भाग-२
जब अनिताले मायालाई अप्रिल फूल बनाई! अनायासै उद्देलित भएँ म! अस्वीकार गरे उसको अप्रिल फूल मैले! माया र प्रेममा पनि अप्रिल फूल हुन्छ र? हुँदैन! अप्रिल फूलको सन्देश पठाएको फोन नम्बरमा सम्पर्क गर्न कोसिस गरेँ! तर सकिनँ! फोन अफ थियो। म्यासेज पनि सीन भएन! लगातारको प्रयास असफल भयो! शंका लाग्यो! साँच्चिकै अरू कसैले अनिताको स्वर नक्कल गरेर अप्रिल फूल मनाएको त थिएन मलाई? कन्फ्युज र अलमलमा परेँ! पुरानो आवाजसँग तुलना गर्न लागेँ! अनिताकै आवाज हो जस्तो लाग्छ! आवाज रेकर्ड गर्नुपर्ने रहेछ। फुमै भएन! अन्तर मनले भन्यो 'पोखरा जा एक पटक भेट उसलाई त्यही गएर!' पोखरा गएँ।
अनुहार नै ढाक्ने कालो र ठूलो चस्मा, मास्क र पालीवाला क्याप टोपी लगाएर होटल छिरेँ। होटलमा म जस्ता मान्छे कति आउँछन् कति! अनिता हो होइन ठम्याउन कोसिस गर्दै खाना खाने टेबलमा गएर बसेँ। उद्देश्य नै अनिता यकिन गर्नु थियो। सोध्न आई ऊ- के लिनु हुन्छ? बोलिनँ म! 'हो,अनिता नै रहिछ ऊ! होटलमा जम्काभेट भयो पूर्वश्रीमतीसँग! कानमा एयर फोन लगाएकोले अलि ठूलो स्वरमा बोली ऊ!- 'सुन्नु भएन कि क्या हो?'
एक एक गरी चस्मा, क्याप अनि मास्क खोलेँ। झस्की! अल्मल परी! बोल्न सकिनँ ऊ! एक्कासि डाको छोडेर रोई! 'विकल्प भन्दै'। अङ्गालो हाली! सम्झाएँ 'गल्ती तिम्रो होइन! गल्ती मेरो हो! एक्काइसौं शताब्दीमा जातको कुरा गर्ने मै मूर्ख हो! परम्परागत समाजसँग लड्नु पर्थ्यो म! बाआमालाई सम्झाउन सक्नु पर्थ्यो!' त्यसो गर्न नसकेकोमा माफी मागेँ।
'सरी अनिता! तिमी बिना बाँच्न सक्दिनँ! भूल भयो! माफी देऊ ल! तिमीलाई चाहन्छु। बाआमा र समाजको लागि बिहे गरेको थिएँ कसैलाई! उसले पनि छोडेर गई! सायद तिम्रो र मेरो पुनर्मिलन होस् भन्ने चाहन्थी होला ऊ! धन्यवाद छ उसलाई!'
पसलको सटर बन्द गरL उसले। मान्छेहरू खाना खान आए होलान्! त्यत्तिकै फर्किएको अनुमान लगाएँ।
लामो कुराकानी भयो। विगतमा जान अन्जानमा भएका गल्ती स्वीकार गर्दै पटक पटक माफी मागेँ! एकोहोरो कुरा सुनाए मैले! सुनिरही ऊ!
ढिपी कसेँ मैले। 'यहीँ बस्छु! तिमीसँगै बस्छु।' साँझ पर्न लागिसकेको थियो। अनिताले कसम खुवाई मलाई र भनी उसले- 'पक्का फेरि बिहे गर्छौ मलाई? बिहे दर्ता गर्छौ? आमा र तिम्रो समाजसँग डराउँदैनौ? लान्छौ त तिम्रो घर?'
