रहरलाई आकाशभन्दा माथि उडाएर
कुहिरो पन्छाउँदै आइपुगेँ
हावालाई चिरेर त्यही कुहिनेटोबाट यो बेनाम सहरमा
मेरो बालापनको पदचाप सम्हालेका
पहाडको छाती कुल्चेर टाढा कतै हराई गएँ
यो कोलाहल र निर्दयी भूगोलभित्र
रहरका पुन्तुरा खोलेर छरपस्ट
खोजीमा छु सुन्दर सपनाहरूको घरबुना
यतिखेर छ
एउटा बैँसालु उमेर
उतै छुटेको छ खाँदाखाँदैको आधा गाँस
भत्किएको छ जीवनको परम्परा
मैले खेल्ने लेकका छातीहरूबाट
पर्दा खसेको छ सपनाहरूको चौबाटोमा अल्झिएर अलमलिएको छु
जसरी अलमलाउँछ कुहिरोमा काग
जसरी अलमलाउँछ अनकन्टारमा बाटो बिराएको गोरु
जसरी अलमलाउँछ भँगालो छुटेर गएका
नदीहरू
मेरो अगलबगलमा एक तमासले
हेरिरहेका बाँझो सपनाहरू
उधारो छोडेर आएको छु आफ्नै माटोको
मानचित्रबाट
निर्जन बगरमा उठेर जाग्दै छन्
मौन बसिरहेका पसिनाका इन्द्रेणीहरू
बन्दै छ नयाँ स्वर्गको देश
मरुभूमिका उराठ र चिसा रातहरू
सधैँ घाम डुब्ने क्षितिजबाट आउँछन्
एक हुल चराहरू
सपनाको महल खोज्दै भौँतारी हिँडेका छन्
अनिश्चित बालुवाको मुलुकमा
आफ्नै छायासित भाग्दा भाग्दै
समयले ल्याई पुर्याएको छ चुनौतीको भग्नावशेषहरूमा
आशाका एक टुक्रा विश्वास संगालेर
कैद गरी मेरो एक चोइटा रहर
यो अद्भुत अजिब दुनियाँको एक नक्साभित्र
सकसको कालो घुम्टोभित्र
सपनाहरू बन्धकी राखेर
मैले बनाइछाडेका उज्यालो डोबहरूमा
कुनै शासक बसेर चलाइरहेको छ देश
जिन्दगीको एक क्यानभासभित्र
शाश्वत बनेर बसेका छन् यी पत्यारिला समय
मेरा सलबलाउँदा उमेर झरेर गए बालुवामा
म फर्किएर देश पुग्दा मैले गुमाएका
उर्वर समयहरू गनी बस्छु
अनि थोत्रो युग बोकेर
नभेटिएका रहर सम्झेर कोरिरहेको हुनेछु
देशलाई काम नलाग्ने अक्षर
र सायद अझै उस्तै हुनेछन्
दुखका जहाजहरू
उडेर गइरहेको एयरपोर्टबाट।