सम्बन्धका ग्राफहरू एक्लै नाप्न, जोख्न, अड्कल्न नसकिँदो रहेछ। सामिप्यमा अरू कोही भइदिँदा मात्र सम्बन्धले तृष्णा मेटाउँदो रहेछ। आफूले सानै सोचे पनि सिंगै ब्रह्माण्ड अटाउँदो रहेछ। सम्बन्धको घेराभित्र अटाउन पनि त प्रेम चाहिँदो रहेछ। ग्रहण गर्न सक्ने प्रेम। जसरी टपक्क हत्केलामा अटाउँछन् कचौराहरू तर फुत्किएर जान्छन् मुठ्ठी पार्दा पनि बालुवा अनि पानीहरू। यसरी नै अटाइरहन कसैको प्रेममा, मलाई पनि मन नभएको होइन तर प्रेम गरेर हुने कुरा रैनछ। र जब हुन्छ त्यसलाई चटक्कै छोडेर जान पनि नमिल्ने रहेछ।
म पढाइमा उत्तिकै मेहनत गर्ने मान्छे। लोक सेवामा छोटो मेहनतले मलाई सरकारी कर्मचारी बनायो। र लागेँ जागिर खान मधेसतिर। सुरूको नियुक्तिको दिन निकै अलमल्लमा बित्यो। बाराको कोल्हबी बल्ल ठाउँ पत्ता लागेर पुगेको थिएँ। जेठको गर्मीले रंग खुइलिएको कपडा जस्तै भाको थियो अनुहार। गर्मीले कुवाबाट उम्किएको माछा जस्तै छटपटिएको थिएँ म। त्यहाँ पुगेपछि सबै कुराको बन्दोबस्त गरियो। खाने-बस्ने यताउता तर गर्मीमा बाँच्न सकिएला जस्तो लागेको थिएन।
एउटै अफिसको सहकर्मी साथी जयप्रकाश यादवसँग राम्ररी चिनजान भयो। उनलाई सर्ट फर्ममा जेपी यादव भनेर बोलाउँथ्यौं हामी। म उनको घर गइरहन्थेँ। गर्मी भुलाउन अनेक बहाना गर्नुपर्थ्यो। खरले छाएका माटोले पोतेका भित्ताहरू एकदमै राम्रो थियो। स्ट्यान्ड लाएका साइकलहरू बाहिरै हुन्थेँ। म चलाइहाल्थें। बेलाबखत तरूवा पाक्थ्यो, खिर पाक्थ्यो। म मिठो मानी मानी खान्थेँ। भोजपुरी भाषा म साह्रै बुझ्थिनँ। तै पनि अलमलकै आधारमा सुनिदिन्थेँ। साना साना केटाकेटीहरूसँग खेल्थें। यसरी नै दिनक्रम चलिरहेको थियो।
एकदिन कार्यालयमा दिपशिखा नाम गरेकी केटी आफ्नो नागरिकताको प्रतिलिपी बनाउन आइन्। उनी त जेपीकै बहिनी रहिछन्। पछि पो थाहा भयो। नाममा दिप र शिखा छुट्टै लेखिएकाले सच्चाउन आएकी रहिछन्। मास्क लगाएकी थिइन्।
नागरिकता बनाउन दिएको फोटोमा छुट्टै चमक थियो। नागरिकता बनिसकेपछि हामी खाजा खान बस्यौं। उनी जनकपुरमा बसेर लोक सेवा तयारी गर्दी रहिछिन्। आँखामा ठेस नलागेसम्म हेरिराखौं जस्ती। उनले मलाई दाइ भनेर बोलाएकी थिइन् तर म भने बहिनी भनेर सम्बोधन गर्न सकिरहेको थिइनँ।
जेपी भन्दै थियो, 'तँ फ्रेसमै नाम निकालेर आएको छस्, यसो फुर्सतमा उसलाई पढाइदिने गर् न!' मैले हुन्नँ भन्न सकिनँ। किनकि नजिक हुने चाहामा त्यो एउटा अवसर बनेर आएको थियो। दिपशिखा म्यासेन्जर फेसबुक चलाउँदैन थिइन्। कि फोन नै गर्न पर्थ्यो कि त भेट्नै जान पर्थ्यो। दाइ जस्तो मान्छे कसरी फोन गर्नु? फसाद पर्थ्यो।
