सामाजिक सञ्जालमा दिनहुँ एक/दुई फ्रेन्ड रिक्वेस्ट आउनु त स्वाभाविक नै हो। कति एसेप्ट हुन्छन् त कति रिजेक्ट, सामान्य विषय न हो। तर त्यो एक फ्रेन्ड रिक्वेस्ट, अहँ! अरूसँग तुलना गर्न कहाँ सकिन्थ्यो र?
बिहान १० बजेतिर एउटा फ्रेन्ड रिक्वेस्ट आयो। यसो नियालेँ, नाम स्त्रीको थियो। केटा न हुँ, को रहिछ मलाई रिक्वेस्ट पठाउने भनेर प्रोफाइल नियाल्न लागेँ। खासै धेरै साथी नभएको र पोस्टहरू नभएकाले त्यति चिन्न सकिनँ।
रिक्वेस्ट पेन्डिङमा राखेर आफ्नै काममा व्यस्त भएँ। साँझ फेरि हेरेर रिक्वेस्ट कन्फर्म गरेँ।
कन्फर्म हुन साथ मेसेज आयो, ‘ओहो संगम सर, फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्न पनि ७ घण्टा!’
‘हाहा, त्यस्तो हैन मोबाइल बल्ल हेरेँ’ भनेर जवाफ फर्काएँ।
‘ठिकै छ, धन्न एसेप्ट भयो म त हुँदिनँ कि सोचेकी थिएँ,’ हाँसेको इमोजीसहित पुनः म्यासेज आयो।
मैले गर्थेँ नि, किन नगर्नु भनेर जवाफ दिएँ। त्यसपछि उसले खाना खानु भयो भनेर सोधिन। म खाएर बसेको थिएँ। खाएको जानकारी दिँदै उनले खाए नखाएको सोधेँ। उसले नि खाएको जवाफ पाएसँगै उनलाई नचिनेका कारण सोधेँ- ‘अनि मलाई चिन्नुहुन्छ? मैले त अलिक चिनिनँ नि।’
‘चिन्छु सर अलि अलि, हजुरलाई पो हाम्रो मतलब हुन्न त,’ मौका आएको बेला जवाफ आइहाल्यो।
उसले अनलाइन क्लासमा मलाई ‘नोटिस’ गरेकी रहिछ। उसले भनी, ‘सरहरूलाई पनि क्रस कोइसन गर्नुहुन्छ, मलाई चित्त बुझ्छ। तपाईं साँच्चिकै छट्टु हुनुहुन्छ। कुरा कता-कता लैजानु हुन्छ थाहै हुँदैन। हरामी मान्छे।’
बयान आयो। म पनि मक्ख।
‘ए ए, अलिक कम भएन र तारिफ? थपौँ न एक दुई अझै,’ भनेँ।
‘हैन साँची हो सर, म त फ्यान हो तपाईंको।’
मलाई लज्जित नबनाउनुस् भन्दै बिन्ती गरेँ। उनले एउटा हुन्छ तर एउटा सर्तमा भनिन्।
के सर्त रहेछ भनी एक छिन त अचम्म परेँ र सोधेँ। उनलाई मैले तपाईं नभन्न अनुरोध गरिन्। एक छिन यसै कुरामा बहस गर्यौँ। पछि मैले ठिक छ नभनिइदिउँला नि भनेँ।
‘हस् सर धन्यवाद, सुत्नु अब कि कोही छ बोल्ने?’ भनिन्।
मैले कोही नभएको बताउँदै अब सुत्ने बताएँ। उनले ‘होला होला, डिस्टर्ब गरेको भए सरी ल’ भन्दै जिस्काइन्।
शुभ रात्रि भन्दै हामी बिदा भयौँ।
यी र यस्ता च्याट सामान्य भइसकेछ। थाहै नपाई प्रेम बसेछ तर कहिल्यै प्रस्तुत चाहिँ गरेनौँ।
दिन बित्दै गयो, महिना बित्दै गयो। म पनि सरकारी जागिरमा स्थायी नियुक्त भएँ। उनी तयारी गर्दै थिइन्, तयारी पनि राम्रै थियो।
बेलाबेला हरेस खान्थिन् र भन्थिन्, ‘घरकी जेठी छोरी, खै कहिलेसम्म यस्तै बस्ने हो? कहिले नाम निस्कने हो? दुई भाइ-बहिनी ममुनि छन् अझै, मेरो त भविष्य यस्तै भयो अनि भाइ बहिनीको समेत यस्तै हुने भयो...।’
म सम्झाउँथेँ, ‘किन आत्तिएकी? तिम्रो तयारी राम्रो छ, अब चाडै सिफारिस हुन्छौ, हरेस नखाऊ।‘
अरू त के पो गर्न सक्थेँ र? यस्तै यस्तै भन्थेँ।
एक दिन अचानक फोन आयो, ‘संगम, कहाँ हुनुहुन्छ?’
