फिरन्तेले गाउँ छोड्यो
गाउँ नै प्यारो छ भन्थ्यो
‘युवा गाउँमै बस्नुपर्छ’ भन्थ्यो।
गाउँसँगै बाल्यकालका यादहरू छोड्यो
बिसौनाको थकाइ छोड्यो
बदरपाको वन छोड्यो
बेँसीको ओरालो छोड्यो
नगरकोटको टुप्पो चढ्न नपाउँदै
खुइया गर्यो र सानो स्वरमा भन्यो—
‘अब त मैले हिँड्नै बिर्सिएँ!’
सहर त के भन्नु
सहरभन्दा पर
काँठको छेउमै उसको जागिरे अड्डा छ
फर्कँदा सहरलाई डाँडाबाट
नियाल्दै फेरि गाउँ सम्झियो
र भन्यो—
‘अब त मैले गाउँ नै छोडेँ।’
गाउँलेको नजरमा सहरिया भयो
सहरियाको नजरमा काँठेली
र काँठेलीको नजरमा पहाडिया!
हिजोसम्म ‘सरको छोरो’ भनेर चिनिने
आज आफ्नै नामको पछाडि
‘सर’ को उपनाम पायो
प्रगति गर्यो त के भन्नु?
तर अरूजस्तै गरी
फिरन्तेले पनि गाउँ छोड्यो।
महिनामा गाउँ घुम्न आउँछ
गाउँ उकालो त उक्लिनै गाह्रो भन्छ
‘दिनभर मेलो गर्न त सकिन्न हो’ भन्छ
बिस्तारै फिरन्ते पक्का सहरिया बन्यो।
गाउँ उसलाई बिरानो लाग्न थाल्यो
हजुरआमाको प्यारो बाटो
अब उसलाई पाहुना जस्तो लाग्न थाल्यो
खुइया गर्दै हजुरआमाले भन्नुभयो—
‘फिरन्ते नि अब पाहुना भयो!’