कामको चापले होला धेरै नै थाकेकी थिएँ। एक्लो जिन्दगी खिर नै खिर भन्छन् भन्नलाई त तर मेरो भने सुक्खा रोटी जस्तो पनि थिएन। बिरक्तिने केलाई भन्छन् भर्खरै सुइँको हुँदै थियो। त्यसैले एकछिन बिसाउनलाई मात्रै भए पनि ठाउँ खोज्दै थिएँ।
सबै बिदामा बसेका र बिरामीको चाप पनि ह्वात्तै बढेकोले अरूलाई दसैँ त मलाई दशा लाए झैँ भइरहेको थियो।
एक दिनको बिदा मिलाएर घुम्न निस्किने सोच्दै थिएँ तर कहाँ भन्ने चाहिँ टुङ्गो थिएन।भर्खरै रसिलाको फेसबुक वालमा पोस्ट्याइएको पोस्टको याद आयो। फेसबुक खोलेँ, थरिथरिका फोटोसहित भेन्यु थियो- गार्डेन अफ ड्रिम।
‘प्रेमिल जोडीहरूको लागि डेटिङ स्थल जस्तै छ हेर् के जान्छेस्, एक्लै नजा बरु कुनै दिन सँगै जाउँला,’ रसिला भन्दै गई। तर मलाई भने केही कौतुहलताले मच्चायो। मैले शनिवार नै जाने भनी तय पनि गरेँ।
महिनौँ भइसकेको थियो मैले कलम कोर्नै नपाएको। त्यसैले केही लेख्ने त सोच्दै थिएँ तर के भन्ने कुरामा चाहिँ अलमलमा थिएँ।
एकैछिन पढेँ तर खासै मन नलागेपछि किताब नजिकैको स्टडी टेबलमा राखेर सुत्न तरखर गरेँ। निद्रा देवीले पनि छुनै नखोजेको बुझेपछि मोबाइलतिर हात बढाएँ। फेसबुक खोलेँ। टुङ्ग नोटिफिकेसन बज्यो- फ्रेन्ड रिक्वेस्ट। दैनिक थुप्रै आइराख्ने भएकाले भने मैले खासै चासो देखाइनँ।
मेरा आँखा भने १२ वर्षे बालिकामाथि सामूहिक बलात्कार शीर्षकमा छापिएको समाचार तिर गयो। मनमा अनेकन् प्रश्नका बज्रपात हुन थाले। एकछिन दिमागलाई बिछट्टै कष्ट दिइरहेको महसुस भएसँगै स्क्रोल गरेर हटाइदिएँ।
बुधवार ब्रह्ममुर्हतसँगै बिउँझिएँ। बिहानीको नित्यकर्म सकाएँ। बिहानीको समाचार हेर्नलाई मात्रै भए पनि अनलाइन छिरेँ। म्यासेन्जरमा ‘यु ह्याब न्यु फ्रेन्ड रिक्वेस्ट’ देखायो।
‘हाई दिपिका जी’ लेखिएको पाएँ। खासै नयाँमा ध्यान दिने त म हुँदै हैन तर खै के कुराले तान्यो मैले मेसो पाइनँ र त्यो म्यासेज खोल्न पुगेँ। म्यासेजसँगै मलाई त्यो प्रोफाइल पनि चियाउन मन लाग्यो।
फोटो, बायो र अरू कुनै औपचारिकता नपाएपछि भने मलाई फेक आइडी हो कि भान पनि भयो। तर यसो तल पुगेसँगै ऊ एक यस्तो व्यक्ति लाग्यो जसले नारी हकको लागि आवाज उठाएको थियो। उसलाई पनि सायदै लाग्दो हो पीडितले न्याय पाउनुपर्छ।
रोचक मान्दै प्रोफाइल स्क्रोल गर्न थालेँ। राजनीतिक चेत बोकेको मान्छे रहेछन्। म राजनीतिमा खासै दखल त राख्दिनँ तर क्रान्तिकारी विचारधारा बोकेका मान्छेसँग कुराकानी गर्न भने रुचाउने गर्छु। लेख्नैका लागि भए पनि नयाँ व्यक्तिसँग पातलो भेटघाट भने भई नै राख्छ। त्यसैले मलाई यति बेला सुनमा सुगन्ध थपिएको महसुस भयो। अब मलाई उसलाई साथी बनाउन कुनै कुराले पनि छेकेन।
‘दिपिका जी, बोल्नलाई पनि मूल्य पर्छ कि, जोख्नलाई तराजु ल्याऊँ?’ केही क्षणमै अल्झिएकै प्रश्न आयो।
‘हरेक कुराको मूल्य चुकाउन सक्नुहुन्छ भने पत्याएँ तपाईं धनी त पक्कै हुनुहुन्छ। तर मनको हैन मात्रै धनको, बुझ्नुभयो महासय,’ मैले पनि प्रतिउत्तर फर्काइदिएँ।
अरे लेखनीमा चाहिँ साँच्चै मन पग्लियो मेरो। उसले केही मख्याउने पारामा अलिकति भए नि मेरो तारिफ थप्दै भन्यो- ‘तपाईंसँग मिठो चिया गफको अपेक्षा राखेँ, के पूरा गरिदिनु हुन्छ?’
