कुनै कुनै दिन त एउटा मान्छेको शब्द पनि जिन्दगीभरिको अनौठो स्मरण बन्दो रहेछ। २०६९ साल असार महिनाको एक बिहान, सम्पूर्ण नित्यकर्म सकेर पसलको सटर उठाएँ। केही समयमा एक जना अन्दाजी ६५/६६ वर्षीय लोग्नेमान्छे भित्र छिरेर होटेलको कुर्सीमा बस्नुभयो।
'बाबु, के यहाँ चिया नास्ता पाउँछ?’
‘पाउँछ अंकल, हजुर के खाने?’
त्यस लगत्तै उहाँले सामान्य नास्ता-पानी गरिसकेपछि मलाई नजिकै बोलाउनु भयो र सोध्नु भयो, ‘बाबु, तिम्रो घर कहाँ पर्यो? पहाड घर कहाँ हो? तिमी कसका छोरा हौ?’
मेरो बारेमा धेरैभन्दा धेरै प्रश्न सोधेर सकेपछि मैले केही कुरो सोध्न नपाउँदै आफ्नो बारेमा र आफ्ना सन्ततिको बारेमा एकदमै धेरै खुसीका साथ वर्णन गर्न थाल्नुभयो।
‘मेरा त बाबु जेठो छोरो-बुहारी, दुइटा नातिनी, एउटा नाति क्यानडा छन्। माइला छोराको परिवार सबै अस्ट्रेलिया छन्। छोरीलाई पनि अमेरिकावाला ज्वाइँसँग विवाह गरिदिएँ। उनका तर्फबाट पनि सबै नातिनातिना उतै छन्। कान्छी छोरीको पनि अब लगत्तै अस्ट्रेलियावाला बाबुसँग विवाह गर्दिँदै छु। अनि काठमाडौँमा घर छ। त्यहाँ भाडामा लगाएको छु। पोखरामा पनि घर छ, एउटा भाडामा लगाएको छ। अब मेरो बूढाबूढीलाई जति नै मस्ती गरे पनि पुग्छ। सन्तान सबै विदेश छन्।’
लामो आफ्नै प्रसङ्ग जोडिरहेका ती अङ्कल एक्कासि प्रसङ्ग मोडेर मतिर फर्किन्छन् र मलाई सोध्छन्, ‘अनि बाबु, तिमी सिधै यो काम सुरु गऱ्यौ कि बाहिर कतै गएर आएका हौ?’
‘अंकल, म करिब आठ वर्ष जति बाहिर बसेर आएको,’ मैले भनेँ।
‘के बाहिरै सेटल हुने खुबी पुगेन बाबु?’
‘नाइँ अंकल।’
उहाँका यस्तै-यस्तै प्रश्नको सहज तरिकाले उत्तर दिँदै कुनै कुरामा प्रतिवाद नगरी त्यस दिन उहाँबाट टाढा हुने मात्र कोसिस गरेँ। तर मलाई उहाँको एउटा शब्दले बारम्बार पिरोलिरह्यो। त्यो कुरा कसैसँग सेयर गर्न पनि उचित ठानिनँ।
समय बित्दै गयो। त्यहाँ आउँदा मेरो नाम नै सोधेर ‘त्यो बाबु कहाँ छ?’ भनेर सोधीखोजी गर्ने मान्छे मैले नजिक नै भए पनि सकभर तर्किने गर्थेँ। ठ्याक्कै कुनै संयोगवश अघि परेको खण्डमा राम्रै तरिकाले गफगाफ गरेको अनुभूति उनलाई गराउँथे तर मेरो मनमा उनको एउटै शब्द वर्षौँ वर्ष किलो बनेर बसिरहेकोले सकभर तर्किने कोसिस गर्थेँ।
पहिलो भेटको करिब १३ वर्षपछि उहाँ अंकल धेरै लामो समय बिरामी पर्नुभएको रहेछ। म आफ्नो मान्छे कोही बिरामी भएको हुँदा त्यहाँ भेट्न जाने क्रममा उहाँलाई देखेँ।
पहिला उहाँले नै बोलाउनु भयो, ‘ए बाबु! ए बाबु! कता आएको? यहाँ को बिरामी छ र?’
मेरो पनि एक जना छिमेकी बिरामी हुनुहुन्छ। भेट्न आएको,’ भन्दै मैले सोधेँ, ‘अंकल हजुरको त सबै विदेश तिरै हुनुहुन्छ सन्तान। यति लामो समय बिरामी छु भन्नुहुन्छ, अहिले साथमा हजुरको को हुनुहुन्छ त नि? हजुरको रेखदेख कसले गरेको छ?’
