प्यारी जीवनसङ्गिनी जानकी,
यो सात समुद्र पारिको बिरानो मुलुकबाट मुटुभरिको माया अनि सम्झना।
तिम्रै मायाको कारण आजका दिनसम्म बाँचिरहेको छु। हेर न तिम्रो साथ छोडेको पनि आज तीन महिना पुगेछ। चिठी कहिले आउँछ भनेर पर्खेर बसेकी हौली। परदेशको ठाउँ भनेको समयमा चिठी पठाउन मान्छे पनि नपाउने। यो तीन महिना मलाई तीन वर्ष जस्तै लागिरहेको छ। अझै तीन वर्ष कसरी बिताउने म त कल्पना पनि गर्न सकेको छैन।
बिहानै झिसमिसेमा घर छोड्न पर्यो। बाइ पनि भन्न नसकेर होला तिमी भित्रबाट बाहिर पनि निस्केकी थिएनौ। बुवाआमाले त आँखामा पिलपिल आँसु गराउँदै ‘राम्रोसँग गएस् है, पुग्दा बित्तिकै चिठी पठाएस्’ भनेर बिदा गर्नुभयो।
त्यो भन्दा आँसु थाम्न सकिनँ र बाध्यतावश आँसुका धारासँगै हस् मात्र भन्न सकेर म पनि मन सम्हालेर बल्ल बल्ल मैरीमा आमाले राख्देको बेलाको पानी शिरमा चढाइ हरियो दुबो मुखमा चाँपेर आँसु खसाल्दै भक्कानिँदै घर छोड्न बाध्य भएँ। त्यतिखेरको पीडा म यहाँ कुनै पनि शब्दले बयान गर्न सक्दिनँ।
म कल्पना पनि गर्न सक्दिनँ तिमीले आफूलाई कसरी सम्हाल्यौ! बुवा आमाको अगाडि रुन पनि सकेनौ होला। के गरी मन बुझायौ होला? एक्लै रुने पनि ठाउँ थिएन। सायद भैँसीलाई पानी तताउने चुलोमा बर्किले आँसु पुछ्दै आँसु सुकाउँदै बसेकी हौली। अहिले सोच्दा पनि मुटु भरिएर आउँछ आँखा रसाएर आउँछन्। भरखर बिहे गरेकी नौली बुढीलाई छोडेर परदेशिने मन कसलाई पो हुन्छ र! के गर्नु, गरिब परिवारमा जन्म लिएपछि यी सबै कुराहरूलाई भोग्नु पर्ने बाध्यता हुँदो रहेछ।
रातभरि न तिमी बोल्न सकेकी थियौँ न म नै। न तिमी निदाउन सक्यौँ न म। त्यो रात कहिल्यै नसकिए हुन्थ्यो, बिहानी पनि नभइदिए हुन्थ्यो जस्तो लागिरहेको थियो तर समयले कहाँ कसलाई पो पर्खेको थियो र! बिहे भएको एक महिना नहुँदै भर्खर भर्खर माया पसाउँदै गरेको यो प्रेमिल जोडीलाई छुटाइदिने यो पापी समयको सामु हामी दुवैको केही पनि लागेन।
हरेक पल तिम्रा यादहरू बोकेर नेपालदेखि मलेसियामा त आएँ तर ज्यान मात्रै यहाँ लिएर आएछु। मन त तिमीलाई नै छोडेर आएजस्तो भइरहेको छ। आज तीन महिना भयो खुलेर हाँस्न पनि सकेको छैन। साथीभाइले किन एकोहोरो भइस् तँ भन्छन्। यत्तिकै भनेर टारिदिन्छु। अचानोको पिर खुकुरीलाई के थाहा हुन्थ्यो र!
जे जस्तो भए पनि दिनपछि रात आएझैँ हाम्रो पनि भेट हुने दिन अवश्य आउनेछ। सबै कुरा राम्रो भए, भगवानले साथ दिए दुई चार पैसा कमाएर तिमीलाई सुख दिने नै मेरो चाहना छ। केही समय दुख गर। श्रीमान् बिना नौली बुहारीलाई सासू-ससुरासँग बस्न सोचेजस्तो सजिलो त कहाँ हुन्छ र!