घुम्न जाने प्लान बनाइरहेकी मैले साथी नपाएर रोकिएकाले शुभकामना ढिलाइ किन सोचेर हुन्छ भनिदिएँ। तर कहाँ र कहिले चाहिँ म नै तय गरी भन्छु भनिदिएँ।
यसरी सिधै स्वीकारोक्ति जनाएको देखेर चकित त पक्कै परेको हुनुपर्छ। आखिर म पनि त उसको विचारबाट प्रभावित भएकी थिएँ र लेख्नैको लागि नयाँ कथा पाउने आस पनि त थियो। पछि बिदा पाउने आस पनि थिएन बरु आजै जान उपयुक्त ठानेर ‘शनिवार बिहानको ११ बजे- गार्डेन अफ ड्रिममा ल’ म्यासेज गरिदिएँ।
नयाँ कथा बटुल्न पाउँदै छु भनी उत्साहित थिएँ। साथै अलिकति निराश पनि। के भनेर बोल्ने? कस्तो होला? के बिचार जस्तै होला मान्छे पनि या…। अनि मैले उसको बारेमा राखेको धारणा के सही निस्केला? लगायत थुप्रै प्रश्नहरू घुम्न थाल्यो मनमा।
‘मलाई थोरै समय लाग्ने भयो दिपिका जी, थोरै ढिलो आउनुहोस् ल।’
मैले म्यासेज देखेँ। रिसले सनक्क पनि भएँ। मैले जाने नै तय गरेकी भएर उसको उपस्थितिसँग मलाई चासोको विषय नै थिएन। त्यसैले म आफ्नै निर्णय अनुरूप नै जाने निधो गरेँ।
कालो रङको वानपिस निकालेँ जुन मैले गिफ्ट पाएकी थिएँ। तिमीलाई बाँधेको भन्दा खुला केश उखुमै सुहाउँछ नि भनेको सम्झेँ र कपाल खुलै छोडिदिएँ। कतै निस्किँदा मलाई अतीतले तान्थ्यो किन खै! म भेउ नै पाउँदिन थिएँ र आफूलाई भड्काउन खोज्थेँ।
म निस्किएँ। गेटमा पुग्दा मलाई अतीतका दिनले अलिकति झकझकाउन खोजेता पनि म भने नडगमगाई भित्र पसेँ। चारैतिर प्रेमिल जोडीले भरिएको चउर देख्दा लाग्थ्यो यो संसारमा कोही एक्लो छ भने सायदै म मात्रै होला। मुसुक्क हाँस्दै तर म धेरै खुसी छु बोलेँ। ब्यागमा राखेको तन्ना निकालेँ र चौरमा आफ्नै चौडाइ अनुरूप बिछ्याएर बसेँ।
कालो सर्ट र फर्मल पाइन्टमा थिएँ। आँखामा पावरको चस्मा भएर होला अलिक बढी पढन्दास जस्तो देखिन्थेँ। जे होस् व्यक्तित्व झल्काएको थियो पहिरनले।
एकैछिनमा किंकर्तव्यविमूढ, अवाक्, मुर्छित यस्तै के-के भएर हेरेको हेर्यै भएँ।
‘तपाईं?’ मौनता फुकाएर आँखा तेर्साउँदै बोलेँ।
‘हजुर मै हुँ।’
‘कृपया बस्नुहोस्,’ नजिकैको खाली भाग देखाउँदै बस्न आग्रह गरेँ।
‘धन्यवाद दिपिका जी।’
‘अनि यो सबै कसरी र आखिर किन?’
