एक दिन घरमा नेट नहुँदा
छिमेकीसँग पनि भेट हुँदैन।
म्यासेजमा हुने भलाकुसारी
भिडिओ–कलमा हुने कुराकानी
पोस्टमा हुने लाइक, कमेन्ट
र हाहा... हिहि... केही हुँदैन
एक दिन घरमा नेट नहुँदा
छिमेकीसँग पनि भेट हुँदैन।
पहिले पहिले साथीभाइ भेट्न
चोकमा जानु पर्थ्यो
चिया पसलमा पर्खिनु पर्थ्यो
क्लबमा पुग्नु पर्थ्यो
दिनभर कतै नभेटिएको साथी
बेलुका हेमाको पसलमा भेटिन्थ्यो
अचेल साथीभाइ भेट्न नेट नभई हुँदैन
एक दिन घरमा नेट नहुँदा
छिमेकीसँग पनि भेट हुँदैन।
डेनमार्क भ्रमणमा छ पिरतीलाल
र हिरा बेसक्याम्प नेर साथी पर्खिँदै छ
प्रमिला कैलालीमा जागिर गर्छे
र रुपेश मलेसियाबाट पर्सि फर्किँदै छ
ग्रुपमा साथीहरू जे जति छन्
सबैसँग एकसाथ च्याटमा भेट हुन्छ
अचेल हुन्छ भने च्याटमा भेट हुन्छ
घरमा हिजोआज कोही भेट हुँदैन
एक दिन घरमा नेट नहुँदा
छिमेकीसँग पनि भेट हुँदैन।
एक दिन घरमा नेट नहुँदा
न मनोरञ्जन हुन्छ, न हालखबर हुन्छ
बर्थडे, एनिभर्सरी केही थाहा हुँदैन
सबै सबै बेखबर हुन्छ
न बधाई हुन्छ, न समवेदना हुन्छ
न वाह! वाह! हुन्छ न ओह! ओह! हुन्छ
उफ्! उफ्! कठैबरा केही हुँदैन
एक दिन घरमा नेट नहुँदा
छिमेकीसँग पनि भेट हुँदैन।