प्रतिबद्धता खोजी उसले मेरो।
अनेक प्रश्न एकै पटक सोधी। पुन: कसम खाएँ मैले र भनेँ- जीवनभर तिमीलाई छोड्ने छैन।
'त्यसो भए एउटा सर्त छ! त्यो मान्छौ?' उसको टाउकोमा हात राख्दै पुन: कसम खाएँ! 'सबै कुरा स्वीकार छ!' आश्वस्त पार्न खोजे उसलाई।
'ल त्यसो लु भए सुन विकल्प! मेरो कहानी बताउँछु! जब तिमीले मलाई छोड्यौ। केही महिना काठमाडौं गएर बसेँ। संघर्ष गरेँ। जागिर खान कोसिस गरेँ। सकिनँ। धेरै नपढेको मान्छेले कता जागिर पाउनु? फुटपाथमा व्यापार सुरू गरेँ। लोग्ने मान्छेहरू खास गरी अधबैंसेहरू घण्टौ सामान किन्ने बहानामा कुरा गर्थें मसँग। गिद्दे नजरले हेर्थे! व्यापार गर्नु थियो मलाई! त्यसैले हो मा हो मिलाइदिन्थेँ।मुसुक्क हाँसी दिन्थेँ। तर भित्रभित्र मन जलेको हुन्थ्यो। दिक्कदार लाग्थ्यो! सबै फटाहा र स्वार्थी जस्तो लाग्थ्यो। सामान किन्न आउनेमध्ये एक जनाले सिरियस भएर कुरा गर्थ्यो। धेरै पटक मलाई भेट्यो!उसले मन पगारी छोड्यो। बिहेको प्रस्ताव राख्यो। मैले 'हुन्छ' भन्दिएँ। घर परिवार कसैलाई नसोधी एक्लै निर्णय गरेँ। केही महिनापछि उसँग मन्दिरमा गएर बिहे गरेँ।
बिहेको केही महिनासम्म ठिकै थियो। उसको पनि खासै ठूलो जागिर थिएन। निजी कम्पनीमा काम गर्थ्यो। दुबैले सल्लाह गर्यौं। विदेश जाने निर्णय गर्यो उसले। नाइँ भन्न सकिनँ! गर्भवती थिएँ म! भविष्यको आशाले विदेश पठाएँ उसलाई। एक्लै संघर्ष गर्न थालेँ फेरि। ९ महिनापछि छोरी जन्मिई। छोरीलाई दुख सुख हुर्काएँ। प्रमेशले केही खर्च पठाउँथ्यो। जिन्दगीलाई धकेल्दै गएँ म।
छोरी बढ्दै गई। ३ वर्ष पुगेपछि बाल कक्षमा हालिदिएँ। व्यापार गर्न सजिलो होस् भनेर। दिउँसो फुटपाथमा व्यापार गर्थें। ३ बजेपछि छोरी लिन स्कुल जान्थेँ। काठमाडौं महानगरका नगर प्रहरी अलि मापाका भएछन्! हैरान गर्न थाले! गरिखान देनन्! सरकारले रोजगारको हक भनेर संविधानमा राख्नु पनि बेकारै रहेछ। सडक व्यापार गर्न ललितपुरतिर डेरा सारेँ। छोरीको स्कुल पनि उतै सारेँ। फि नलाग्ने सरकारी स्कुलमा भर्ना गरिदिएँ छोरीलाई! बोर्डिङको महङ्गो फि तिर्ने हैसियत थिएन मसँग!
खै के भो! श्रीमानले फोन गर्नु भएन! मैले फोन गर्दा पनि लागेन। सम्पर्क टुट्यो। छ्ट्पटिएँ म! दूतावासमा निवेदन हाले। दूतावासले भन्यो- प्रमेश मगर नाम गरेको व्यक्ति मलेसियामा गएको देखिँदैन।
श्रीमानको अत्तोपत्तो भएन। धेरै ठाउँमा हारगुहार गरेँ। केही भएन। खासमा उसलाई दलालले अर्कैको पासपोर्टमा विदेश पठाएको रहेछ। कुशासन भएको देशमा यसलाई स्वाभाविकै भन्नुपर्ला! काम गर्ने सिलसिलामा दुर्घटना भई मृत्यु भएछ। दुई वर्षपछि बल्ल थाहा पाएँ! सहारा सबैतिरबाट टुट्यो।'
ऊ भन्दै गई! म सुन्दै गएँ। उसको कुराले मन अमिलो भयो मेरो।
'यो पापी सहर छोडेर अर्कै ठाउँमा जान्छु भनेर पोखरा गएँ। पेट पाल्नै पर्यो! ५०,००० हजार जति रकम जम्मा थियो मसँग। दाल भात खुवाउने होटल खोल्ने निर्णयमा पुगेँ। पोखरामा विदेशी पर्यटक आउने ठाउँ हो जहाँ सामान्य दालभात खाने होटल छैनन्। सस्तो मूल्यमा दालभात खुवाउने होटल खोल्छु भनेर खोलेँ। सुरूको १०/१५ दिन नचले पनि पछि होटल राम्रै चल्यो! जुन तिमीले देख्यौ।
पछिल्लो पटक फोन, सामाजिक संजाल खासै चलाउँदैन थिएँ म! खै किन हो! मेरै होटलमा देखेपछि तिम्रो याद झल्झली आउन थाल्यो! बिहान 'आई लभ यू' भने तर पछि ग्लानी भयो! छोड्ने मान्छेलाई किन सम्झेको होला? त्यसैले साँझ तिमीलाई अप्रिल फूल भनिदिए! दिन पनि साँच्चिकै त्यस्तै थियो, अप्रिल फर्स्ट!