‘सरी! म निस्किनुपर्छ जस्तो लाग्यो। सायद तिमीले असहज अनुभव गर्यौ।’
‘हैन हैन, तपाईंको बुझाइ गलत भयो। मैले असहज महसुस गर्नुको न अर्थ छ न त कारण नै,’ खुलस्त पारिदिएँ।
‘ए ए ठिक छ उसो भए,’ उनी थ्याच्च बस्दै बोले, ‘अनि भन दिपिका के छ तिम्रो खबर?’
उनी कति बेला तिमीमा झरिसकेछन् पत्तै भएन।
‘यतिका वर्षपछि पनि सकुशल तपाईंकै अघि बसेकी छु भने बुझ्नुहोस् म आराम छु बासु जी।’
हो, ऊ उही बासुदेव थियो जोसँग मैले मेरा स-साना पल र थुप्रै समय व्यतीत गरेकी छु। एक समय थियो जहाँ कलेजबाहेक अन्त रमाइलो नलाग्ने अनि साथीबाहेक आफन्त अरू कोही नसोचिने। सन्चो नहुँदा पनि कलेज पुग्थ्यौँ।
म, बासु, रसिला र योजन बेन्च पार्टनर थियौँ। भर्खरै एसएलसी सकाएर ११ मा प्रवेश गरेकाले पनि होला पढाइभन्दा रमाइलोतिर धेरै रुचि हुने। कहिले कसो हामी भविष्यमा के बन्ने भनेर वार्तालाप गर्दा म वकिल भन्थेँ, रसिला नर्स, योजन आइटी इन्जिनियर त बासु भने नेता बन्छु भन्थे। वकिल बन्ने मान्छे ल नपढेर किन आइएससी गर्न लागेको त भनेर गिलिली हाँस्दै उडाइदिन्थेँ।
हाम्रो मित्रता थोरै सुनाउँछु है।
एक ताल रसिला र योजनको झगडा पर्दा रसिला हप्तौँ दिन कलेज नआउँदा योजनलाई घरमै लगेर क्षमा याचन गर्न लगाई कलेज ल्याउन सफल भएका थियौँ। त्यति बेला त युद्ध जितेको आभास गरेकी थिएँ मैले। दोस्ती भने एकदमै मजबुत र उदाहरणीय नै थियो। जति नै टाढा गए पनि हाम्रो मित्रता भने कहिल्यै नटुटोस् भनी प्रतिज्ञा पनि गर्थ्यौँ।
समयसँगै हामी (म अनि बासु) प्रेम सम्बन्धमा भएको कुरा कलेजभरि बतासले धुलो उडाए झैँ छरिएछ। पहिले लुकेर बस्ने हामी अहिले खुल्लमखुल्ला प्रेम जताइदिन्थ्यौँ। लाग्थ्यो- स्वतन्त्र प्रेममा उडेका जोडी हामी नै हौँ।
११ को जाँच नजिक आउन थालेकोले कलेजले २ महिना पहिले नै बिदा दिने गरेको थियो। हामीले जाँचभरि नभेट्ने निर्णय गर्यौँ। तर मनले नै नमानेपछि भने मलाई फिजिक्स कठिन लाग्ने भएकाले घरमा कहिलेकाहीँ साथीसँग पढ्न जान्छु भनी निस्किन्थेँ। ऊ र म भएपछि पढ्न त परै छोडौँ, किताबसम्म पल्टाउँदैन थ्यौँ।
मलाई उसको अङ्गालो निकै प्रिय थियो। उनी पनि बच्चा जस्तै आफ्नो अङ्गालोमा मलाई लुटपुटाउँथे र भन्थे- ‘तिमीबिना त कल्पना पनि गर्न सकिँदैन यार।’
‘किन? अरू कोही हेरेका छौ क्या हो?’ म पनि जिस्किँदै भनिदिन्थेँ।
‘खालि मेरो भावनाको कदर त गर,’ ऊ निरासिन्थ्यो। अनि म पनि कहाँ सक्छु र!
