म शून्य
शून्यमै बिलाइरहूँ
माथि पनि नजाऊँ
तल पनि नझरूँ..
पछाडि बाँकी नहोस् केही पनि
कोही अगाडि आएर नबसोस्
‘होमवर्क नगरेको विद्यार्थी’ झैँ
म पछाडि बसेर अगाडिको
तिम्रो मूल्य बढाइरहूँ।
म
सम्बन्धको हिसाबमा कमजोर छु
मलाई
केहीसँग नजोडियोस्
नघटाइयोस् कोहीसँग
गुणन भाग त
हुनु पनि नपरोस्
म विलीन भइदिन्छु तिमीमै
किनकि म शून्य हुँ।
एक दिन शून्यमा चढेर
हेर्न सकूँ शून्यभित्रको
अन्तरिक्ष, दूरबिन अनि जीवन;
जो शून्य जस्तै गोलाकार छन्
तर कस्तो सुनसान
लाखौँको भिडभाडमा पनि
कस्तो नीरवता
उल्टै मौन बसेर पो बाँचिरह्यो समय
अझै मैले किन बुझिनँ
शून्यमाथि शून्य थपेर
केवल शून्यता हुन्छ भनेर।
प्रश्नहरू धेरै छन्
नाबालकको मनमा जस्तै
शून्यमा कराएर के हुन्छ?
शून्य हुनु अनि कराउनु...
म नचिच्याएर शून्य भएको होइन
बस् शून्य भएर नचिच्याएको हो...
आखिर शून्य हराए के हुन्छ?
आफूबाट केही हराए शून्य हुन्छ
एक दिन शून्य नै हराए के होला?
परिवारमा शून्यता बाहेक...
मानौँ कि म शून्य हुँ
आवाज ननिकाली कराउँछु र
शून्यभित्रै हराउँछु।