कति अन्धकार हुन्छ होला
जब शब्द पनि मौन हुन्छन्
जब सासले पनि हार मान्छ
त्यो क्षण
औँसीले आफैँलाई नियाल्छ होला
शून्यमा हराएको चन्द्रमा जस्तो
ऊ पनि आफ्नो अस्तित्व खोज्दै रुन्छ होला।
कुश, तिल र भेटी लिएर
औँसीले पनि आफ्नो क्रियाकर्म सुन्छ होला
आफ्नै चिहान बुन्छ होला
शोकको कपाल मुन्डन झैँ
बादल पनि त मडारिँदै रुन्छ होला।
त्यो दिन
गन्तव्यको अन्तिम मोड
हरेक गोरेटाहरूको बिछोड
जहाँ न समय रोकिन्छ
न आँसु थामिन्छ
त्यो दिन
औँसीले पनि
अन्धकारलाई अँगालो हाल्छ होला।