आँखाभरि आँसु पार्थ्यौँ र फेरि कसिन्थ्यौँ एकअर्कामा। उनले मेरो माथ चुम्दा लाग्थ्यो संसारको सबैभन्दा प्रिय उही छ मेरो लागि।
प्रेम साँच्चैमा मिठो हुन्छ यदि प्रेम गर्ने मान्छे मह जस्तै भइदिए।
परीक्षा आउन थोरै दिन बाँकी थियो। पढ्न पर्छ, देखेका कयौँ सपना पूरा गर्नपर्छ भन्दै म हत्तपत्त छुटिन्थेँ।
अपरिपक्व उमेरमै लाएको निर्णय भए पनि मायामै पाएको वरदान सम्झिन्थेँ म उनलाई। र तिमीलाई पाउनु त मेरो अहोभाग्य भन्दै बेलाबेलामा उनी पनि मख्याउँथे मलाई।
परीक्षा सकियो। राम्रै गयो। ११ सकिएसँगै १२ को पढाइ सुरु भयो। सँगै बेन्चमा बस्ने अहिले चाहिँ ५ जना भएका थियौँ- अब हामीसँग प्रतिज्ञा पनि जोडिन आइपुगेकी थिइन्।
चिसो महिना सुरु भएसँगै सबैले घुम्न जाने कुरामा जोड दिन थाले। जान त जाने तर कहाँ भन्दा शिवपुरी जङ्गल सबैको रोजाइमा पर्यो। सबै सहमत पनि भए। पिकनिक मात्रै भन्दा पनि अब हामी त्यहाँ क्याम्प लिएर नै जाने भयौँ।
बिहीबार सबेरै निस्कियौँ। सबैले आ-आफ्नो व्यवस्था गरेर जाने भएकाले प्रायः सबैसँग थोरै थोरै भए पनि सामान थियो। बेलुका पुग्दा रात झमक्क परिसकेको थियो। म भने लखतरान नै परेकी थिएँ।
सबैले खाना पकाउने सुरसार गर्न थाले। मैले भने टेन्ट गाडेँ। म, रसिला, बासु अनि योजनको टेन्ट एउटा भयो। कोही गितारमा झुमे, कोही रक्सीमा, कोही दोहोरी गाउँदै नाच्न थाले तर मलाई भने जुनेली रातमा एक्लै बसिरहन एकदमै मन पर्ने भएकाले प्रकृतिसँगै रम्न पुगेँ।
यति बेला म एक्लै कहाँ थिएँ र, मसँग मेरो माया सँगै थिए। त्यसैले त्यो रात मेरो लागि भुल्नै नसकिने रात भइदियो। खुला आकाशको छत, घना जङ्गलको भित्ता, हरियो दुबोको भुईँ, चिरबिर चिरबिर चराको सङ्गीतमय रातमा उनको छातीको बिस्तरा। अहो! सम्झिँदा पनि अहिले नै बाँचिरहेको पल जस्तो लाग्छ मलाई।
हामी एक अर्कामा यसरी डुबेका थियौँ कि हामीले समय र ठाउँ पनि बिर्सिसकेका थियौँ। उनले बेलाबेलामा मेरो केश चलाउँथे र भन्थे- ‘जिन्दगीभरि सँगै कहिले हुने हामी?’
म झस्कन्थेँ र भन्थेँ- ‘पर्ख न, तिमी तिम्रो सपना पूरा गर अनि म मेरो गर्छु। त्यसपछि उपयुक्त समय हेरी घरमा कुरा राखौँला नि हुँदैन?’
