नेताजीको निवास अगाडिको पार्किङमा दुइवटा चिल्ला गाडी थिए।
कालो वर्णका दुई युवक तिनकै स्याहार सुसारमा लागि परेका थिए। अर्को कुनामा लस्करै मिलाएर राखिएका मोटरसाइकलहरू थिए। नेताजी बिहानैदेखि भेटघाटमा व्यस्त थिए। पालो कुरेर बस्ने कार्यकर्ताहरू बाहिर गफ हाँकिरहेका थिए।
कोही पार्टी सुदृढीकरणका कुरा गर्दै थिए भने कोही अब नेताजीको प्रधानमन्त्री बन्ने पालो आयो भन्दै थिए।
कागको भीडमा बकुल्लो भनेकै सफा लुगा र हँसिलो मुहार हुनेहरूको भीडमा एक जना मैलो र पुरानो कपडा लगाएको मानिस घुस्न आइपुग्यो। ऊ अरू भन्दा बिल्कुल फरक देखिन्थ्यो। होचो कद, च्यातिएको गोल्डस्टार जुत्ता, मैलो र पुरानो ढाकाटोपी लगाएको त्यो मानिस बहुत अधैर्य देखिन्थ्यो। उसको कपडालाई अनुहारले पनि साथ दिइरहेको थियो।
उसको शरीरको हाउभाउ बडो अचम्मको थियो। घरी ऊ आकाशतिर हेर्थ्यो अनि घरि जमिनतिर। कहिले गेट बाहिर जान्थ्यो अनि फेरि गफिएका कार्यकर्ताको भीडमा हराउँथ्यो। कहिले मोबाइल खेलाउथ्यो अनि केही सोचेझै गरि व्याकुल हुन्थ्यो। भीडमा समाहित हुन खोजे जस्तो गर्थ्यो तर उसको हाउभाउ र बनावटी हाँसोले उसलाई साथ दिइरहेको थिएन। एक प्रकारको छटपटी सहजै देखिन्थ्यो। उसको धैर्यताको बाँध फुट्नै आटेको थियो। गेटपालेले उसलाई आउने इशारा गर्यो।
तपाईंको नाम?
कृष्ण …….कृष्ण परियार
घर?
नेताजीकै तिर
पख्नोस, म सोधेर आउँछु।
गेटपाले फर्कियो। हातले भित्र जान इशारा गर्यो। लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेको व्यक्तिको जस्तो जोश देखियो उसमा। बडो उत्साहका साथ ऊ लम्किँदै भित्र गयो। नेताजी खुट्टा फालेर बसेका थिए। बडेमानको सोफा, बीचमा सिसाको टेबल, कोठाको हरेक कुनामा ठूलाठूला पात भएका कृत्रिम फूलका बोटहरू, भित्तामा देश विदेशका विभिन्न ठाउँका तस्बिर अनि नेताजी बसिरहेका सोफा पछाडि उनकै उचाइँको तस्बिर, यी यावत चिजहरू कृष्णले आफ्नो जिन्दगीमा पहिलोचोटि देख्दै थियो।
कृष्णलाई देख्नासाथ नेताजी मुस्कुराए। कृष्णले नेताजीको पाउ समात्यो।
अरे, कृष्ण, यो के गरेको तैले? कताबाट मलाई भेट्न आइस्?
नेताजी... ऊ केही भन्न खोज्दै थियो, उसको गला अबरूद्ध भयो। ऊ अगाडि बढ्नै सकेन।
भन्न, के भो... नेताजीको मुहारमा सहानुभुति झल्कियो।
के भन्ने हजुर, अस्तिको बाढीपहिरोमा छोरा गयो, घर गयो। पढेर ठूलो मान्छे बन्छु भन्थ्यो। जहानले पनि दुइटै खुट्टा भाची। टाउको र छातीमा पनि चोट छ रे। दशा पनि हामी गरिवलाई नै लाग्दो रछ। जहानलाई लिएर काठमाडौं आएको अस्पतालमा भर्ति गराछु।
ओहो! साँचै नराम्रो भो त, क्षतिपूर्ति पाएनौं?
‘अलिकति अन्न र कपडा पाथ्यौं, त्यति मात्रै। अब उपचार पो कसरी गर्ने? हाम्रो नेता भनेनी बाउ भनेनी हजुरनै हो।’
कृष्णका आखाँबाट आशु झर्न थाले।
ल यसो गर, अहिले जा। पर्सी मलाई भेट्न आइजा। त्यतिखेरै म केहि गरूला।
यत्तिकैमा एक हुल कार्यकर्ता भित्र छिरे। ऊ त्यहाँबाट निस्क्यो। नेताजीको निवासको गेट पार गरिसकेपछि ऊ चंगा भयो। १६ वर्षे युवकको जस्तो फूर्ति आयो, उत्साहित भयो। कल्पनामा उसले श्रीमतीसँग गाउँ फर्कँदै गरेको दृश्य देख्यो। मनमनै गम्यो, ‘हाम्रा नेता कहाँ त्यसै नेता भएका हुन् र कति मान्छे हुन्छन् उनलाई भेट्न आउने। सबैको समस्या सुन्छन्।’
आफूले भोट दिएर जिताएकोमा गर्व लाग्यो उसलाई। बाटोमा मन्दिर देख्यो। जुत्ता खोलेर मूर्तिलाई ढोग्यो। त्रिशुल लिएर उभिएका शिवजीको मूर्तिमा उसले नेताजीको मुहार प्रतिबिम्बित भएको देख्यो। ऊ सरासर अस्पताल पुग्यो।
‘कता हराउनुभाको?’ श्रीमतीको दबिएको स्वर सुन्यो।
नेताजीको घर गाथे।
के कुरा गर्नुभो?
