स्कुलले जीवनका रमाइला दिन सम्झँदा अहिले पनि केटाकेटी नै छु जस्तो लाग्छ।
साथीहरूसँग मिलेर काँक्रो चोरेको! स्कुलबाट भागेर गर्मी महिनामा पौडी खेल्न खोलामा गएको! मङ्गल चौथीमा केराको बोट काटेको। अरूको ढोकामा सिस्नो झुन्ड्याइदिएको! बिग्याई अहिले जस्तो लाग्छ! स्कुलले जीवनका रमाइला कति कति...! स्कुले जीवनमा फेरि फर्कन मन छ। तर नमिल्ने!
कक्षा ९ मा पुग्दा अलि जिम्मेवार भएँ म! हाउडे भए पनि कक्षाको फर्स्ट मै हो! साथीहरू मेरो नोट सार्न मरिहत्ते गर्थे। पालोपिलो गरेर सबैलाई नोट कपी दिन्थेँ। स्कुलकी साथी अनिता मलाई मन पर्थ्यो। कक्षा १० सम्म पुग्दा झन् घनिष्ट भएँ। ऊ मलाई छोड्न नसक्ने म उसलाई छोड्न नसक्ने! एसएलसी परीक्षा सकेको अन्तिम दिन हामी भाग्यौं।
म परेँ बाहुन। ऊ परी तामाङ!
घरले स्वीकार गर्न मानेन! भागेर काठमाडौं पुग्यौ। न योग्यता, न चिनजान! दुबै उस्तै अल्लारे! केही महिनासम्म आफूसँग भएको पैसाले चल्यो। त्यसपछि बल्ल जीवन बुझेँ। अफ गरेको फोनलाई पुन: एक्टिभेट गरेँ। घरबाट बा-आमाले नाक काटिस् भनेर झन् गाली गर्नुभयो। एकातिर खान बस्न समस्या, अर्कोतिर घर परिवारको कचकच। दुबै जना ज्यामी काम गर्न लाग्यौं।
यसैबीच एसएलसीको रिजल्ट आयो। दुबै जना पास। खुसी साट्यौं दुबै जनाले। झन्डै ६ महिना सहर बसेपछि जीवन गुजार्न झन् गाह्रो भयो। मर्नुभदा बहुलाउन बेस भन्ने याद आयो। घर फर्कियौं दुबै जना। बाआमा दुबै बोल्नुभएन। जेनतेन बाससम्म दिनुभयो। गाउँभरिकाले हाम्रो कुरा काट्न सुरू गरे!
'बाहुनको छोराले तामाङ केटी बिहे गर्यो!'
कूल पूजा ( देवाली) मा परिवारलाई बाहेक गर्ने भन्ने हल्ला चल्यो। बा मसँग आएर बेस्सरी रूनुभयो। साँच्चिकै कूल पूजामा हाम्रो परिवारलाई समावेश गरेनन्। सामजिक बहिष्कारामा पर्यो मेरो परिवार।
स्कुलबाट प्रमाणपत्र लिएपछि फेरि सहर फर्कियौं अनिता र म! सहरमा कसलाई के मतलब! पैसा भए सबै कुरा प्राप्ति हुने भएकोले अरू सबै कुरा बिर्सियौं हामीले।
क्याम्पस भर्ना भएँ म। सरकारी क्याम्पसमा खासै पैसा चाहिँदैन्थ्यो। बिहानको पढाइ थियो। जीवन गुजार्न रेष्टुरेन्टमा काम गर्न थालेँ। समय बित्दै थियो। कहिल्यै फोन नगर्ने आमाको एकाएक फोन आयो। भन्नुभयो 'बाबा बिरामी हुनुहुन्छ' म आत्तिएँ। एक्लो छोरो गाउँ गएँ। एक्लै गएँ। अनिता लगिनँ झन् कुरा काट्छन् भनेर!