उनलाई नै हेर्न, भेट्न भनेर जेपीको घर पुगिराख्थें। तर नदेख्दा नभेट्दा शरीर भरिका रौं उखेलिए जस्तै पीडा हुन्थ्यो। माया बढ्दै थियो मेरो। हुर्रिएर आउँदो थियो। उनी अगाडि बस्दा मात्र पनि भावनाको आगो हुरहुरी बल्थ्यो। पर्खाल चुलिन्थ्यो। अग्लो हुन्थ्यो। तर उनी बारम्बार दाइ भनेर सम्बोधन गर्थिन् र त गर्ल्याम्म गुर्लुम्मै ढल्थ्यो। आगो भसक्कै निभ्थ्यो।
सामान्य ज्ञान पढाउँदै गर्दा म भन्न सक्थिनँ उनलाई कि- सगरमाथाभन्दा अग्लो, प्रशान्त महासागर भन्दा ठूलो र चाइनाको ग्रेटवालभन्दा लामो अरू केही छ भने त्यो तिमीप्रति मेरो भावना छ भनेर।आइक्युका प्रश्नहरू सिकाइदिँदा म भन्न सक्थिनँ उनलाई कि- दूरी र दिशासँगै तिम्रो मनको बासस्थान पत्ता लाउँछु भनेर, त्रिभूज गने जस्तै तिम्रा लागि आकासका तारा गनिदिन्छु भनेर, नोक्सान घटाएर तिम्रा लागि नाफाको जिन्दगी मात्र बाँचिदिन्छु भनेर।
एकदिन जेपी घरमा थिएन। दिदीकोमा राखीको कोसेली पुर्याउन गएको थियो। त्यही बखतमा म बसिरहेको ठाउँमा उनी चिया खाने कि नखाने सोध्न आएकी थिइन्। 'मिठो ज्याद गुलियो कम' खाने नि भनेको थिएँ। घरमा अरू कोही थिएन। त्यतिबेलै उनले चिया दिनेबेला मैले उनको हात स्पर्स गर्ने दुस्साहस गरें। त्यसपछि उनी फुत्त निस्किएर आफ्नै कोठातर्फ लागिन्। म बेलुका आफ्नो बासस्थान आएपछि सोचें, 'मेरो त्यो स्पर्श कतै उनलाई काँडा जस्तै बिझ्यो कि?'
अर्को फुर्सतको दिन फेरि जेपी सँगै घर पुग्दा उनी कोठैबाट मलाई पुलुक्क हेरिन्। अनि फुत्त निस्किएर आइन्। म झस्किरहें। कतै हिजोको कुरामा चित्त दुखाएर सबैलाई सुनाइन् कि भनेर। तर उनले मुस्कुराएर, आज मलाई भूगोल पढाइदिनु न भन्दै किताब तेर्साइन्। म भित्रको एउटा अँध्यारो कुनाले उज्यालो पायो। अब विश्वको भूगोल मेरा लागि अपरिचित थियो जति उनको भूगोल प्रतिको चाहा बढ्दै थियो। समग्र त्यो लामो कपाल, गोलो अनुहार सर्लक्क परेको ज्यानमा बैंसका मिठासहरू। प्रेम उनको र मेरो नजानिँदो पाराले अघि बढ्दै थियो। तर पत्थरको पर्खाल लाग्दै थियो समाजको फरक वेशभूषा र चालचलनको। म पहाडी मान्छे उनी मधेसमा हुर्किएकी। तर प्रेमको भोकले यी समाजका चिच्याहट प्रतिरोधहरू सर्लक्कै चपाइदिन्थ्यो।
उनी जनकपुर पुगेपछि हाम्रो फोनमा धेरै गफ हुन थाल्यो। घरमा उनी नहुनुले पनि हाम्रो प्रेममा चिठ्ठा परेको थियो। किनकि कसैले थाहा पाउला भन्ने भ्रमबाट टाढै थियौं। अरू त अरू मैले भोजपुरी बोल्न सिकिसकेको थिएँ। उनका जबाफ फर्काउँदा फर्काउँदा। एकदिन म उनलाई भेट्न जनकपुर नै पुगेँ। म पुगेको खबरले दिपशिखा मुलायम बनेर बसेकी थिइन्। उनको कोठामा बसिनँ। बाहिर कतै बस्ने भयौं। किनकि देखभेट हुन्छ मात्र भन्ने भेउ कसैले पाएमा हामी दुवैका लागि त्यो खतरनाक हुने थियो।
