‘ए फुडोमा! के हो? ती हरेराम बाजेकी छोरीको त राम्रो कुरा सुनिँदैन नि। कता, त्यो अमरमानसँग हिमचिम छ भन्ने पो सुनिन्छ छ त,’ पानी भर्न जान लागेकी अमरावतीले बाटैमा भेटेर कुरा राखी।
‘आँ, छोड्दे त्यस्ता कुरा! हामी बिहे भइसकेकालाई त्यस्ता कुराको के वास्ता? जसले जेसुकै गरोस्। जवान छन्, जवानीमा प्रेम नगरे कहिले गरून् त? आफ्नो यहाँ तरकारी गोड्न बितिसक्यो। आफ्नो मानो खाएर अर्काको गफ गर्ने फुर्सद छैन अमरा मलाई! गएँ म त,’ फुडोमा तर्कन खोजी।
‘हैन पख् न एकछिन। तेरो चाहिँ के बित्छ हो एकछिन गफ गर्दा। झन् मन मिल्ने साथी भनेर कुरा सुनाउन खोजेको।‘
‘मान्छेले धर्मसंस्कृति, जात, आफ्नो स्तर हेर्नुपर्दैन लभसब गर्दा? बाजेले भाटा लाउँछन् अनि थाहा पाउँछे रमितेले?’ अमरावतीले कुरा राख्न खोजी।
हरेराम बाजेकी छोरी रमिता र हर्कवीरका छोरा अमरमानका बीचमा हिमचिम बढेको कुरा एक हप्ताअघिदेखि गाउँमा चर्चामा थियो। युवाहरू ठिक भो भन्थे भने बुढापाका गाउँमा अनर्थ हुने भो भनी कुरा काटिरहेका थिए। बाजे गाउँमा नाम चलेका पण्डित थिए। हर्कवीरको पुछार गाउँमा आरन थियो।
गाउँभरिका कुटोकोदालो, हँसिया, खुकुरी सब उनैले बनाउँथे। पहिले रमिता र अमरमान एउटै विद्यालयमा पढ्थे। अहिले दुवै गाउँमै काम गर्छन्। हातहतियार अर्जाप्न जानेआउने क्रममै रमिता र अमरमान नजिकिएका थिए। पार्टी भन्ज्याङमा एकान्तमा बसेर गफ गरिरहेको नत्रकुमारीले देखेपछि उनीहरूको सम्बन्धको चर्चा गाउँमा भएको थियो। नत्रकुमारी आफूलाई थाहा भएका कुरा एकै छिनमा गाउँभर फैलाउँथी।
नत्रकुमारीका कुरा वास्तविकताको नजिक हुने भएकाले अमरावती यही कुरा फुडोमासँग राख्न चाहन्थी। फुडोमाले पनि प्रेम विवाह गरेकाले ऊ चाहिँ यस्ता कुरालाई स्वाभाविक ठान्थी र कसैसँग यस्ता विषयमा कुरा गर्न तर्किन्थी।
‘किन लाउनुपर्यो भाटा? दुवैको उमेर पुगेकै छ। यो जमानामा कसैले जातभातको कुरा गरेर हुन्छ? आफ्नो निर्णय आफै गर्न सक्छन् तिनले। देशमा प्रजातन्त्र आइसक्यो बाबै, पुरानो जमाना हैन नि अब। मलाई तिनको प्रेमको कुरा नसुना। म त फूलमाला लाइदिन्छु तिनलाई। जवान छन्, काम गर्न सक्छन्, घरबार चलिहाल्छ। प्रेम गरेर के बिगारे र तिनले? फेरि बाजे पनि त पुराणभन्दा त्यति राम्रा कुरा गर्छन्। तिनैले भनेको होइन, संसारमा जात भनेको महिला र पुरूष मात्र हो भनेर? अनि महिला र पुरूषको प्रेम वा बिहे भएमा के अनर्थ हुन्छ र? झनै बच्चाबच्ची हुन्छ, घरै रमाइलो। कि कसो?,’ अमरावतीको कुरा काट्ने सुर थियो। फुडोमाले एकै स्वासमा सबै उडाइदिई। दुवै आ-आफ्नो बाटो लागे।
हरेराम पण्डित आफ्ना गाउँका अधिकांश घरमा जजमान गर्थे। हर्कवीरकहाँ चाहिँ उनले पुरेत्याइँ गरेनन्। अरूले दिएको फलफूलबाहेक उनले खाएको देखिएको छैन। पुराण भन्न जाँदा पनि उनी आफै पकाएर खान्थे। उनले पुराणभन्दा धेरै पटक भनेका छन्, ‘बिरूवा, जमिन, जनावर, ठाउँ, मानिस सबैको नाम हामीले दिएका हौं। बाघले म बाघ हुँ भनेको होइन, हामीले बाघ भनेका हौं। उसलाई त बाघ भनेको के हो थाहा नहुन सक्छ। हामीले नै मानिसलाई अनेकौं जातमा विभाजन गरेका हौं। विभेद गरेका हौं। हाम्रा कुनै भगवान्को जात छैन। ती सबैका हुन्। यसैले हामी मान्छेले जातको कुरा, वर्णको कुरा, आकारप्रकारको कुरा गर्नु हुन्न। अरूका नराम्रा कुरा गरेर आफ्नो समय खेर फाल्नु धर्तीलाई स्वर्ग बनाउने अवसर गुमाउनु हो,’ यस्ता कुरा गर्दा समाजमा तल्ला जात भनिनेले ताली बजाउँथे र उठेर नाच्थे।