दुर्भाग्यबस म गएको केही दिनमा बाबा बित्नुभयो। बित्नुभन्दा एक दिन अगाडि बेस्सरी रूनुभयो। इज्जत फालिस्! नाक काटिस्! समाजमा भएको मान सम्मान धुलोमा मिसाइस्! दोधारमा पुगेँ म।
बाबाको मृत्युमा मलामीसम्म गए गाउँलेहरू तर १३ दिने दाजुभाइ कोही पनि आएनन् घरमा! वास्तवमा समाजबाट हाम्रो परिवारलाई बाहिर पारे। निहुँ अरू केही थिएन; बाहुनले विजात केटी घरमा भित्र्यायो! रातभर सोचेँ! अनितालाई स्वीकार गरेर सधैंका लागि गाउँ छोडौं वा अनितालाई छोडौं! निर्णय गर्न कठिन भयो। अन्ततः मैले अनितालाई छोड्ने निर्णय गरेँ। अनितालले मेरो बाध्यता बुझेकी थिई।
अनितासँग मेरो बिहे दर्ता थिएन। सामाजिक रूपमा ऊ मेरी श्रीमती भए पनि कानुनी रूपमा श्रीमती थिइन। बिहे दर्ता भएकै थिएन। दुबै जनाले रूँदै छुट्ने निर्णय गर्यौं। ऊ कति दुखित थिई मैले अनुभव गर्न सकिनँ! तर बेस्सरी रोई। म पनि रोएँ! सहमतिमै छुट्ने निर्णय गर्यौं। खास यो निर्णय हाम्रा लागि थिएन। समाजका लागि थियो।
सहरबाट म गाउँ फर्किएँ। गाउँकै क्याम्पसमा पढ्न थालेँ। आमा रोगी हुनु हुन्थ्यो! आमालाई स्याहार गर्न पनि कोही न कोही चाहिएको थियो। दिदीहरू विवाह गरेर गैसकेका थिए। परिवारमा म एक्लो छोरो! जात मिल्दो केटी जेठी दिदीले खोजिदिनु भयो। विवाह भयो। सदरमुकाम घरबाट नजिकै भएकोले क्याम्पस पढ्दै कोरियन भाषा पढेँ मैले! कोरिया जाने रहर जाग्यो। नभन्दै वर्किङ भिसामा कोरिया पुगेँ।
सुन्दर भविष्यको आशमा भर्खर बिहे गरेकी श्रीमती र आमालाई छोडेँ। महिनै पिच्छे म रु ५० हजार घरमा पठाउँथें। आमा र श्रीमतीसँग सधैंजसो कुराकानी हुन्थ्यो। दुई वर्षपछि कम्पनीले घर जाने भए बिदा दिने कुरा गर्यो। बिदामा घर फर्किने चाँजो पाँजो मिलाएँ। त्यसै बेला संसारलाई हल्लाउने कोरोना भाइरस आयो। संसारका धेरै देशले लकडाउन गरे। आमा र श्रीमतीलाई भेट्ने सपना अपुरो भयो। देश फर्किन सकिनँ।
समय बित्दै थियो। सधैंझैं एकदिन आमाले फोन गर्नुभयो। 'छोरा बुहारी माइत जान्छु भनेर हिँडेकी खै दुई दिन भयो फर्केर आइन!' म झसंग भएँ। फोन गर्न खोजेँ अफ थियो। माइततिर बत्तीको नियमितता थिएन। बत्ती नभएर होला भन्ने ठानेँ। आमाले भोलिपल्ट फेरि फोन गर्नु भयो। 'बुहारी त पोइल गै रे'!!
हे भगवान के सुन्नुपर्छ। फेरि रोएँ। कोरिया बसेको ३ वर्ष भैसकेको थियो। मैले कमाएको सबै पैसा श्रीमतीलाई दिएको थिएँ। न मैले पैसा कमाएँ! न श्रीमती पाएँ! एक्लै रोएँ। एक्लै कराएँ! तर मसँग विकल्प थिएन। काम त गर्नै पर्यो ! गरिरहेँ। काम गर्दैगर्दा एक दिन अर्कै नम्बरबाट फोन आयो!
'प्रिय बिकल्प, मैले तिमीलाई कुर्न सकिनँ, मैले बिहे गरेँ। दुखी नहुनू ल! मैले तिम्रो घर खर्च गरेर बचेको २० लाख रुपैयाँ तिम्रै खातामा राखिदिएको छु। मलाई माफ गर' उनले फोन काटिन्!
अक्क न वक्क भएँ। आफूलाई नै दोषी देखेँ। फ्रायडको यौन मनोविज्ञान बल्ल बुझेँ। उनको कुनै दोष देखिनँ। दोष भने जवानीको थियो। दोष मेरै थियो। जवान श्रीमतीको आवश्यकता मैले बुझ्न सकिनँ। सम्झाएँ आफैलाई।
दिक्कदार लाग्दै दुई वर्ष काम गरेँ कोरियामा फेरि। ५ वर्षको भिसा म्याद सकिएपछि देश फर्किएँ। एयरपोर्टबाट सिधै ट्याक्सी चढेर गाउँ गएँ। आमालाई भेटेँ। आमा बिरामी र एक्लो हुनुहुन्थ्यो। विगतदेखि अहिलेसम्मका सबै घटनालाई खेलाएँ।
केही दिनपछि सँगै फर्केको साथीसँग पोखरा घुम्न गएँ। ३ दिन पोखरा घुम्यौं। जता जता घुम्थ्यौं त्यही बास हुन्थ्यो हाम्रो! बस्ने ठेगान हुन्थेन। साँझ एउटा सामान्य होटलमा पुग्यौं। बेलुका भैसकेको थियो।अर्को होटल खेजेनौं। खानाको कुरा सोध्यौ! मेनु के छ? 'खास त्यस्तो मेनु केही छैन। दाल भात तरकारी खान पाइन्छ!'
