कहिलेकाहीँ जीवनले अनायासै नयाँ मोड लिन्छ, जुन मोडले हाम्रो चेतनामा गहिरो छाप छोडेर जान्छ। यस्तै एउटा क्षण हिजो आयो—अनायासै, बिना कुनै पूर्वयोजना।
सामाजिक सञ्जालमा महिनौंको संवादपछि, अन्ततः भेट्ने सहमति भयो। ठाउँ काठमाडौंको अनामनगर तय गर्यौं। न त कुनै ठूलो तयारी, न त कुनै विशेष अपेक्षा—बस, दुई जना अपरिचितझैं परिचित, दुई कप चियाको बीचमा केही कुरा साट्न जाँदै थियौं।
चिया पसलको कुना पट्टि टेबल थियो—त्यहाँ हामी बसेका थियौँ। सुरूआती लाज र झिझकका पछि उनले बोल्न थालिन्। उनको बोलीको लय एक किसिमको गम्भीरता बोकेको थियो, तर त्यो गम्भीरता सुन्न रमाइलो लाग्ने किसिमको। उनी आफ्ना संघर्षका दिन सुनाउँदै थिइन्—परिवारको जिम्मेवारी, पढाइको चाप, आत्मविश्वासका उतारचढाव, अनि आत्म-खोजको यात्राहरू।
त्यही बेला, कतै केही हुँदै गयो—मैले महसुस नै नगरी उनको आँखामा हराउँदै गएको रहेछु। ती आँखाहरू—जुन न त अत्यधिक श्रृंगारिएको थियो, न त कुनै कथा सुनाउने प्रयासमा थियो—तर त्यसमा थियो अनुभवको गहिरो कविता। म त्यसमा डुब्न थालेछु। कहिल्यै प्रेम नगरेको मान्छे—अझ भनौँ, आमाबुवा बाहेक कसैलाई माया गर्न नसकेको यो मन, एक्कासि भावनामा लपेटिन पुग्यो।
तर म मौन थिएँ। किनकि मलाई 'म तिमीलाई मन पराउँछु' भन्न दुई अक्षरले मात्रै पुग्दैन। म आफूलाई झूट बोल्न सक्दिनँ। र यो सत्य हो कि म अहिलेसम्म प्रेममा परेको थिइनँ। त्यसैले न मैले आँखाले केही भनेँ, न बोलीले।
तर त्यो दिनको चिया चुस्कीसँगै, मनले केही महसुस गर्यो—कुनै ताजा अनुभव, जुन सायद भविष्यमा सम्झना बन्छ, सायद प्रेरणा, या सायद पहिलो पाना, जसले कथा लेख्न सुरू गर्छ।
त्यस दिनपछि धेरैपटक त्यो क्षण सम्झिएँ। त्यही चिया पसल, त्यही आँखाहरू, र ती गहिरा कुरा। मान्छेहरू सँगै हुँदा पनि कहिलेकाहीँ मौनताले धेरै कुरा बोल्छ, त्यो दिन पनि ठीक त्यस्तै थियो। उनको हरेक कुरा जति स्पष्ट थिए, त्यति नै अस्पष्ट पनि—सायद उनले सबै कुरा खुलेर भनिन्, तर मनले त्योभन्दा गहिरो केही महसुस गरिरहेको थियो।
मान्छेहरू भन्छन्, 'पहिलो नजरको प्रेम' हुन्छ। म चाहिँ भन्छु, पहिलो नजरमा मन भुलिन्छ। अनि त्यो भुलिएको मन, आफैलाई सोध्न थाल्छ—'के यही हो त प्रेम?' म आफैभित्र डुबेर खोजिरहेँ—त्यो आँखामा हराउनु प्रेम हो त?
समय बित्दै गयो, च्याटमा कुरा भइरह्यो, भेट फेरि भएन। तर हरेकपटक उनको नाम मोबाइलको स्क्रिनमा देख्दा मनको कुनै कुनाले हल्का मुस्कान ल्याइदिने गर्थ्यो। त्यो अनुभूति नयाँ थियो, अपरिचित थियो। म यसअघि कहिल्यै यस्तो अनुभूतिमा थिइनँ—जहाँ कुनै अपेक्षा पनि छैन, कुनै माग पनि छैन, तर एउटा जुडाव छ, जुन शब्दमा बाँध्न सक्दिनँ।
कहिलेकाहीँ मलाई लाग्थ्यो, म बिस्तारै उनको भित्री संसार बुझ्न थालेको छु। उनले कहिल्यै भनिनन्, तर उनका शब्दहरूबीचका मौनताहरूले धेरै कुरा बोले। उनीभित्रको डर, उनीभित्रको आशा, र उनीभित्र लुकेको साहस—सबै कुरा ती आँखाहरूले बोलेको जस्तो लाग्थ्यो। म त्यो नजरबाट टाढिन सकिनँ। त्यही दिनपछि मैले खोजेको यस्तै निडर केटी हो भन्ने भान मलाई भयो अझ भनौं भने कार्यक्षेत्र पनि एउटै पर्यो अनि किन मन पर्थिनन् होला र उखुम्मै मन परिन्।
मैले उनलाई दोस्रोपटक भेटेको छैन। त्यो पहिलो भेट नै एकमात्र थियो। तर त्यही एक भेटमा मेरो मनभित्र यति धेरै अनुभूति जन्मिए कि लाग्छ—सायद हामी मान्छेहरू कहिलेकाहीँ केवल एउटा क्षणमै कोहीसँग जोडिन्छौं।
अब म प्रेमलाई बुझ्न थालेको छु—प्रेम भन्नु सँगै हिँड्नु मात्र होइन, कहिलेकाहीँ टाढाबाट हेरेर मुस्कुराउनु पनि हो।
दिनहरू बित्दै गए। पहिलो भेटको सम्झनाले मनभित्र गहिरो प्रभाव छाडेर गइसकेको थियो। म अचम्ममा पर्थें—किन एउटा पल यति गहिरो भएर मनमा बस्यो? के त्यो आँखा, त्यो मुस्कान, त्यो आत्मीयता नै थियो कारण? वा त्यो चिया पसलको सादगी? वा त्यो साँझको मौसम, जुन शब्दभन्दा बढी अनुभूति थियो?