बुवाआमाले अह्राएको काम खुरुखुरु गरे। कहिलेकाहीँ वचन लाउलान्। आफ्नै बुवा आमा सम्झेर वचन नफर्काए। बुवाआमाहरू त्यस्तै हुन्। आफ्नो जमानाअनुसारको आफूले जस्तै काम गरोस् व्यवहार गरोस् भन्ने सोच्नुहुन्छ। यसमा उहाँहरूको केही गल्ती छैन। समय नै त्यस्तै थियो। जमानामा धेरै दुख गर्नुभयो। पढ्न पाउनुभएन। जमानाअनुसार चल्न सक्नुभएन। यो कुरामा केही दुखेसो नमाने।
अनि एउटा कुरा, तिमीले भनेकी थियौ नि बिहेको कुरा चल्दा हामी दुई जना कोठीमा छुट्टै कुरा गर्दा तिमीलाई पढाउने सर्तमा बिहे गरेर ल्याएको हुँ। यो कुरा मैले भुलेको छैन। एसएलसीको रिजल्ट आएपछि विषय नलागी पास भयौ भने साउनमा एघारमा भर्ना हुने समय आउँछ होला। त्यो बेला मैले पैसा पठाइदिन्छु अनि भर्ना हौली। रेगुलर क्लास लिन नपाए पनि किताब कापी सबै किनेर घरमा राम्रोसँग पढे। बरु परीक्षा आउन एक महिनाअघि बुवाआमासँग घर सल्लाह गरेर अङ्ग्रेजी विषयको चुत्राबेसी गएर ट्युसन पढौली। अरू विषयको घरमा राम्रोसँग तयारी गरे।
घाँस काट्दा रुख चढ्दा आफ्नो ख्याल गरे। सानो गाग्रीमा पानी बोके। धेरै गह्रुङ्गा भारी जबरजस्ती नबोके। चिसो मल एकै चोटि धेरै बोक्छु नभने। कालो र सुकेको मल गराएर हलुको हलुको डोको बनाएर बोक्ने गरे। ढिक कान्लामा घाँस काट्दा झर्दा निस्किँदा ख्याल गरे। तिमीलाई केही भइहाल्यो भने मेरो पनि सहारा सकिन्छ। मेरो संसार भनेकै तिमी हौ। तिमी छौ र त म छु।
गाउँघरका सासू, ससुरा, देवर, जेठान, जेठानी, नन्दहरू पर्ने सबैको इज्जत गरे। जेठाजु पर्ने जसलाई देखे पनि टाउको ढाक्न नछोडे। जेठाजुलाई ससुरालाई ठाडो नमस्कार नगरे। भुईँमै ढोग्दे। आफ्नो धर्म नछोडे। नत्र फलानीकी बुहारीले त भन्दै गाउँभरि ढ्याङ्ग्रो पिट्दै हिँड्छन्।
पँधेरामा पानी लिन जाँदा धेरै नभुले। घाँस दाउरा गर्न वनतिर जाँदा पनि धेरै समय नलगाए। सबैसँग मिठो बोले। मान्छेले कुरा काट्ने ठाउँ पर्खेर बसेका हुन्छन्। बुहारी मान्छे टाठो स्वरले बोले पनि कुरा काट्ने गाउँ हो। धेरै कुराहरूबाट बचेर बस्न पर्छ गाउँमा बस्दा। मलाई विश्वास छ तिमीले सबै जानेकी छौ तैपनि आफ्नी प्यारी श्रीमतीको कुनै नराम्रो सुन्न नपरोस् भनेर मात्र भनेको हुँ। दुख नमाने।
गाउँघरमा कुरा काट्ने मान्छे धेरै हुन्छन्। बुढो विदेश गएपछि पनि के गाउँमा बसेर दुख गरेकी भनेर भँडाउन खोज्लान्, कसैको पनि कुरा नसुने। जे-जे गर्नुपर्ने हो दुई चार पैसा कमाएर म घर फर्केपछि बूढाबूढीको सरसल्लाहले गरौँला। ऋण सक्केपछि तिमीलाई लगाउन मन लागेका गहना बनाउँला। मेरो पनि तिमीलाई मेरी मनकी रानी बनाएर सुख सयलमा राख्ने मन नभएको कहाँ हो र।
तिमीलाई गोडी र मिस्री खान मन लाग्छ। पहिला किनेको अहिलेसम्म त सकिए होला। यो चिठीसँगै भित्र सुटुक्क दुई हजार रुपैयाँ पठाइदिएको छु। मन लागेको कुरा किनेर खाए। फेरि फेरि कोही मान्छे आउने भएछन् भने तिनीहरूसँग पनि पठाइदिउँला। अनि त्यो तिमीलाई महिना महिनामा हुने के भइरहेको छ? मलाई ता शङ्का लागेको थियो। के भएको छ मलाई खबर गरे है।
तिमीलाई लेख्ने मनका भावना त कति छन् कति। बरु कापी सकिएला। कलमको मसी सकिएला। यो रात यसै जाला तर जति लेखे पनि सकिँदैनन्। मनले नमान्दा नमान्दै पनि यी मनका असङ्ख्य भावनाहरूलाई यहीँ अन्त्य गर्न बाध्य भएँ। नरिसाऊ ल। प्यारी बुढी। यो चिठी पाउने बित्तिकै हुलाकबाट तलको ठेगानामा चिठी पठाए। चिठी अलि लामो लेखे है, मलाई तिम्रो चिठी पढिरहूँ लाग्छ। म तिम्रै चिठीको प्रतीक्षामा बसिरहेको हुनेछु।
उही तिम्रो परदेशी श्रीमान्।