उनी बन्न म आफू भत्किनै परे पनि
खुसी भई भत्किन तयार छु
पहाड यदि कसैको प्रेममा भिज्यो भने
ऊ पनि त आफ्नो टिकेको सत्ता पल्टाउन तयार हुन्छ
यदि म पल्टिहाले भने पनि
बाढीसँगै मिसिएर तिमीसम्म पुग्नेछु
आँधीसँगै मिसिएर तिमीसम्म पुग्नेछु।
यदि म कहीँ कतै खोला किनार, कुना काप्चामा
आफ्नो अस्तित्व सलबलाउँदै अल्झिरहेँ भने
के तिमी मलाई खोज्दै खोज्दै म कहाँ आउँछ्यौ?
यदि तिमीले मेरो ठेगानासम्म नपुगी
मेरो ठेगान नलाई फर्कियौ भने?
यो प्रेमको सन्तापले छटपटाइरहेको धड्कनलाई
मैले के भनेर सम्झाउने?
मुस्कुराइरहेको सूर्यलाई
कसैले आँखा नलाओस् भनी
जसरी बादलले सूर्यको मुहार ढाक्छ
त्यसरी नै
मुस्कुराइरहेको मलाई
कसैले आँखा नलाओस् भनी
मैले उपहार दिएको पछ्यौरीले
मेरो मुहार ढाक्न तिमी आउँछ्यौ कि आउँदैनौ?
हावाको वेगमा पर-परसम्म आफ्नो कान तेर्स्याउँदै
मसँग तिमीले एकान्तमा कुरा गरेको सुनिरहन्छु
लाग्छ,
तिम्रो बोली नै वात्सल्यको प्याला हो
त्यही प्यालामा तिमीले मसँग कुरा गरेका एक मुठी
तिम्रो खुसबुदार श्वासलाई लिएर म ककटेल बनाएर पिउँछु र
सहस्र योजनका लागि म आफू आफ्नो भई तिम्रा लागि मेटिन्छु।
म परेलीको डिलबाट तिमीलाई सम्झिरहेको छु
सम्झँदा सम्झँदै यदि खसिहालेँ भने
सम्झिनु म तिम्रो पर्खाइमा सती गएको हुँ भनेर
चाहे त्यो पवन होस्
पानी होस्
आगो होस्
धुलो होस्
तिमीलाई छुने हरेक चिजसँग मेरो दुस्मनी छ।
तिम्रो प्रकृति देखेर
यो प्रकृतिले पनि आफ्नो प्रकृति बिर्सिन्छ
ऊ सम्झिन्छ गीताको एक श्लोक अनि भन्न थाल्छ
प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः
अहङ्कारविमूढात्मा कर्ताहमिति मन्यते॥
तिमी आएपछि नै यो सुनसान जीवन धूमधाम भएको हो
तिमीबिना यो धूमधाम जीवन सम्सान बन्ने पक्का छ
त्यसैले
म पर्खी रहनेछु तिमीलाई
पर्खनु भनेको नै प्रेम हो
त्यसैले म पर्खिरहनेछु तिमीलाई
सधैँभरि
यसै गरी।