उनको बोलीले ममा केही नबोली केही भइसकेको थियो। मानौँ त्यो भेट एउटा ऐन थियो—जहाँ मैले आफूलाई पहिलोपटक स्पष्ट रूपमा देखेँ। मलाई लाग्यो, म प्रेमको भाषालाई बुझ्न थालेको छु। त्यो भाषा न त शब्दमा सीमित थियो, न त स्पर्शमा। त्यो त मौनतामा थियो, नजरमा थियो, र साझा अनुभूतिमा लुकेको थियो।
मानिसहरू सधैं साथ चाहन्छन्। तर कहिलेकाहीँ साथभन्दा बढी 'सम्झना' महत्वपूर्ण हुन्छ। अनि त्यो भेटमा मलाई महसुस भयो—म कसैद्वारा बुझिएको छु। उनले सायद त्यो खुलेर भनिनन्, तर म भित्रभित्रै महसुस गरिरहेको थिएँ। त्यो एकपटकको भेट, कुनै लामो सम्बन्धभन्दा धेरै गहिरो थियो।
त्यसपछि म आफूमा धेरै परिवर्तन महसुस गर्न थालेँ। लेख्न मन लाग्न थाल्यो, आफ्ना भावनाहरू शब्दमा पोख्न मन लाग्न थाल्यो। उनलाई लेखेर कहिलेकाहीँ मेट्थेँ—पठाउन सक्दिनथेँ, डर लाग्थ्यो। उनले पढे भने के सोच्लिन्? के म गलत अर्थ लगाएँ त? यी प्रश्नहरूले मलाई रोकिरहन्थे। तर त्यसले मेरो भावना कम गरेन, बरू अझ प्रगाढ बनायो।
कहिलेकाहीँ उनीसँग कुरा हुँदा मन थर्किन्थ्यो—भेटको कुरा नगर्ने भनेर आफैलाई सम्झाउँथेँ, तर मनले बारम्बार त्यो साँझ दोहोर्याइरहन्थ्यो। 'त्यो चिया पसलको भित्तामा अझै हाम्रो कुरा गुञ्जिरहेछ कि?' भन्ने भाव आयो। मानौँ त्यो स्थानले हाम्रा मौनता सम्झिरहेको छ।
सम्भवत: म एक्लै थिएँ त्यो अनुभूतिमा। वा सायद उनी पनि म जस्तै थिइन्। तर सत्य के थियो, थाहा छैन। प्रेममा 'थाहा पाउनु' सधैं जरूरी हुँदैन—कहिलेकाहीँ केवल 'महसुस गर्नु' नै पर्याप्त हुन्छ।
समय अझ अघि बढ्यो। जीवन व्यस्त थियो, उनी पनि व्यस्त थिइन्। हाम्रो सम्वादहरू कम हुँदै गयो। तर त्यो भेट—अझै उतिकै ताजै थियो। कहिलेकाहीँ म अनामनगर जान्थेँ, त्यही चिया पसलमा चुपचाप बस्थेँ। त्यही कोठामा, जहाँ उनले आफ्नो संघर्ष सुनाएकी थिइन्।
एक दिन त्यहाँ गएर लेख्न थालेँ—'हिजो भेटिएकी केटी'। र आजसम्म लेखिरहेछु। सायद त्यो भेट कहिल्यै फेरि हुँदैन, सायद त्यो एकपल्टको संयोग थियो। तर त्यो संयोगले मेरो जीवनलाई कुनै गन्तव्य दिएको छ—एक भावनात्मक गन्तव्य, जहाँ प्रेम शब्दको परिधिभन्दा बाहिर बन्छ।
सायद उनी कहिल्यै जान्दिनन् कि उनको त्यो मौनता, त्यो दृष्टिले कसैको जीवन बदल्न सक्छ। तर म जान्दछु—मेरो जीवन बदलिएको छ। र त्यो एकपल्टको भेट, अब हजार शब्दहरूको प्रेरणा बनेको छ। एउटा कथा, जुन सुरू त भयो, तर समाप्तिको अपेक्षा छैन। सायद साँचो प्रेम त्यही हो—जहाँ न साथ हुन्छ, न बिदाई, तर केबल एउटा मौन सम्झना हुन्छ, जुन हर साँझ चिया चुस्दै मनभित्र दोहोरिरहन्छ।