'हुन्छ' भन्यौ र सादा खाना खाने निर्णय गर्यौं।
केही छिनपछि पानी चाहियो भनेर कराएँ। सर्भिस गर्ने कोही थिएन। कराउँदै गएँ। त्यही अघि कुरा गरेकी महिला बाहिर निस्किई। पानी चाहियो भनेँ। उसले एक बोतल पानी दिई।
उसलाई सोधेँ- काम गर्ने कोही छैन।
उसले उत्तर दिई- साहुनी पनि मै कामदार पनि मै।
भाँडा माझ्ने बाहेक अरू कामदार रहेनछन् होटलमा। कस्ती जब्बर आईमाई! मनमनै सोचेँ मैले।
होटलमा पस्दादेखि मास्क लगाएकी; अहिलेसम्म मास्क खोलिन उसले! अझ उसले खाना लिएर आउँदा त पछ्यौराले कपालसम्म छोपी! साथी र मैले उसको पनि आफ्नै कहानी होला भन्ने अनुमान लगायौं!
खाना खाएपछि फेरि पानी माग्यौं। राति पानी प्यास लाग्छ कि भनेर! पानी लिएर आएपछि केही गफ गर्न खोजेँ मैले तर ऊ तर्किन खोजी! टाढिन खोजी! कर गरेँ मैले। मास्क खोल्न मिल्दैन? घाउ भएकोले मास्क लगाएको भनी! हो होइन उही जानोस्! तैपनि मैले कर गरेँ मास्क खोल्न! मान्दै मानिन!
भोलिपल्ट बिल तिर्न खोज्यौं। अर्को पटक आउँदा पनि तपाईंको होटलमा आउँछौं है भन्यौं। हरेक होटल बसाइँपछि एउटा एउटा फोटो खिच्ने बानी थियो हाम्रो! तर त्यहाँ सकिएन। हामीसँग खिच्न अन्कनाई ऊ। मानिन!
भोलिपल्ट बेलुका काठमाडौं आइपुग्यौं। थकित थिए म निदाएछु! फोन आयो; ट्रु कलर एपले अनिता नाम देखायो!
'तपाईं विकल्प हो?' सोधी उसले!
'हो' भनेँ मैले!
'तपाईंले मलाई चिन्नु भएन! म अनिता हुँ। अनिता.....!!' भन्ने बित्तिकै मेरी अनिता? आवाज पहिलाकोसँग तुलना गरेँ मनमनै।
हो ऊ अनिता नै रहिछ। सोच्दै सोचेको थिइनँ मैले! ऊ त्यसरी बसेकी छ भनेर!
एकाएक 'आई लभ यु' भनी फोनमा! पूर्वश्रीमती अनिताले पुन: प्रेम प्रस्ताव राखी मँसग! अर्कै संसारमा पुगेँ! दङ्ग परेँ! खुसीले गदगद भएँ! रानी बनाउन चाहेँ फेरि उसलाई! पूरै कल्पनामा डुबेँ म! स्कुल देखिका कहानीहरू झल्झली आए। ऊ र म झगडा गरेर वा कुरा नमिलेर छुटेका थिएनौं! घर परिवार र समाजका लागि छुटेका थियौं हामी!
ऊ प्रतिको आगाध माया जीवित थियो ममा! ऊ पनि मलाई त्यत्तिकै माया गर्थी! परम्परागत समाज र परिवारसँग हारेर छोडेको थिएँ! करकर गर्ने बाबा पनि हुनुहुन्न अब! समाजसँग बाल मतलब अब मलाई! समाज र परिवारको लागि जात मिल्दो जुन केटी मैले बिहे गरेको थिएँ; उसले पनि छोडेर गई मलाई! सँगैका साथीको घरजम भएर भरिभराउ छ। म भने चौबाटोमा छु। उमेरले ३५ नाघ्न लाग्यो! अनिश्चित छ जीवन! मनोवाद गरेँ आफैसँग! अनिता प्रतिको आगाध माया पुन: मनभरी छछल्कियो। पोखरामा चिनेको भए...! माफी माग्थेँ! उसकै काखमा बसेर रून्थेँ। अनेक कुरा सोच्दै बसेँ म!
एक मनले भन्यो- कल ब्याक गरेर कुरा गरौं अनितासँग!
अर्को मनले भन्यो- होइन; अर्को दिन कुरा गरौंला! फोन गर्ने आँट आएन। उल्टो त्यही साँझ म्यासेज आयो! सरी विकल्प! तिम्रो परिवार र समाजले फेरि पनि मलाई घृणा गर्छ। मैले तिमीलाई आई लभ यु भनेको अप्रिल फूल मान्नु है! क्यालेन्डर हेरेँ साँच्चिकै अप्रिल एक रहेछ!! छाँगाबाट खसेँ म!
देशका नेताले सधैं अप्रिल फूल बनाएका छन् हामीलाई! पचाएका छौं मजाले! तिम्रो अप्रिल फूल अस्वीकार गर्छु म भनेर जोडले कराउँदा झ्ल्यास ब्युँझें। सपना पो रहेछ! छ्या!