होटलको बास भयो हाम्रो। खाना खायौं। अनि एउटा रूम लियौं। सम्बन्धहरू कति चाँडै बदलिँदा रहेछन्। म सुरूमा देख्दा भेट्दा उनको दाइ थिएँ। त्यसपछि पढाउन लाग्दै गर्दा सर भएँ अहिले प्रेमी भएको थिएँ। बन्द कोठामा पुग्न साथ ऊ केही लजाई। मैले माहोललाई केही कम्फर्टेबल बनाउने कोसिस गरेँ। दिपशिखालाई चुम्बन गरेँ। त्यो चुम्बन धेरै लामो समय टिक्यो सायद कसैले घडी हेरेर बस्दो हो त उ आत्तिसक्दो हो। त्यसपछि दिपशिखाले आफूलाई मेरो आलिंगनमा बेरिइन दिई। मेरो शरीर उनको टिसर्टभित्र पस्न खोज्यो तर सकेन। अनि फुकालिदिएँ उनका वस्त्रहरू। उनी केही हडबडाइन्।तर मेलै सान्त्वना दिएँ। उत्तेजनाका अघि केही डरका सन्त्रासहरूले उनी थिचिएकी थिइन्। एकदमै असहज हुँदै उनले मलाई सर्वश्व स्वीकार गरिन्। मलाई भने त्यो स्पर्श छोडेर जाने रहरै थिएन। हामी धेरैबेर एकअर्कासँग परिवेशहरू भुलेर एकाकार भइरह्यौं। दुवैका लागि त्यो पहिलो थियो। यौन हेरेर र पढेर बसेका हामी साँच्चैं प्रेममा पर्दा भोग्नुपर्ने अवस्थासम्म पुग्यौं। हामीले कसैको सुनेनौ। कानका ढोकाहरू बन्द थिए। मात्र अन्तस्करणबाट एक अर्कालाई देख्यौं। एक अर्काको मर्जिमा जियौं, राजी भयौं।
बिहान भयो। दिपशिखा केही बोल्न खोज्दै थिइन्। तर बोली फुटिरहेको थिएन। उनको सास फुलेको थियो। लाग्थ्यो जति दौडिए पनि नजितिने दौड दौडेर आएकी छिन् उनी। किनकि हाम्रो प्रेमको दौड जित्न विवाह हुनुपर्ने थियो। तर धेरै गाह्रो थियो।
छठ पर्व आयो। फेरि जेपीको घरबाट निम्तो आयो। हतार हतार छठ मनाउन म बिदा छोट्याएर मधेस झरेको थिएँ। घाम भन्दा पहिले ब्युँझिएका आँखाहरूले दिपशिखा हेर्न खोज्दै थिएँ। तर साँझ सम्म कुर्नुपर्ने थियो। नदी किनार घाटमा कुर्थामा सजिएकी उनलाई धेरैपछि देखेँ, मगज चिप्लिएर मनको थालीमा झर्यो। आँखामा कृतज्ञताहरू नाचिरहे। ताजा सेरोफेरोमा बासी सम्झनाले अत्याइरह्यो। कोही नभएको मेसोमा उनलाई आफूतिर तानें। अनि अंकमाल गरें। त्यो आँचलमा नै निदाइरहूँ जस्तो।
छठका प्रसादहरू उनकै हातले बनाइएका थिए। मिठाइहरू मिठो मानी मानी खाएँ। छठ सिद्दिएपछि एककान दुइकान हुँदै हाम्रो सम्बन्धको चर्चा जताततै चल्न थाल्यो। जेपीले थाहा पाएपछि ऊ रिसाएर केही दिन मसँग बोलेन। मलाई पनि लाग्यो, धत्! मैले साथीको नाममा कलंक रहेछु। अवोध निरीह हुन्छ भन्दैमा साथीको भरोसासँग खेलेछु। एकदिन दुवै जना बस्यौं हामी।
तर दुवै जना कुरा गर्न नै सकेनौं। जेपीले जाने बेलामा भन्यो, 'तँ मान्छे राम्रो छस् काबिल र योग्य छस् तर हाम्रो न जात न भूगोल,न भाषा न वेशभूषा मिल्छ। विवाह नै भए पनि कालान्तरसम्म यिनै अमिल्दा सकसहरूले लखेट्छन्, पछ्याउँछन्। छिमेकले कुरा काट्छन्। बाआमाले आफैलाई धिकार्छन्। यस्तो प्रेमको अर्थ के रहन्छ र?'
