कोही सुन्न तयार छ भने म सुनाउँछु
च्यातिएका पानाहरूमा फाटेको मनले सिलाएको शब्दहरू
जसोतसो खाली पानामा केरमेट गर्दै
औँलाका टुप्पाहरूले सुनाएको कथाहरू
भरिएको मन कतै पोखिन नपाउँदा
कलमको मसीसँगै ओकल्नु परेको बेथाहरू।
अब भन तिमी के के सुन्छौ?
तिमी अचम्मित र अप्रत्याशित नहुनु
किनकि मसँग तिमीलाई सुनाउन मिठा मायाका शब्दहरू नहोलान्
तर भ्रमित समय र भ्रमित सोचाइका काल्पनिक चित्रणहरू छन्
भ्रम नै सही मोह र मायाको रोजाइका रमाइला क्षणहरू छन्।
तिमी मलाई कवि पनि नसम्झिनु
कवितालाई त मैले राम्रोसँग चिनेको पनि छैन
छन्द, अलङ्कार, लयलाई कतै किनेको पनि छैन
म त केवल टुटेका फुटेका शब्दहरूका पङ्क्ति जोडेर जुटाउँछु
तिमी सुन्छौ भनी मनको चित्तमा लुकेका भावनाहरू फोरेर सुनाउँछु।
सोच्ने गर्छु
विरक्त लाग्दो कहानीबाट सधैँ बिरक्तिएका शब्दहरू लेख्ने विरक्तमै डुबेको
कलमले किन कहिल्यै मिठासका अक्षरहरू कोर्ने मसी छाद्न सकेनन्?
पिठोलाई जहाँ लगेर जति नै पिसे पनि पिठोको रूप त फेरिने छैन नि
तर म पिठो नहुँदा पनि बारम्बार खयालको जाँतोमा पिसिएर निस्किँदा पनि
किन पिठोझैँ रहिरहन्छु?
हेर त
समयको बदलावसँगै ममा आउनुपर्ने बदलावहरूले
मसँग कुन्नि कुन कुराको बदला लिँदै छन्?
थाहा छ, केही झूटा प्रेमहरू पछि काँडा सरी बिझ्नेछन्
तर प्रेमका राता गुलाफ देख्ने नजरले कसरी
च्वास्सै बिझ्ने काँडाहरू देख्न सकेनन्?
यी कदमहरूलाई पनि थाहा छ कि अगाडिका बाटोहरू निकै कठिन छन्
तर
कठिन यात्रामा कोही साथी पर्खिएका कदमहरूले किन
पर्खाइमै टाढाबाट आउँदै गरेको एक्लोपनलाई चिन्न सकेनन्?
मलाई थाहा छ समय परिवर्तनशील छ
यहाँ आजले हिजो त बिर्सन्छन् भनेर तर
परिवर्तित समयले किन विगतलाई
पल पलमा परावर्तन गराई याद दिलाइरहन्छन्?
यो पनि थाहा छ अब बितेको समय फर्किने छैन तर
झिनो आशा किन कतै फर्किरहन्छन्?
थाहा छ अब अगाडि बढ्नु नै छ तर
पाइलाहरू किन अझै अल्झिरहन्छन्?
यो मस्तिष्कलाई मात्र थाहा हुनु पनि बेकार नै रहिछ
मन त अझै पनि केही थाहा नपाए झैँ अथाह कल्पनामै झुलिरहन्छ।
आखिर मन नै त हो
तिमीलाई झर्को त लागेको छैन नि है?
सुनाउन त मसँग अझै हजारौँ हजार बहानाहरू छन्
अनेकन् चाहनाहरू छन्
तिमी फेरि पनि फुर्सद मिलाएर आउनु है
समयले त मलाई यति फुर्सद दिएको छ कि
फुर्सदलाई पनि मेरो फुर्सदको कुनै हिसाब छैन
मसँग त समय नै समय छन्
तिमी सुन्छौ भनी म समयले बदलिएका
समयका कथाहरू सुनाउँछु।