अचेल मलाई
म आफै मन पर्दैन
तिमी मन पर्दैन
ऊ मन पर्दैन र
निरन्तर उपदेश दिने
मेरा बा मन पर्दैन
अस्ताइसकेको
घामको कुरा गर्ने तिमी
मन पर्दैन
रिसाएर आफूलाई
एकान्तमा बस्नु छ
त्यसैले उज्यालो मन पर्दैन।
हरेक वर्ष ऊ
विकासको कुरा गर्छ
बजेटको कुरा गर्छ
संसदको कुरा गर्छ
यी नाथे कुराहरू मन पर्दैन
जो
जसले पनि गर्छ र
जहिले पनि गर्छ
किनकि
मलाई यस्तो विकास मन पर्दैन
जो कहिल्यै आउँदैन
र सधैँ आइरहने बाचा गरिरहन्छ
मलाई यही बेरोजगारी
यही पछौटेपन
र चीर विश्राम मन पर्छ
किनकि हरेक वर्ष
गरिबी भोकमरी र जादुगरीको कुरा
स्याटलाइट र सुरुङको कुरा
बहादुरीको कुरा गरिरहन मन पर्छ।
फूलसम्म पनि मन पर्दैन मलाई अचेल
किनकि ऊ फुलिरहन्छ
किन फुल्नु हरदम?
के उल्लास छ र?
कसलाई चढाउनु?
ढकमक्क भई फुलिरहँदा
कमसेकम तिमी भए पो
सुवासको उच्छ्वास चढाउनु हुन्थ्यो।
अचेल चन्द्रमाको पूर्णतामा समेत
मन खिन्न हुन्छ
हामीमाथि किन उपहास गरेको होला?
यो पनि तिम्रै जादुगरी हो कि
बरु बादलले छोपिदिए हुने नि।
मान्छेहरू
कविता लेख्छन्
यी कविता मन पर्दैनन् मलाई
फगत शब्दकै सहारामा
प्रेयसीहरू सम्झिइन्छन्
किन महत्त्व दिन्छन्
यी राक्षस जस्ता शब्दहरू
यी शब्द जस्ता राक्षसहरूलाई
न यिनले बोक्न सक्छन्
पिरतीका गाथाहरू
न बजेटका आशाहरू
आफूलाई बिसाएर
अरूलाई बोकी दिएका
झोले जस्तै कमजोर कविताहरू र
हरेक वर्ष झुक्क्याउन
पल्किएका सम्राट् शब्दहरू
त्यसैले मलाई मन पर्दैनन्
यी अक्षरहरू र कविताहरू
किनकि अचेल मलाई
आफै मन पर्दैन
र तिमीहरू।