मैले सबै समस्या सुनाए। पर्सीलाई बोलाउनु भाछ। त चिन्ता नलि सुन्तली। हाम्रो नेताजी हुनुन्छ नि।
कृष्ण धैर्य देखियो। नेताजीको आश्वासनमा ऊ निश्चिन्त थियो। सब चिज चाँडै ठीक हुन्छ भन्ने विश्वासले उसको मन भरिएको थियो। यतिकैमा नर्स आइपुगी।
पैसा ठिक पार्नुभो?
पर्सी...
अझै भएको छैन?
हाम्रो नेताजीले पर्सी भन्नु भएको छ। त्यतिन्जेल हेरिदिनु पर्यो हजुर।
ल, पर्सी एकलाख पचास हजार डिपोजिट गर्नु, नत्र हामी केही गर्न सक्दैनौं।
‘हुन्छ’ बडो आत्मविश्वासका साथ उसले जवाफ दियो।
उसलाई यो विश्वास नेताजीको बचनबाट मिलेको थियो। ऊ निश्चिन्त थियो, नेताजीको आश्वासनमा। राति उसको मनमा अनेकन विचारहरू रंगमगिन थाले। एक्कासि उसको दिमागमा एउटा पुरानो घटना ठोक्किन आइपुग्यो।
एकरात उसले बन्दुक पड्केको आवाज सुनेको थियो। बचाउ बचाउ भन्दै कोही कराएको। त्यो आवाज अझ चर्कोचर्को हुँदै उसको घरतिर नै आइरहेको थियो।
ओछ्यान मुनिबाट खुकुरी झिकेर उसले ढोका खोल्यो। आँगनमा भाग्दै आएको एउटा व्यक्तिलाई देख्यो। अँध्यारोमा उसले त्यो मान्छेलाई च्याप्प समात्यो र घरभित्र हुत्यायो। हत्त न पत्त ढोका बन्द गर्यो। टुकीको मधुर प्रकाशमा पनि उसले त्यो व्यक्तिलाई चिन्यो।
‘नेताजी तपाई’
‘अँ…म… मलाई माओवादीले लखेटेका छन्। मलाई बचा कृष्णे।’
उसले नेताजीलाई पछाडिको ढोकाबाट बाहिर निकाल्यो। घर तल सानो खोला थियो। त्यो खोला हुदै उसले जंगलको बाटो लिएर गयो। चार घण्टाको पैदलपछि उनीहरू सदरमुकाम पुगे।
‘कृष्णे म तेरो गुण जिन्दगीभर बिर्सने छैन। तैले मलाई मृत्युको मुखबाट बचाइस्। यो जुनिमा शायद म तेरो गुण तिर्न नसकुला,’ नेताले कृष्णलाई भनेका थिए। अँगालो हालेर रोए नेताजी। कृष्णको आखाँमा आँशु टिलपिलायो। प्रहरी कार्यालयमा नेताजीलाई छोडेर ऊ घर फर्किएको थियो। द्धन्द्धकालको त्यो घटनाले कृष्णलाई अझ बलियो बनायो।
भोलिपल्ट उसको दिन अस्पतालमा यताउति गर्दै बित्यो। सुन्तलीको मुहारमा चमक घट्दै गइरहेको थियो। तर चाँडै नै सबैकुरा ठीक हुन्छ भन्ने विश्वासले कृष्णलाई अझ बढी बलियो बनाउदै लगेको थियो।
अर्को दिन ऊ पुनः नेताजीको निवासतिर लम्कियो।
ऊसँग गाडीमा जाने पैसा थिएन। जे थियो, त्यो सब उसले औषधिमा खर्च गरिसकेको थियो। तर आजको हिँडाइ उसका लागी सटिक र हल्का थियो। पसिना चुहाउँदै दिनभर खेतीबारी गरेको थियो। धेरै उकाली ओराली गरेको थियो। पसिना चुहाउँदै दिनभर खेतीवारी गरेको थियो। आजको हिँडाइ यस अर्थले पनि हल्का थियो कि, उसले नेताजीलाई भेट्न जाँदै थियो। उसको जिन्दगीमा चाडै नै खुसियाली फर्कने आशा थियो।
अचानक कृष्णको कल्पनामा सुन्तली आई। कृष्ण बारी जोतिरहेको थियो। खाजा बोकेर सुन्तली आई। कृष्णले एकतमासले सुन्तलीलाई हेरिरह्यो।
किन यसरी एकोहोरो हेर्नुभएको? सुन्तली बोली।
त आज निक्कै राम्री देखिएकी छेस् लाटी, यति सुन्नसाथ सुन्तली मरिमरि हाँसी।
कसैले उसलाई रोक्यो। एक्कासि कृष्णको कल्पना भंग भयो।
कता, कता…?