जीवनदेखि हारेको मान्छे अर्कै दुनियाँमा थिएँ। मनको अन्तर कुन्तरमा तिमी भए पनि तिम्रो घर परिवार र समाजसँग हारेको थिएँ। अकस्मात होटलमा ग्राहक बनेर आउँदा चिनिहालेँ तिमीलाई! गजबको संयोग थियो त्यो। तत्काल छ्द्म भेषमा प्रस्तुत भएँ! चिनेनौ राम्रै भयो। चिनाउने कुरै थिएन! भूतपूर्व श्रीमतीलाई चिन्नु जरूरी पनि थिएन। चिनेको भए नमजा हुन्थ्यो!
तिमीले पत्तो पाएनौ। तिमीले नचिनेकोमा एक मन खुसी भएँ! तर मन भने बेचैन भयो!
जीवन संघर्ष रहेछ। संघर्ष गर्दागर्दै छोरी ६ वर्षकी पुगी। शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनले गर्दा सरकारी स्कुलमा बिदा छ अहिले! मामा घर जान्छु भनेर गएकी अहिलेसम्म उतै छ। फर्केकी छैन।'
मेरो कुरा सुनेर थप झस्कियो ऊ! तै पनि बिहे गर्ने हो भन्न छोडेन! मैले म मात्र होइन, छोरी पनि मसँगै जान्छे! 'गुँड नै लान्छौ" मेरो मतलब आमा छोरी नै लान्छौ?' सोधे मैलेँ!
कुरा गर्दा गर्दै रातको १० बज्यो! बिहानको भात अन्डा हालेर फ्राई गरेँ। उसले पनि खासै खाएन! केही गाँस खायो छोडिदियो! मलाई पनि खासै खान मन लागेन। भाँडा माझ्ने केटीलाई पसल बन्द गर्ने हो जाऊ भनेर दिउँसै पठाइदिएँ! गई ऊ। खुसी पनि भई। दुई जना मात्र भयौ। कुरा गर्दा गर्दै रातको १२ बजिसकेछ। सुत्यौं। निन्द्रा पटक्कै लागेन मलाई! ऊ निदायो या निदाएन थाहा भएन।
रातभरी के सोच्यो कुन्नी? भोलिपल्ट आमालाई सन्चो छैन रे! फोन आयो रे! बुढीआमा सन्चो नभएको होला भन्ने लाग्यो! त्यो स्वाभाविक पनि थियो। घर फर्कियो ऊ। तर हिँडेदेखि सम्पर्कमा आएन। हिँड्ने बेलामा भनेको थियो 'फोन अफ नगर्नू है' पर्खी बसेँ तर उसको फोन आएन।
ठक्कर र अनेकौं चोट सहेको मान्छेलाई खासै फरक परेन। त्यसैले उसलाई के कसो छ? पुग्यौ या पुगेनौ भनेर फोन पनि गरिनँ। अगुल्टोले हिर्काएको कुकुर बिजुली चम्कँदा तर्सिन्छ भने झैं भयो। हरायो ऊ! स्वार्थी लोग्ने मान्छे यस्तै हो भन्ने लाग्यो। पचाएँ त्यसलाई पनि।
खाना पकाउने र खुवाउने काममा निरन्तर अभ्यस्त छु अहिले। यो नै मेरो संसार हो। यो नै मेरो जीवन हो। माया र प्रेम भन्ने कुरा सबैको भाग्यमा नहुँदो रहेछ। अचेतन मनले प्रमेशको मृत्यु भएपछि अनायास 'भूपू श्रीमान' विकल्पको याद आइरह्यो! तर ......! मायाका लागि तड्पिने अभागी मध्येको एक हुँ म। पुनर्मिलन मेरो भ्रम रहेछ।
यो पनि:
न पैसा कमाएँ, न श्रीमती पाएँ! (भाग-१)