ती अंकलले आँखाबाट बरर आँसु झार्दै दुःख सुनाउन सुरु गर्नुभयो।
‘बाबु, छोराछोरीहरू भेट्न आएका थिए। छोटो समय लिएर केही दिन सँगै बसेर टिकटक बनाए, सेवा गरेको भिडिओ बनाए, सामाजिक सञ्जालमा राखे। राम्रै सेवा बाबुआमालाई गरेको आफन्तमा भ्रम छरे। करिब १५ दिनको नेपाल बसाइपछि सबै जना गए। बाबु, कसैको स्कुल छुट्ने रे। कसैको जागिर छुट्ने रे। कसैको बिजनेस लथालिङ्ग हुने रे।’
उहाँले बलिन्धारा आँसु बगाउँदै भन्नुभयो, ‘धिक्कार छ बाबु, सन्तान पढाएँ बढाएँ। देश विदेश पठाएँ भनेर पहिला-पहिला खुबै नाक फुलाइयो। कति दुःख कष्ट गरेर आज यो हालत हुँदो रहेछ। बुढी पनि धेरै समय थला परेर तिनै सन्ततिको बाटो हेर्दा हेर्दै गई। यति धेरै सन्ततिको अभिभावक भएर पनि यति कष्टकर जीवन बिताउनु कसैलाई पनि नपरोस् हे दैव।’
अनेक बिलौनाका साथ उहाँ रुँदा मैले पनि मन थाम्न नसकेर रुन थालेछु। फेरि आफू सम्हालिँदै उहाँलाई सम्झाउन थालेँ, ‘अंकल पिर नगर्नुहोस्, सबैको त्यस्तै हो। उहाँहरूका पनि बाध्यता भएर बाबुआमाको साथ बस्न नसक्नु भएको हो। बाबुआमा मातृभूमि छोडेर टाढा बस्दाको पीडा त म पनि महसुस गरेको छु नि अंकल। आफ्नो बाबुआमा सँगसँगै बस्न कसलाई रहर हुँदैन र! के गर्ने, त्यहाँको सिस्टमअनुसार उहाँहरूलाई पनि चल्नुपर्यो। विविध अप्ठ्यारोले होला. त्यस कारण उहाँहरूको मन हुँदाहुँदै पनि हजुरको साथमा रहन नसक्नु भएको हो।’
उहाँलाई सम्झाइ बुझाइ गरेँ र त्यहाँबाट बिदा भएर निस्किएँ।
केही दिनपछि उहाँ अंकल अस्पतालको शय्याबाट नै स्वर्गवास हुनुभएछ। हस्पिटलमा अघिल्लो पटक भेटेको करिब एक हप्तापछि मनले भेट्न चाहना गऱ्यो र अस्पताल पुगेँ। त्यहाँ सोध्दा लामो समय बिरामी पर्नु भएको उहाँ त पाँच दिन पहिला नै बित्नु भएर उहाँको लासलाई शवगृहमा राखेको रहेछ। पाँच दिनपछि आज छोराहरू आएर दाह संस्कारको लागि लगेर गएछन्।
नर्सको आवाजले मलाई कता कता चक्कर आउला जस्तो हुन थाल्यो। भुइँमा थचक्क बसेँ। ओहो! पहिलो भेटमा नै उहाँको शब्दले मलाई धेरै पिरलेको थियो। फेरि न मेरो नातागोता नै पर्ने। मलाई किन यस्तो पीडा महसुस भएको होला भनेर आफैँलाई सम्झाउन थालेँ। मानवताको नाताले होला सायद।
हामी सबैबाट एक दिन पञ्च तत्त्वले आफ्नो गन्तव्य पक्कै पनि खोज्नेछ। उहाँलाई भएको पीडाको अनुभूति मलाई पनि भयो। पीडा वेदना त सबैको एउटै हो। कति आशा भरोसा राखेका सन्तानहरूको हातबाट मर्ने बेलामा पनि एक मुठी पानी पिउन नपाउनु, समयमा दाहसंस्कार हुनको सट्टा बिदेसिएका सन्तानको पर्खाइमा पाँच/छ दिनसम्म शवगृहमा बस्नु पर्ने! सोचेँ, सन्तानको बाध्यता र बुबा-आमाको विवशताको अन्त्य कहिले होला?
अनेक कुराले पिरोलिँदै आफ्नो गन्तव्यतिर फर्किएँ।