि मात्रै भाग लिइन्।
घर फर्कँदा उनी त्यही चाबी भेटिएको ठाउँमा एकछिन अडिइन्। केही/कोही छ कि भनेर दायाँबायाँ विचरण गरिन्। तर, त्यो घना जंगलमा रुखहरू बाहेक अरू कुनै चिज पाइनन्। अन्ततः उनी घर पुगिन् र आफू सुत्ने कोठाको ढोका छेउमा चाबीलाई जतनसाथ राखिन्।
उनले आमालाई पनि सुनाइनन् त्यो कुरा। भोलिपल्ट आमा काममा गएपश्चात् तीनै चाबीसँग दिनभरि खेलिन्। तिनैलाई उल्टाइन्, पल्टाइन्। र, आमा आउनुभन्दा अगावै चाबीलाई यथास्थानमा लुकाइन्।
पर्सी आइतबार बिहान भयो। उनी लागिन्- चाबी जेबमा जतनसाथ बोकेर। पूर्व योजना अनुरूप त्यस दिन नेपाली पढाउने गुरुले कथा सुनाउने दिन थियो। उनले बडो कौतूहल र जिज्ञासु भावमा सुनिन् कथा। कथामा चाबीको प्रसङ्ग आउनसाथ उनका कान ठाडा ठाडा भएर गए। त्यस दिन कौतुकमय दृष्टिका साथ ज्यादा रमाइलो र अचम्म मान्दै कथा सुनिन्।
उनलाई कथा सुनेपश्चात् आफ्नो साथमा रहेको चाबी एकदम रहस्यमय लाग्न थाल्यो। उनले कथा सुन्दासुन्दै पनि जामाको गोजीमा भएका दुई चाबीलाई बाहिरबाट एक छिन् च्याप्प समाइन्। ती चाबीले उनलाई हातमा बिझाएजस्तो आभास भयो। किनकि, गुरुले सुनाएको कथा ‘रहस्यमय चाबी’ शीर्षकको थियो र उनको जीवनमा जे जे भइरहेको थियो, त्यस्तै त्यस्तै कथामा रहेको पात्रमा पनि घटित भयो।
कक्षाकोठामा गुरुको कथाअनुसार- कसैले विद्यालय आउँदा टिलिक्क टल्केका राम्रा चाबी भेट्नु, त्यो कुरा कसैलाई नसुनाउनु, विद्यालयमा गुरुले चाबीकै कथा सुनाउनु, विद्यार्थीको गोजीमा चाबी हुनु आदि कुराहरू सुनेपछि उनी रातो न पिरो हुन पुगिन्। उनका ओठ खोलिएनन्। उनीभित्र डर छिप्पिएर गयो।
कथाअनुसार अब चाबी भेटिएको वरपर एउटा काठको बाकस छ कि छैन?त्यो बाकसमा एउटा कागजको चिर्कटो हुन्छ कि हुँदैन? त्यसमा केही कुरा लेखिएको छ कि छैन? भन्ने जिज्ञासा पलाएर गयो।
कुसुन्ती त्यस दिन छुट्टी हुनसाथ दगुर्दै त्यो चाबी भेटिएको ठाउँमा पुगिन्- वरपर काठको बाकस भेट्ने आसामा। घना तथा डरलाग्दो जंगल भएता पनि उनी साहसका साथ वरपर बुट्यानहरूलाई पन्छाउँदै भित्र पसिन्। उनले पहिला दायाँतिर हेरिन्, केही भेटिनन्। त्यसपछि, उनी बायाँतिर मोडिइन्। बायाँतिर खोजखाज गर्दा पनि केही नभेटेपछि उनी निराश बन्न पुगिन्।
दिनको उज्यालोपन लोप हुँदै जाँदो थियो। त्यो काल पुसको मास भएकाले अँध्यारोले छपक्कै छोपेजस्तो भयो। उनलाई जंगली जनावरको डर लाग्यो। अँध्यारोको प्रवेश नजानिँदो तरहले हुँदै गयो। उनी डराउँदै दौडेर त्यस दिन घरतिर लागिन्।
घरमा पुगेर गुरुले भनेको कथा सम्झिन्। उनलाई झन् झन् रहस्यमय लाग्दै गयो चाबी। र, चाबीलाई राती पनि दुई तीन पटक हेरिन्। लालटिनको उज्यालोमा चाबी टल्किएर विभिन्न चित्रहरू देखिन थाले। तर, त्यो रातको टुकी बत्तीको प्रभाव थियो। त्यो कुसुन्तीले बुझिनन्। उनलाई कतिखेर बिहान होला भन्ने भइरह्यो।
राति अबेरसम्मै 'बाकस भेटिएला त त्यहाँ?’ भन्ने प्रश्नले चिन्तित तुल्यायो। त्यस दिन पनि आमालाई देखाइनन् चाबी र सुनाइनन् त्यो कुरा। रहस्यको गर्तमा डुबेर बल्लतल्ल निदाइन मध्य रातबाट।
