कति निश्चल हुन्छन् केही पात्रहरू
कति पवित्र हुन्छ उनीहरूको मन पनि
बिना कुनै स्वार्थ, बिना कुनै आशा
प्रेम नै प्रेमले भरिएका आँखा लिएर
प्रेमिल भावले हेरिरहन्छन्।
जब लाग्छ-
अब केही बाँकी छैन
सबै सकियो
बाँच्नुको कुनै अर्थ छैन
तब कोही आउँछ-
थामिदिन्छ हात
र सम्झाइदिन्छ ती सम्झनै पर्ने कुराहरू
ती बिर्सनै नहुने अनुभूतिहरू।
को हुन् त उनीहरू?
जो आफ्नो दुःख मात्र होइन
तिम्रो आँसु पनि बोक्न तयार हुन्छन्
यी शब्द कसका लागि?
अब मुस्कान साथ सम्झिन मन लाग्छ
ती आशाको झझल्को बनिदिने पात्रहरूलाई
यी शब्द, उसको लागि-
जो रित्तो हुँदा हात समात्छ
र आफ्नोपनको न्यानो स्पर्शले भरिदिन्छ।
यी शब्द उनीहरूको लागि-
जो भरिँदा पनि नपोखियोस् भनेर
सजग भएर साथ दिन्छन्
र पूर्णतालाई थामिदिन्छन् आफ्नो मधुरताले।
यी शब्द उनीहरूको लागि-
जो पोखिँदा पनि छरिन दिँदैनन्
एक-एक थोपा समेटेर
आफ्नो अंगालोमा राख्छन्-
कहिल्यै छुट्न नदिने गरी।
तर
उनीहरू कोही स्वर्गबाट झरेका देवता होइनन्
तर यही धर्तीका ती दुर्लभ मान्छे हुन्
जसले प्रेमलाई धर्म बनाउँछन्
र साथलाई वचनभन्दा गहिरो बनाउँछन्।
यो शब्द उनीहरूको लागि
जसले भन्छ 'तिमी एक्लो छैनौँ'
र यही एक वाक्यले
फेरि पुरै जिन्दगी नै सुरु गराइदिन्छन्।