भदौरे जोत्दा जोत्दै
हतार हतार
फलेताको रुखमुनि फालेका
ठेट्ना जस्तै बेवारिसे भए
मैले देखेका सपना पनि
ती ठेट्ना आमाले
बर्खामा आगो सल्काउन
हिउँदमा थारोमा राख्न
नसक्दा कुहिएर गए
अनि मेरा सपना
आफूले देखेको बाटो बिराएर
लहै लहैमा लागेर गए।
ठेट्ना कुहिँदा
आमाको फोक्सो कुहिए
सपना तुहिँदा मेरो सपना
तर
ठेट्ना कुहिए पनि
सपना तुहिए पनि
घरको पैलेटो भैँसी
तुहिए पनि
तुहिए आमाका आशा र
दुखी भइरहिन् आमा
साँची के आमा
आकाश जस्तै विशाल छिन्?
चिन्ता गरिरहन्छिन् अरूको मात्रै
आफू सकेर
अरूलाई राम्रो सोच्ने
आमाबाहेक को होला?
म नाथे
हिँड्दा हिँड्दै
पाइला बिराएको न हो
दलाललाई दैलामुनिको
पाटो बुझाएको न हो
अमेरिका लग्छु भनेर
अलपत्र पारे पनि
पानामा र घानाको
घना जंगलमा जङ्गिएर
जंगी लेटेराले लेटे पनि
लुट्न सकेन
आमाको आशा अनि आशीर्वाद
र त फर्किएँ
श्वासैसित स्वदेश
हो'मा हो मिलाउँदै
आफ्नैले ठग्छन् भन्ने के थाहा
सधैँ आमा हेरेर
बढेको म
पढेको म
आमा जस्तै मानेँ अरूलाई पनि
विश्वास गरिरहेँ
गहिराइमा नडुब्दासम्म
र
सम्झिएँ आमाले
अगेनाको डिलमा
ढलपल ढलपल आँखामा
आँसु झार्दै सम्झाएको-
छोरा
हडबडीमा गडबडी गर्लास्
सतर्क हुनु
निडर हुनु
जिउँदो हुनु
बगेको पानीमा मरेकोमा
ओरालो बग्छ
उकालो बग्न त
जिउँदो हुनुपर्छ
तँ त जिउँदो माछा पो हो त
सधैँ अगि बढ्नु
सधैँ अगि बढ्नु
सधैँ अगि बढ्नु
त्यही,
आमाको आशीर्वाद
मलाई जिउँदो हुन
अगि बढ्न सगाइरहेछ।