भोलिपल्ट आमा उठ्नुभन्दा अगावै उठेर उनले आफ्नो काम पूर्ण गरेर हिजोको समयभन्दा एक घण्टा अगावै विद्यालयतर्फ आशावादी हुँदै लागिन्। उनी त्यस ठाउँमा पुगेर हतार हतार काठको बाकसको तलासमा जंगलभित्र पसिन्। उनी त्यस दिन नयाँ दिशातिर पसिन्, बुट्यानलाई पन्छाउँदै। एउटा रुखको आडमा बल्ल उनले ठुलो काठको बाकस भेट्टाइन्।
उनलाई झन् व्यग्र भयो त्यसको ताला खोल्न। त्यस बाकसलाई हल्लाउने प्रयास गरिन्। त्यो गह्रुंगो भएकाले हल्लिएन अनि हतार हतार डराउँदै त्यस माथि चढेर भित्रपट्टि हेरिन्। केही देखिनन् सुरुमा त। उनले बाहिरबाट त्यसलाई पल्टाउने पनि प्रयास गरिन्। तर त्यो गह्रुंगो भएकाले पल्टिएन। उनी बाकसको वरिपरि हातले छुँदै दुई तीन फन्का घुमिन्। उनले गुरुले भनेअनुसार बाकसको ताला हात कपाउँदै खोलिन्। उनले पुनः त्यसमाथि चढेर हेरिन्। केही नदेखेपछि त्यसभित्र फुत्त पसिन्।
गुरुले भनेअनुसार नै एउटा कागजको चिर्कटो भेटियो त्यहाँ।
चिर्कटोमा लेखिएको थियो- ‘हरेक सफलतामा धैर्यता चाहिन्छ।’ उनले त्यसको मतलब बुझिनन्।
त्यो चिर्कटो जतनसाथ बोकेर विद्यालय पुगिन्। भरे मध्यान्हमा कथा सुनाउनुहुने गुरुलाई देखाइन् र सोधिन्- ‘सर, सर, धैर्यता भनेको के हो? हरेक सफलतामा धैर्यता चाहिन्छ भनेको के हो सर?’
सरले ओठमा हाँसो ल्याएर भन्नुभयो- ‘धैर्यता भनेको आफूले चाहेको कुरा प्राप्त गर्नका लागि प्रयास गर्दै उचित समय पर्खनु हो, कुसुन्ती। समय आएपछि आफूले चाहेको कुरा एक न एक दिन प्राप्त हुन्छ।
अनि हरेक सफलतामा धैर्यता चाहिन्छ भनेको चाहिँ 'हामी आफूले हरेक कुरा प्राप्त गर्न विचलित नभई समय पर्खनु पर्दछ। उचित समय नआएसम्म चाहेको कुरा पाउन सकिँदैन कुसुन्ती। उचित समय आउनका लागि तिमीले बाकस खोज्न गरेजस्तै पटक पटकको प्रयास हो। तिम्रो प्रयासलाई सफलताले पछ्याउँदै थियो। त्यो तिमीलाई थाहा थिएन। धैर्य हुँदै जब तेस्रो/चौथो पटकको प्रयासमा तिमीले बाकस भेट्यौ अनि सफलता तिम्रो अगाडि फुत्त आइदियो र तिमी खुसी भयौ।
तिमीले धैर्य गरेरै सफलता प्राप्त गर्न सफल भएकी हौ, कुसुन्ती। सुन त, त्यो सानो चाबीलाई तिमीले महत्त्वहीन भनेर फालिदिएको/बेवास्ता गरेको भए त्यो बाकस खोल्न सक्थ्यौँ त? सक्दैनथ्यौँ नि।
हो, हामीले पनि हाम्रो जीवनमा भेटिएका साना साना चिज/वस्तु अनि मान्छेलाई जतन गरी राख्न सिक्नुपर्छ। कुनै न कुनै दिन तिनीहरू हाम्रो जीवनमा ठुलो काम लाग्न सक्छन्। अब सोच त- त्यो चाबी तिमीले त्यसै दिन फालिदिएको भए...!’
कुसुन्ती गुरुको कुराले एकाएक अचम्म परिन्। त्यसपछि उनलाई लाग्न थाल्यो कि त्यो चाबी बाटोमा राख्ने र बाकस रुखको आडमा राख्ने मानिस अरू कोही नभएर कक्षाकोठामा कथा सुनाउने गुरु पो हुनुहुँदो रहेछ।
यता गुरु आफ्नो एउटा महत्त्वपूर्ण परीक्षण सफल भएकोमा गमक्क पर्दै कुसुन्तीलाई धन्यवाद टक्राउनु भयो र चाबी माग्नुभयो। कुसुन्तीले लजाउँदै चाबी गुरुलाई टक्राइन्।
त्यस दिन कुसुन्ती अचम्म मान्दै कक्षाकोठातिर पसिन्। भरेसम्म पनि उनी एकोहोरी देखिन्थिन्। छुट्टी भएपश्चात् उनी सधैँको जस्तो हतारिएर घरतर्फ लागिनन्।