थाहा त थियो ऊ परीक्षाको तयारीमा थिई। थोरै दिन, परीक्षाको मानसिक प्रेसर कति हुन्छ त्यो मलाई पनि राम्रैसँग थाहा थियो।
सदाभन्दा हाम्रो बोल्ने समय कम भएको थियो। जागिर र परीक्षाको तनावमाथि म उसलाई थप तनाव दिन चाहँदैन थिएँ। तैपनि कुरा गर्दा मैले धेरैपल्ट उसलाई जिस्काएँ- ‘तपाईँ त आजकल परिवर्तन हुनुभयो। पहिलो कति कुरा गर्नुहुन्थ्यो, अहिले त बिलकुलै चेन्ज। सोधेको प्रश्न बाहेक अरू जवाफ आउने भए पो।’
एक दिन उसले मेरो ठट्टाको प्रश्नमा जवाफ दिई- ‘बोल्न मन लागे बोल्नु नत्र नबोल्नु। सधैँ परिवर्तन भयो भन्न मात्रै नआउनू। सबै कुरा भन्नुपर्छ भन्ने जरुरी छैन।’
थाहा छैन किन मलाई यत्ति कुराले निकै पोल्यो। अफिसबाट एकै छिन बाहिर निस्किएर क्याफेमा पुगेँ। उसले किन यस्तो जवाफ पठाई? बोल्नकै लागि बोल्दिए जस्तो। के साँच्चिकै उसको मनमा मप्रति कुनै भावना छैन? म कतै उसको लागि बोझ त भएको छैन?
दुई कप दूध चिया पिएर फेरि अफिस फर्किएँ। आँखा भरिएका थिए, मन गह्रौँ भएको थियो। सायदै यस्तो मलाई कहिल्यै भएको थिएन। जोसँग जीवनका धेरै नजिकका कुराहरू शेयर हुन्थ्यो। जोसँग बोल्दा मात्रै पनि धेरै पीडा निको हुन्थ्यो। जो केबल एउटा साथी मात्रै थिएन, अभिभावक थियो। जसले हरेक कुरालाई सहजै हल गरिदिन्थ्यो। जसले मेरो स-साना कुरा पनि सिरियस्ली लिन्थ्यो। त्यो मान्छेले किन एक्कासि यस्तो भन्यो?
अफिस फर्किएर ल्यापटप खोलेँ। उसका केही म्यासेज थिए। मैले ती म्यासेज नि राम्रोसँग हेरिनँ। मैले निधो गरेँ, कसैका लागि बोझ हुनु ठिक होइन। सायदै त्यति बेला जीवनमा सबैभन्दा नरमाइलो क्षण थियो मेरा लागि।
मैले म्यासेज गरेँ- ‘हस्। तपाईँको राम्रो होस्। ख्याल गर्नु आफ्नो।’
सायदै यति म्यासेज गर्दा म सपनामा जस्तै थिएँ।
त्यसपछि हाम्रो झन्डै दुई दिन कुरा भएन। हुनु पनि कसरी? मेरो मनको पीडा मरेको थिएन। त्यस बिचमा कयौँ पल्ट उसको प्रोफाइल खोलेर मैले बारम्बार उसका तस्बिरहरू हेरिरहेँ।
सायद हाम्रो कुरा नभएको तेस्रो दिन थियो क्यारे। उसको प्रोफाइल खोलेर हेर्छु भन्दा उसले अनफ्रेन्ड गरेकी रहेछ।
मैले म्यासेज गरेँ- तपाईँले मलाई अनफ्रेन्ड गर्या हो?
केही समयपछि यसको रिप्लाई आयो- ‘एस’
मैले सोधेँ- ‘किन त?’
उसको फेरि जवाफ आयो- ‘मन भरिएकाहरूसँग साथी पनि किन हुनु?’