म नेताजीलाई भेट्न आको।
आज मिल्दैन, भोलि आउनु।
नेताजीले आजै आउनु भन्नुभाथ्यो।
आज विदेशी पाहुना आछन्, गोप्य बैठक चल्दैछ ,भोलि आउनु।
म कुरौला।
कतिबेर?
बैठकपछि रात्रिभोज छ।
ऊ गम्भिर भयो। उसको आत्मविश्वासले उसलाई नै गिज्याएझैं लाग्यो। ऊ अलिकति दृढ भयो। अँह नेताजीले मलाई यस्तो गर्न सक्नुहुन्न।
सुन्नुस् गेटपालेलाई पुकार्यो ‘कृष्ण परियार आछ भनिदिनुन।’
उहाँले बिहानै मलाई कोही आए पनि नभेट्ने भन्नु माछ। भोलि आउनु।
गेटपाले निर्दयी लाग्यो उसलाई, अर्को कोणबाट हेर्यो… उसको पनि के गल्ती, जे आदेश पायो त्यहि गर्यो।
भारी मन लिएर ऊ हिड्यो। नर्सको बोली पुनः उसको कानमा आएर गुञ्जियो ‘आज भन्नु भा हैन लिएर जानु तपाईकी श्रीमतीलाई हामीले फ्रिमा उपचार त गर्न सक्दैनौ नि पछि तलमाथि पर्यो भने?’ यसभन्दा अगाडि उसले सुन्न चाहेन न कि सम्झन पनि उसलाइ बहुत नरमाइलो लाग्यो। आफ्नो सिद्धान्त, आर्दश र आत्मसम्मान, यी सबै उसलाई बोझ भइरहेको थियो।
त्यो रात ऊ निदाउनै सकेन।
‘नेताजीले किन यसो गरे मलाई? बरू यो घटना मै माथि घटेको भए हुने।’
ऊ अधैर्य भयो। उसले निदाएकी श्रीमतीलाई गौर गर्यो। ऊ शान्त थिई, निद्रामा मनमनै गम्यो, ‘सुन्तली तैले म जस्तो गरिबसँग बिहे गरेर दुख पाइस।’
सुन्तलीले उसलाई बहुत माया गर्थ्यो, त्यस्तै आदर र सम्मान। उसलाई आफू लाचार भएको महशुस भो।
सुन्तलीको कुरा सम्झ्यो, ‘अब म बाँच्दिन होला हजुर, मुटु फुट्ला जस्तो भएर आउँछ, सपना पनि नराम्रो देखेकी थिएँ।’
हुन पनि सुन्तलीको मुहारमा रस छैन। उ बेहोस र बेरङ्ग भएकी छे। उसले सुन्तलीको टाउकोमा हात लग्यो। अनायासै कमजोर भयो, आँखाबाट आँशु बग्यो। उसलाई लाग्यो, सुन्तलीले देखेकी भए भन्नेथी तपाईं किन रूनु भाको?
यति बहादुर मान्छे पनि यति कमजोर हुन्छन्।
सुन्तलीको अप्रेशन हुन पाएकै थिएन। कृष्णलाई कतै श्रीमतीलाई बचाउन पाउँदिन कि भन्ने चिन्ताले भित्रभित्रै खान थाल्यो।
बाँकी आशा लिएर अर्कोदिन ऊ नेताजीको घर पुग्यो। उसलाई देख्नासाथ गेटपालेले भन्यो, ‘नेताजी त भारत जानु भा छ। उसको धैर्यताको बाँध फुट्यो। नेताजीप्रति क्रोध जागेर आयो। तर ऊ गर्न नै के सक्थ्यो र। च्यातिएको गोल्डस्टार जुत्ता घिसार्दै ऊ अस्पताल फर्क्यो।’
ऊ भित्र पुग्दा सुन्तलीको वार्ड नेर मान्छेको हुल थियो। उसले सुन्तलीलाई हेर्न सकेन, बोलाउन सकेन। सुन्तली ऊबाट सदाको लागी टाढा भइसकेकी थिई।
कृष्णका आखाँबाट दृश्यहरू धुमिल हुन थाले। आवाजहरू कतै नेपथ्यमा हराउन थाले। पिठ्युले भित्तामा अडेस लिएर लतारिँदै ऊ भुइमा थचक्क बस्यो। कसैले उसको काधमा हल्कासँग हात राख्यो, ‘जे भयो भयो अब सम्हालिनुस्’ त्यो आश्वासन सुन्नुभन्दा पहिले कृष्ण भुइँमा पछारियो।
ऊ लामो सयमदेखि राम्रोसँग निदाएको थिएन। ऊ गहिरो निन्द्रामा गयो। शायद उसलाई अरू आश्वासन सुन्नुमा दिलचस्पी थिएन।