मैले अफिसमै भएको जानकारी दिँदै ‘किन र?’ भनेँ।
उनी मेरै अफिस बाहिर आएकी रहेछिन्। भेट्न मिल्छ भनिन्।
म त झसंग भएँ। आजसम्म नदेखेको, कहिलेकाहीँ कुरा गरेकी मान्छे भेट्न आइछ! त्यही पनि अफिस बाहिर। अचम्मै परेँ अनि नजिकैको दाइलाई भनेँ। दाइले नि हुन्छ जाऊ न भन्नु भयो।
न्युरोड गेटमा पुगेँ। कोही कुरिरहेको थियो। कालो मास्कले मुहार ढाकेकी। हातमा फाइल अनि सानो फाइबर। परबाटै चिनेँ।
त्यही उभिएर कुरा गर्न थाल्यौँ।
‘किन आएको काठमाडौँ?’ सोधेँ।
‘यतिकै आएको नि, हजुरलाई भेट्न,’ जिस्काउन थालिन्।
उनी मेरै अनुहार हेरेर कुरा गरिरहेकी थिइन्। तर मैले भने सकिरहेको थिइनँ। कालो-निलो भएँ, डराइरहेको थिएँ।
अनि सोधे, ‘कत्तिको फुर्सद छ? चिया खाने हो? धेरै टाइम त छैन।’
‘चिया त खाँदिनँ, टाइम छ भने वसन्तपुरसम्म जाऊँ न?’ प्रस्ताव गरिन्।
समय कम थियो। अहिले नभ्याउने बताएँ, ‘कि ५ बजे कि अरू कुनै दिन जाउँला नि।’
‘अब त भेट नहुन पनि सक्छ,’ उनले जवाफ फर्काइन्।
झसंग भएँ, ‘किन नहुने? काठमाडौँमा भएकासँग त होला नि मन भए पार।’
मलिन स्वरमा भने। उनले केही जवाफ दिइनन्।
फाइबर खोलेर एउटा पोका दिइन् मेरो लागि भन्दै। यसो हेरेँ, किटक्याट, इनर्जी जुस अनि अरू दुई चार थरी मिठाई थियो।
‘किन दिएको?’ सोधेँ।
‘सगुन हो, खानु न’ भन्दै जिस्काइन्।
हतार भएकाले अफिसमै गएर खान्छु नि भन्दै ल हुन्छ म निस्किन्छु भनेँ।
‘रुक्नु न एक मिनेट, एउटा कुरा भन्नु छ,’ भनिन्।
‘के कुरा?’ प्रश्न गरेँ।
बोल्न सकिनन्। फाइलबाट एउटा पेपर झिकेर दिइन्।
के हो भनेर हतार हतार हेरेँ। फ्लाइट टिकट रहेछ। काठमाडौँ-बैंकक सेक्टर थियो।
‘कहाँ घुम्न जान लागेको? बैंकक,’ प्रश्न गरेँ।
‘हैन, पूरै हेर्नू न,’ आँखामा आँसुसहित भनिन्।
अनि राम्रोसँग हेरेँ। फ्लाइट टिकट थियो, काठमाडौँ-बैंकक-नारिता।
‘जापान जान लागेको? अनि किन आजसम्म नभनेकी? किन लुकाको?’ प्रश्नमाथि प्रश्न गरेँ।
‘भन्न खोजेकी थिएँ सकिन,’ आँसु निकालिन्।
केही भन्नै सकिनँ हेरिरहेँ।
‘ल हतार भए जानू, भोलि फ्लाइट छ टाइम भए एयरपोर्ट आउनू,’ उनैले भनिन्।
मुखमै नहेरी ‘ल हुन्छ’ भन्दै अफिस आएँ
राति निदाउन सकिनँ, अनेक प्रश्न उठे दिमागमा।
किन नभनेकी होली? किन जान लागेकी होली? लोक सेवा पास गर्न सक्थी त!
हुन त जेठी छोरी जिम्मेवारी थियो। त्यही भएर नै यो निर्णय लिएकी होली। यति सजिलै निर्णय लिने मान्छे त हैन ऊ तर खै किन यस्तो गरी? पहिला मलाई भनेको भए सम्झाउँथे बुझाउँथे होला। अब के गर्न सक्छु र? सबै प्रक्रिया पूरा गरिसकेपछि अन्तिममा सुनाई।
खास लोक सेवाले उसलाई पत्ताइदिएको भए यो दिन आउँदैन थियो होला। कि त मलाई नि नपत्ताएको भए म पनि जान्थेँ! तर जनतन खाएको जागिर छोड्न पनि त सक्दिनँ।
आफैसँग अनेकौँ प्रश्न गर्दा गर्दै निदाएछु।
अर्को दिन उसको फ्लाइट, एयरपोर्ट गएँ तर उसको नजिक जान सकिनँ।
फोन गरेर भनिन्, ‘किन नआएको? आउनुहुन्छ कि के गर्नुहुन्छ? भित्र जाने बेला भयो?’
‘हेर न आज भ्याउँदिनँ आउन, नरिसाऊ ल। राम्रोसँग जाऊ, शुभ यात्रा,’ एयरपोर्टको अर्को कुनाबाट भनेँ।
‘हुन्छ, आफ्नो ख्याल गर्नू’ भन्दै फोन काटी।
उताबाट हेरेको थिएँ। आँसु पुछ्दै थिई। काँधमा झन्डा थियो। रुन्चे अनुहार राम्री देखिएकी थिई। थाई एयरलाइन्सको त्यो जहाज काठमाडौँ नछोड्दासम्म हेरिरहेँ। जब प्लेन उड्यो, आँखाभरि आँसु निकाल्दै भनेँ- ‘शुभ यात्रा, परदेशी।’