फेरि मैले म्यासेज गरेँ- ‘मन नै भरिएको भए त के भनौँ।’
उसको जवाफ थियो- मन भरिएर त होला नि नबोली बस्ने।
केही समय यस्तै एक अर्कालाई दोषारोपण गर्यौँ। उसको लोक सेवाको परीक्षा नजिकिँदै थियो। मैले ‘अरू कुरा जे भए पनि फेसबुकमा अनफ्रेन्ड त नगर्नु न’ भनेँ।
मैले पुनः रिक्वेस्ट पनि पठाएँ तर आजसम्म पनि रिक्वेस्ट एसेप्ट भएको छैन। हामी दुवै रिसले आगो थियौँ सायद, न उसले मलाई सम्झाउने कुरा गरी न त मैले नै। उसले यसरी अनफ्रेन्ड गरेको पहिलो पल्ट थिएन। अहिलेसम्म दुई पटक अनफ्रेन्ड भएर फेरि हामी जोडिएका थियौँ।
हाम्रो कुराकानी हुन थालेको धेरै समय भएको थिएन। जति भयो निकै यादगार रह्यो। ऊ पनि सामान्य कुराहरूसम्म मसँग शेयर गर्थी। निकै समझदार, निकै मायालु, उमेरले कम भए पनि ऊ जिम्मेवार कुरा गर्थी। सायदै जीवनमा यस्तो साथी कमैले पाउँछन्।
हामीले सधैँभरि एक अर्कालाई साथीको रूपमा सम्बन्ध निभाउने वाचा गरेका थियौँ। जस्तै परिस्थितिमा पनि नजिक हुने कुरा गरेका थियौँ। तर खै किन एक वर्षसम्म पनि हामीले ती वाचा पूरा गर्न सकेनौँ।
गल्ती मेरो नै थियो बिना कारण उसको परिस्थिति, उसको अवस्था, उसको ख्याल नै नगरी म जहिले जिस्किन्थेँ। तर मैले उसलाई नजिकबाट बुझेको थिएँ यी कुराहरू उसले सहजै लिन्छे भनेर। खै त्यो दिन के भयो, एउटा हुर्कँदै गरेको पालुवा निमोठियो।
म त्यो दिनदेखि बेचैन छु। सायदै सपना र कल्पना फरक कुरा रहेछन्। अब त म उसको प्रोफाइलसम्म पनि हेर्न सक्दिनँ। किनकि उसले प्रोफाइल लक गरेकी छ। जे नहोस् भन्ने कुराले सधैँ बिझाइरहन्थ्यो त्यही भयो।
कतै यस्तो असल साथी गुमाउनु पर्ने पो हो कि भन्ने प्रश्नले झस्काइरहन्थ्यो। आज त्यही भयो। हुन त तिमीले पनि मलाई औधी विश्वास गर्थ्यौ। सायद मैले त्यो विश्वास पूरा गर्न सकिनँ कि! तिम्रो मायाले मात्तिएँ कि!
सुन न, के हामी फेरि पहिले जस्तै बन्न सक्दैनौँ र?
कमी कमजोरी दुवैका थिए होलान्। के हामी तिनलाई सच्चाउन सक्दैनौँ र?
म तिमीलाई कत्ति पनि दोष दिन चाहन्नँ किनकि अरूलाई दोष लगाएर आफू निर्दोष बन्न खोज्नु भनेको कायरता हो। ऊसँगका विस्मृतिहरू मानसपटलमा ताजै छन्। थाहा छैन तिमी किन एक्कासि परिवर्तन भयौ।
म कोही कसैलाई पनि आँखा चिम्लेर विश्वास गर्ने मान्छे। तर विश्वास यस्तो चिज हो जो पटक पटक हुँदैन रहेछ। तिमीप्रति भने मलाई पूर्ण विश्वास छ, पूर्ण भरोसा छ। यदि तिमी अब हाम्रो सम्बन्ध अगाडि बढाउने प्रयत्न गर्ने पक्षमा छैनौँ भने हामी दुईले राखेका केही लक्ष्यहरू तिमी पूरा गर्नू। कहीँ, कतै, कहिल्यै मेरो आवश्यकता महसुस भयो भने म तयार नै रहनेछु। सदा सदा।
म त तिम्रो कारण आफ्नो बानी परिवर्तन गर्ने मान्छे हुँ। कयौँ आफ्नै मेरा नराम्रा बानीहरू त्याग्न सहयोग गरेकोमा धन्यवाद छ तिमीलाई। थाहा छैन कोही किन यति प्यारो लाग्छ? किन आफ्नो लाग्छ? किन नबोल्दा मात्रै पनि मन निराश बन्छ? किन सबै भएर पनि कोही नभएजस्तो लाग्छ?
खै! यो कस्तो नसा हो? तर फेरि कोही किन यति सजिलै, यति छिट्टै निष्ठुर बन्न सक्छ? कोही किन यसरी बाँचिरहन्छ सम्झनामा?