नयाँ वर्ष आगमनमा
सधैँ हर्ष लाग्छ
हरियाली वसन्त झैँ
आशा सधैँ जाग्छ
तर किन नयाँ वर्ष
छैन नयाँपन
जति चोली फेरिए पनि
फेरिँदैन मन।
वनको चरी कठैबरी
आउँछन् वरिपरि
थाँतथलो उजाडले
रुन्छन् धरी धरी
किन-किन नयाँ वर्ष
छैन नयाँपन
जति वर्ष फेरिए पनि
रमाउँदैन मन।
बिपनीमा सधैँ उठे
सपना तिनकै छुटे
कलम कापी च्याप्ने उमेर
मजदुरीमा जुटे
किन-किन नयाँ वर्ष
किन आयौ भन
पटक-पटक आए पनि
बुझाउँदैनौ मन।
जति सपना देखे पनि
व्यथा उही थियो
पीडाहरू निरन्तर छन्
जिउन सकस भयो
किन-किन नयाँ वर्ष
कसलाई आयौ भन
रूपरंग फेरिए पनि
रमाउँदैन मन।
दुखपछि सुख पाउने
प्रतीक्षामै बित्यो
त्यही झुपडीको सानो संसार
उजाड पार्ने को थ्यो?
किन आयौ नयाँ वर्ष
के ल्यायौ भन
जति पटक फेरिए पनि
उही अमिलो मन।
कति बसूँ आशा गरी
बेसहारा झैँ भाछु
मनको भारी बिसाउँदै
मुगलानतिर गाछु
किन-किन नयाँ वर्ष
छैन मन दंग
जति होली आए पनि
रङ्गिँदैन मन।
समालेर समालिन्न
लत्रेको छ तन
मन भित्रको जल्दो पीडा
कसलाई बत्ताऊँ भन
नयाँ वर्ष आउँदा तिमी
ल्याऊ खुसी मन
यो दुखीको दुख बुझ्ने
साथी तिमी बन।