माथिल्ला जात भनाउँदाले ओठ बटार्थे र ताली बजाउन उठाएका हात पनि तल झार्थे। यो देखेपछि हरेराम बाजे चाहिँ एउटा भजन गाउन लगाएर सबैलाई साम्य पार्न खोज्थे। उता वीरमानलाई यस्ता धेरै कुराको चासो थिएन। दुईतीन गाउँमा बालीमा हतियार बनाउने काम गर्दा नै उनलाई भ्याइनभ्याई थियो। आफ्नो आरनलाई मेसिनले चल्ने बनाउन पाए र छोरा अमरमानले आफ्नो पेसा थमाइदिए हुन्थ्यो भन्ने उनको सोच थियो। एउटा सुशील कन्यासँग छोराको बिहे गरिदिन पाए हुन्थ्यो भन्ने सोच पनि उनमा नआएको चाहिँ होइन।
मंसिरको महिना थियो। हरेराम हिजो मात्र शिवाकोटी गाउँमा सप्ताह सकेर फर्किए। पुराणको सरसामान लिएर उनकै साथमा आएका मानिस पनि सामान घरमा राखिदिएर फर्किहाले। यसरी पुराणबाट आएका सामानमध्ये केही हरेराम आफैले राख्थे। केही चाहिँ गाउँलेलाई नै दिन्थे। पण्डितले केही दिन्छन् कि भनेर आवश्यकता महसुस गर्ने गाउँले पुराण सकेर घर फर्केको दिन उनको आँगनमा भेला हुन्थे। यसपटक पनि आँगनमा मानिस भेला भएका थिए। उनले केही सामान निकाल्दै कसलाई चाहिन्छ भन्दै सोधेर दिए। एकछिनपछि उनले मोठको छेउमा राखेको ओढ्ने ओछ्याउनेसहितको खाटतिर हेर्दै भने, ‘कोही लाठे छौ यहाँ? यो खाट वीरमानलाई दिने विचार छ मेरो। फुर्सद छैन होला उसको, तिमीहरूले पुर्याइदेओ न,’ कुरा सुन्नासाथ चुन्नालाल र सन्तुले खाट बोके, हिँडे।
भोलिपिल्ट बिहान पण्डित अलिक ढिलो उठे।
उठ्दा पण्डित्नी भन्दै थिइन्, ‘यो सब बाबुको कमजोरी हो। पुराण भन्न गएर के के भनिदिने, घरमै छोरीले टाउकामा टेकेको थाहा नपाउने! अब इज्जत गएन। यत्रो दुःख गरेर पढाएको यही दिन देख्न रहेछ। अब गाउँमा कसरी बस्नु! यत्रो जायजेथा छ, छोडेर जान पनि सकिँदैन। हरे शिव!’
‘के भयो? किन यसरी कराएकी?’
‘के भएन भन्नु न! रमिते छैन घरमा। राति नै हिँडिछे त्यो। तपाईंले नै उचालेर हो,’ पण्डित्नीले दाह्रा किट्दै भनिन्।
पण्डित घोसे मुन्टो लाएर आँगनको कुर्सीमा बसे। पण्डित्नी आफै भुत्भुताउँदै थिइन्। पण्डित चाहिँ सबै कुरा सुनेर पनि नसुनेझैं गरी बसिरहे। त्यही बेला वीरमान आयो।
‘पण्डित बाजे मैले केही गल्ती गरेको छैन। सब त्यहीँ अमरेले गरेको हो। माफ पाऊँ। मलाई खाट पनि चाहिँदैन। गाउँमा बस्न पाऊँ। म बुढो अन्त गएर केही गर्न सक्दिनँ। गाउँबाट ननिकाल्दिनु न हजुर,’ वीरमान आत्तिँदै भन्यो।
त्यति बेलासम्म हरेररामको आँगनमा धेरै मानिस भेला भइसकेका थिए।। फुडोमा र अमरावती पनि थिए। आँगनमा गुनगुन भइरहेको थियो। बुढापाका अब पण्डितले ठूलै निर्णय गरेर वीरमानलाई गाउँबाटै निकाल्छन् भन्दै थिए। कोही अमर र रमिताका पक्षमा पनि कुरा गर्दै थिए।
धेरै समयसम्म चुप लागेर बसेका पण्डितले सबैतिर हेरेर भने, ‘पुराण सुन्न आउनुभएको कि पुराण सुनाउन? म आज पनि पुराण सुनाउँछु, ‘मानिसको एउटा मात्र जात हुन्छ। त्यो हो मानिस। ठूलो-सानो, छुत-अछुत हामीले बनाएका हौं। हामीले नै यसलाई अन्त्य गर्न सक्छौं,’ उनले भुइँमा बसेर कामिरहेको वीरमानलाई उठाए र अनुहारमा हेर्दै हात जोडेर भने, ‘सम्धिज्यू, हाम्री छोरीलाई सुखले राख्नुहोला। छोरी ज्वाइँ त्यही खाटमा सुतुन्।’
वीरमानका आँखा रसाए। पण्डित्नी फन्केर भित्र पसिन्। गाउँले बिस्तारै घरतिर लागे। फुडोमा चाहिँ उफ्रेर नाची र अमरावतीलाई कर्के नजरले हेर्दै घरतिर लागी।