मृत्युलाई कुल्चँदै
आगो चपाएर
नदीलाई गम्लङ्ग अँगालो हाली
आकाशसँग विद्रोह गर्दै
जीवनको पर्दाफास गर्नलाई
जीवनकै पीडादायी गीत गाएर
म अर्कै जीवनको खोजी गरिरहेछु
मलाई नरोक
मलाई जान देऊ गन्तव्य भेट्नलाई।
सपनाहरू बिथोलिन्छन्
लाटोकोसेरो रोएपछि
म मध्यरातमै रोएको छु
सपनाहरू खोसिएपछि।
मनमायाहरू पनि त रोइरहेछन्
छोराछोरी हराएपछि
दलबहादुरहरूको होस ठेगानमा छैन
आफ्नै जहान बितेपछि।
समय क्रूर बनेर आएको छ
अबोध नानीहरूको हाँसो खोस्दै
नानीहरूलाई के थाहा?
बा-आमाका पीडाहरू
उनीहरूलाई झगडा गरिदिए पुग्छ
तिनीहरूकै सपना पूरा गर्न
कैयन चोटि बा, आमाहरू मर्दै बाँच्दै गर्नुपर्छ।
मृत्युको खबर बोकेर आएको अखबार पढ्दै
बिछोडको पीडाले चिच्याइरहेका मान्छेहरू
तरबारको धारमा पाइताला राखेर
यात्रामा निस्किएका छन् एक हुल यात्री जस्तो
यात्रामा रुमल्लिँदै।
पति गुमाएका विधवा महिलाहरू
अन्योलग्रस्त जीवन यात्रा सम्झेर
विरहका गीत गाउन विवश छन्
पाठशाला जान नपाएर बालबालिकाहरू
गोठालो गरी बस्न बाध्य छन्
डन्डीबियो खेली रमाइरहेका तिनीहरू
आफ्नो भविष्य अन्धकार हुने कुरा थाहै नपाई
हाँसखेल गरेर दिनहरू गुजारी रहेछन्।
मलाई समयले हिर्काएर गएको छ
म क्षत विक्षत भएको छु
मलाई युद्ध हार्यो भन्ठान्नु
म युद्ध भूमिमा जीवन खोजिरहेकै छु
युद्ध दर्दनाक र पीडादायी हुँदो रहेछ
म भावविह्वल बनेको छु
युद्धमा आफन्तहरू गुमाएपछि।
बा, आमाहरू सन्तानको दुःख सम्झेर रोइरहनु भएको छ
बा, आमाका आँसु पुछ्न सकिएको छैन
पानी मरुवा जस्तो भएर कति दिन बाँच्ने?
बा, आमाको आशीर्वाद थाप्नलाई पनि
बा, आमाको मुहार हँसाउनु पर्ने
स्वास्नी, छोरा, छोरीलाई नाखुस राख्न भएन
परिवार खुसी नभए
आफू हाँस्नुको पनि के तुक हुन्छ र?
जिजीविषा सुमसुम्याउँदै
म बाँच्न चाहन्छु
अजम्मरी फूल जस्तो अजम्मरी भएर
मृत्युलाई लघार्दै।