उनी पनि हवस् भन्दै मन्जुरी जनाउँथे।
यसरी नै त्यो दिनको रात आँखा झिमिक्क नपारीकनै सकियो। सूर्योदयसँगै सबै बिउँझिए। हामी हत्तपत्त छुट्टिएर टेन्टमा गयौँ।
तर यो सबै प्रतिज्ञाले देखेकी रहेछिन्। मलाई पछि मात्रै थाह भयो। अनि किन उनले नजर राख्या होलिन् सोचेर अनौठो पनि लायो।
सबै चलिरहेकै थियो। १२ को नतिजा पनि प्रकाशन भयो। म प्रथम भएँ र बासु पनि राम्रै नम्बरले पास भयो। हामीले अब हाम्रो सपना पूरा गर्ने अठोटका साथ मैले बिएलएलबी र बासुले सोसल साइन्स गर्ने निधो गर्यौँ।
हाम्रो शैक्षिक यात्रा यसरी सुरु हुँदै थियो। पहिलो सेमेस्टर सकिएसँगै घरमा बिहेका कुरा आउन थाल्यो। मलाई बासुले पनि सरकारी जागिर गर्देको भए भन्ने आस पलाउन थाल्यो।
पहिलेको परिरेखामा हाम्रो भेट धेरै पातलिँदै गएको थियो। त्यसैले एक पटक भेटेर नै कुरा राख्ने बिचार गरेँ। उनले पनि हुन्छ समय मिलाउँछु भने। घुम्न नगएको पनि धेरै भएकाले ‘गार्डेन अफ ड्रिम’ जाने प्लान बनायौँ। भेटघाट पातलिए पनि प्रेम भने पहिलेको जस्तै नवीनतम र निकट नै थियो। भनिन्छ नि, आफूले माया गर्ने मान्छे जति पुरानो हुँदै गयो त्यति नै माया बढ्दै जान्छ। हो, मलाई पनि त्यस्तै भएको थियो।
ठमेलमा भेट्ने सहमति भएको थियो। सोही अनुरूप हामी त्यहीँ भेटियौँ।
‘कस्तो मिठो देखिएका तिमी, त्यही गुलाफको कोपिला जस्तै,’ मैले थोरै फुर्क्याउने तवरले भनिदिएँ। उनी आज बिछट्टै राम्रो देखिएका थिए।
‘गुलाफको कोपिला पनि मिठो हुन्छ र? तिम्रो कुरै नबुझिने के। अनि तिमी पनि कहाँ कम छ्यौ र मेरै ऐश्वर्या जस्तै।’
‘ऐश्वर्या अनि म?’ गलल्ल हाँसे।
ओठ खोल्दै उनले पनि हाँसो थपे।
हामी भित्र पस्यौँ।
हामी भित्र पस्यौँ।
थुप्रै जोडी एक आपसमा रमाइरहेका थिए। कसैले ओठ जोडेका, कसैले काँधमा टाउको अड्याएर बसेका, कसैका नयन जुधेका त कसैले हात समाएर बसेका थिए। जे होस् माहौल चाहिँ खुबै रमाइलो थियो।
‘कति आनन्द है?’
‘हो नि।’
‘दिपिका?’
‘हजुर।’
‘अब हामी बिहे गरौँ है?’ सायदै कष्ट गर्दै बोलेको हुनुपर्छ।
‘बिहे?’आश्चर्यचकित हुँदै सोधेँ।
‘हो नि।तिमीलाई थाहै छ गाउँमा आमा मात्रै हुनुहुन्छ र म एक्लो छोरा पनि। अब जिम्मेवारी बहन गर्ने बेला भएछ। आमा बिरामी परिराख्नु हुन्छ। अनि उहाँलाई अब सहाराको आवश्यक छ। यतिका वर्ष प्रेम सम्बन्धमा रह्यौँ। अब बुझ्नलाई बाँकी केही पनि छैन। भन के चाहन्छ्यौ?’
‘बिहे गर्नलाई अहिले नै सबै मिलेको छैन बासु। पढाइ पनि सकिएको छैन अनि उमेर पनि त कहाँ पुगेको छ र! ड्याडी मम्मीले मप्रति सपना साँच्नु भएको छ, करियर छ अनि आफै भन म सबै लत्त्याएर अहिले तिमीसँगै कसरी जाऊँ? जेठी छोरी हुँ, जिम्मेवारी पनि छन्। बुझेर पर्खिदेऊ न है अलि वर्ष। बरु आमालाई यतै ल्याएर राख न त सजिलो हुन्छ।’
‘हैन, अब तिमीले निर्णय लिनै पर्छ। भन तिमी बिहे गर्छ्यौ कि नाइँ?’ उनी ढिपी कस्दै थिए। खै किन मैले मेसो पाइनँ।
वाक्क मान्दै मैले पनि भनिदिएँ- ‘छोडिदेऊ यो खोक्रो राजनीति। लोक सेवाको तयारी गर, सरकारी जागिर गर। घरमा पनि सरकारी जागिरे ज्वाइँ चाहियो रे।’
जोडले समातेको हात एक्कासि छुटाउँदै उनी बोले- ‘के रे? तिमीलाई त राजनीति मन पर्थ्यो हैन?’