घर गएर पनि जेपीले बहिनीलाई सम्झाएछ, 'तँ ठूली भइस्। मैले सम्झाउन पर्ने मान्छे त होइनस् तँ। तर घरको माया भाग लाएर हेर्दा मैले तँलाई गरेको माया कम छैन। हाम्रो आँगन सानो थियो होला तर तँ हिँड्ने बाटो मैले फराकिलो बनाएकै थिएँ। भर्खर फक्रिन लागेको हाम्रो परिवार ढलिजान्छ। तँलाई जाडो हुँदा मैले किनिदिएको हाइनेक र ऊनीको टोपीले जसरी तातो महसुस गराउँथ्यो, त्यसरी नै हुस्सु लागेको बेला पारिवारिक एकताले न्यानोपन दिन्छ। त्यो न्यानोपनमा चिसो थप्ने काम नगर्। हाम्रो समाज र पहाडी समाज फरक छ। भन्न त हामी भन्छौं, होली खेले जस्तै सबै रङ मिसिएर बसेका हुन्छौं, अनेकौं जातजाती भूगोलहरू। तर भन्नलाई, गीतमा गाउनलाई र फिल्ममा देखाउन मात्र सहज छन् यी कुराहरू।' दिपशिखा मलाई सुनाउँदै थिइन्।
त्यसपछि मलाई अब मधेस बसिरहन मन भएन। कागती झैं निचोरियो मन अनि अमिलो अमिलो भयो।
पाक्न आँटेको कुनै फल जस्तो थियो माया तर चरीले ठुंगेर झारिदियो। दिपशिखाको माया बिसाउने कुनै स्टेसन भेटिनँ र त सरूवा भएर जाने निर्णय गरेँ। बिदाईमा निरीहता मिसिएको आवाज थियो मेरो।आफ्नो सपनालाई चाङ जस्तै बोकेर हिँडेको मान्छे म पहिरोले उदांगो भएँ। जाने अघिल्लो रात जेपीले मलाई निम्तो गरेन। त्यति राम्रो मित्रता बहिनी सँगको मेरो सम्बन्धले बिग्रियो। दिपशिखालाई जानेबेलामा एकचोटि भेट्न पाइनँ। मलाई कसैबाट भाग्नु थिएन तर नपाइने कुरा पर्खिएर समय खेर पनि फाल्नु भएन। रातभर ओल्टीपोल्टी गरिरहेँ। कुनैदिन त बिहेको कार्ड पठाउला नि जेपीले आफ्नो बहिनीको जस्तै मानें।
म सरूवा भएर पर्वत आएको धेरैपछि दिपशिखाको नाम लोक सेवा आयोगको परीक्षामा निस्किएको थाहा पाएँ। त्यतिमात्र होइन, उतैको एउटा इन्जिनियरसँग बिहे फिक्स भएको समेत थाहा पाएँ। बधाई दिन फोन उठाएँ तर नम्बर डायल गर्ने हिम्मत आएन।