‘पर्थ्यो, त्यो भूत थियो तर अहिले पर्दैन, यो वर्तमान छ। बुझ्छौ नि वर्तमान र भूतको फरक?’ मैले पनि अलि सिधै तरिकाले बोलेँ, ‘छोड यो सब। सामान्य जिन्दगी जिउँला।’
‘ठिक छ त। मैले बुझेँ तिम्रो राय। सुन तिमी पनि, बरु म तिमीलाई छोड्न तयार छु तर राजनीति छोड्दिनँ,’ उनी बोले।
‘के रे?’ म झस्किएँ।
‘हो, जे तिमीले सुन्यौ।’
मेरो काखमा पल्टिरहेको मान्छे जुरुक्क उठेर जाऊँ पनि नभनी निस्किए।
एकछिन हेरेको हेरै भएँ।
यो हाम्रो अन्तिम भेट थियो। महिनौँसम्म पनि फोन अफ भएपछि मैले उनका सबै साथीसम्म पुग्ने निधो गरेँ तर पनि म उनलाई भेट्न असफल नै रहेँ। उनी यसरी अलप भएका थिए कि मैले अब हामी पुनः भेटिन्छौँ भन्ने आस नै मारिसकेकी थिएँ।
आज फेरि उही स्वरूपमा म समक्ष आइपुगेका थिए। म किंकर्तव्यविमूढ नै थिएँ।
‘कफी पिउने कि चिया?’
आज ४ वर्षपछि उनी पुरानै स्वाद सोध्न आइपुगेका थिए।
‘मान्छे फेरिएकी छैन नि, मलाई पुरानै स्वाद मन पर्छ।’
‘ए हवस्।’
‘वर्षौँपछि कफी खाएको जस्तो लायो,’ उनले भने।
केवल चिया पिउँदै गरेको आवाज बाहेक अरू केही थिएन।
मैले पुरानो सबै बिर्सिएँ। उनले मलाई रित्तिएको थोत्रो भाँडो जस्तै जो बनाएका थिए। म लथालिङ्ग भताभुङ्ग भइसकेपछि यत्तिको बनेकी थिएँ।
आँखाका आँसु आँखामा दबाउँदै बोलेँ- ‘डाक्टर बन्नुपर्ने मान्छे अनि कसरी राजनीतिमा?’
‘तपाईं पत्रकार बन्नुपर्ने मान्छे किन नर्स?’
‘किन?’
‘आउँदै प्रश्नको वर्षात् गराउनु भयो त।’
‘ए ए।’
‘अनि दिपिका धन्यवाद, आज यसरी समय छुट्टाइदिनु भएकोमा।’
‘साँच्चै भन्नुपर्दा मलाई तपाईंको फेसबुकमा लेखिएका बिचारहरूले यो समय मिलाउनलाई तानेका हुन्। मलाई भन्दा कृतज्ञता फेसबुकलाई प्रकट गर्नुहोस्।’
‘कुरा गर्न कसैले तपाईंबाट सिकोस्। अनि कस्तो चल्दै छ तपाईंको दैनिकी?’
मेरो व्यक्तिगत जिन्दगी केलाउने कोसिसमा थिएँ तर खुल्न मैले चाहिनँ।
‘दैनिकीलाई दिनहरूमै धकेल्दै छु। बरु भन्नुहोस् हजुरको बासुदेव जी।’
‘पहिले झैँ मायाले बासु भन न। क्यान यु कल मि ओन्ली बासु प्लिज?’
‘हाउ आइ क्यान? मेरो बासु मेरो रहेन अब।’
मैले तयार गरेका प्रश्नहरू व्यर्थै गए। यहाँ माहौल नै अर्कै बनिदियो।
‘तिमी ल पढ्दै थियौ हैन?’
‘बासुले मलाई छोडेपछि मैले संसार त्याग्न खोजेँ तर नसकिँदो रहेछ। केही वर्ष पढाइ छोडेँ र यता आएँ। निभ्दै गरेको दियोमा तेल थप्दै बलेझैँ बलिरहेकी छु। बरु सुनाउनुहोस् तपाईंको के छ?’
‘मैले पनि तत्पश्चात् गाउँ रोजेँ र उतै फर्किएँ। आमाकै रहरमा बिहे पनि गरेँ। म एक्कासि बिरामी भएँ र पूरै २ वर्ष अस्पताल बसेँ। प्रतिज्ञाले पनि छोडेर गइन्। म त एक्लो पो भएँ अनि हेर न तिम्रो यादले बाँच्न पनि दिएन। फलस्वरूप तिमीलाई खोज्दै यहीँ आइपुगेँ।’
‘प्रतिज्ञा?’
‘हो, उनै। हामी छिमेकी हौँ। उनी मलाई एकोहोरो चाहँदी रहेछिन्। म सहरदेखि गाउँ गएपछि उनकै सहमतिमै बिहे भयो। तर त्यो सबै रिसमै थियो दिपु।’
‘अनि?’
‘मलाई बोन क्यान्सर भएको थाहा पाएपछि उनी माइत गइन् र अर्को बिहे पनि गरिछिन्। आमाले पनि संसार त्यागेर जानु भयो। तिम्रो यादले तानिँदै सहर पसेँ र अहिले तिम्रै सामु छु।’
‘तिमीले किन छोडेर गयौ? यति हुँदा पनि किन भनेनौ?’ विगत सबै बिर्सिदिएर म रुँदै ऊसँग अङ्गालिन पुगेँ।
उनी झन् जोडले छातीमा मलाई टाँस्दै रुन थाले। वर्षौँ पहिले छुटेका दुई आत्माको मिलन भएको थियो।
‘मलाई किन खबर गरेनौ? म तिम्रो कोही हैन र बासु?’
‘भन्थेँ कसरी? म त तिम्रो अपराधी पो हुँ। म साँचो प्रेमको हत्यारा हुँ। पापी हुँ दिपिका।’
ऊ आफैमा धिक्कारिन थाल्यो।
‘हो, मैले तिम्रो वियोगमा आफूलाई निकै तहसनहस नै पारेँ बासु। कति पटक त ज्यान पनि त्याग्न खोजेँ तर परिवारको मायाले मलाई त्यो गलत निर्णय लिनबाट रोक्यो। तर तिमी फर्कियौ। म यसैमा खुसी छु।’
अङ्गालोबाट छुट्दै बोलेँ- ‘अनि उपचार के भइरहेको छ तिम्रो?’
‘हिजो भर्खरै केमो चढाएर आएको, भरतपुर क्यान्सर अस्पतालबाट। अब अर्को महिना बोलाएको छ।’
‘अनि पैसा?’
‘आमा नभएपछि यो सम्पत्तिको के काम! मैले घर जग्गा सबै बेचिदिएँ दिपु। अब अलिअलि बचेको छ, त्यो सकिने बेलासम्म म पनि सकिउँला नि।’
‘चुप! म छु नि तिम्रो लागि,’ म फेरि रुन थालेछु।
‘दिपिका, के हामी फेरि एक हुन सक्दैनौँ?’ मेरा गालासम्म बगेका आँसु पुछ्दै उनी बोले।
‘के तिमी मलाई माफ गर्छ्यौ? मेरो सकिसकेको जिन्दगीको सहारा बन्छ्यौ? मलाई अब अन्तिम सास तिम्रै काखमा छोड्न मन छ प्लिज। नाइँ नभनिइदेऊ। मलाई तिम्रो मायाको खाँचो छ,’ ऊ हात जोड्न थाल्यो।
जुन मायालाई उसले यही ठाउँमा लत्त्याएर गएको थियो, त्यही मायाको लागि उ आज फेरि यहीँ ठाउँमा भिक माग्दै थियो।
‘ठिक छ, म तिमीलाई भोलीसम्ममा भन्छु,’ उसको जोडिएको हात छुट्टाउँदै म बोलेँ, ‘हिँड जाऊँ आजलाई।’
म निस्किएँ।
‘मायामा सबै जायज हुन्छ भन्छन्। के मेरो यो मायामा अब सिन्दूर जायज छ त?’ म आफैसँग यसको उत्तर थिएन, केवल प्रश्न सिवाय। हिँडिरहेँ हिँडिरहेँ।
अर्को दिन।
‘बहिनी कहाँ झर्ने?’
‘भरतपुर क्यान्सर अस्पताल दाइ।’
‘अनि यो सिन्दूर त नानी?’ बगलमा सँगै बसिरहेकी आमा बोल्नुभयो, ‘किन हातमै च्यापेर राखेकी?’
‘मृत्युसँग लडाइँमा रहेका मेरा प्रेमी यसैको पर्खाइमा छन्, आज म यो खाली सिउँदो उनैको हातले रङ्गाउन जाँदै छु।’
‘सुन्नुहोस् त दाइ बरु छिटो जाऊँ। उनीसँग समय निकै कम छ।’
बस त जोडले हुइँकियो तर के अब मृत्युले एक प्रेमिकालाई पर्खिएला? म अत्तालिएँ।