आमा, आज तिमी यो संसारबाट गएको पनि एक वर्ष पूरा भइसकेछ।
समय अगाडि बढिरहेको छ, तर मलाई लाग्छ, मेरो जीवन भने त्यहीँ रोकिएको छ—त्यो दिन, जब तिमीलाई अन्तिम पटक देख्न पनि नपाई म एक्लै यो संसारमा रहनु पर्यो। समय बगिरहेको छ, घडी चलिरहेको छ, तर मेरा भावना भने अझै तिम्रो बिछोडको दिनमै अड्किएका छन्।
तिमी गएको एक वर्ष भयो, तर एक दिन पनि यस्तो छैन जब मैले तिमीलाई सम्झेकी छैन। हरेक दिन म तिम्रो यादमा बाँचिरहेकी छु, तिम्रो आत्मा शान्तिको कामना गरिरहेकी छु। अस्ति तिम्रो वार्षिक पुण्यतिथिमा म उपस्थित हुन सकिनँ। मनभित्र कतै ठूलो खालीपनले ठाउँ लिएको थियो। मलाई लागिरहेको थियो, तिमीलाई अन्तिम बिदाइ दिन नपाएको पीडा अझै त्यतिकै छ, र फेरि पनि तिम्रो पुण्यतिथिमा नजान पाउनु भनेको अर्को चोट सहनु हो।
अँध्यारो कोठाको शून्यताभित्र म एक्लै बसेको छु। तिम्रो पुरानो तस्बिर, जसले मलाई फेरि अतीततिर तानेको छ। तस्बिरमा तिमी उस्तै छौ—मुस्कुराइरहेकी, आँखामा त्यही असिम माया। अरूका लागि यो एउटा खुसीको झल्को मात्र हुनसक्छ, तर म मात्र जान्छु, त्यो मुस्कानभित्र कतिवटा पीडाहरू लुकेका थिए।
समयले हामीलाई सधैं अगाडि धकेलिरहन्छ, तर केही कुरा त्यहीँ कतै अल्झिरहन्छन्—नबोलेकै कुरा, नदेखेकै पीडा, नबुझेका भावनाहरू। म सधैं सोच्थेँ, 'एकदिन जाउँला, आमासँग बसौंला, मन खोलौंला।'
तर त्यो ‘एकदिन’ कहिल्यै आएन। जीवनको व्यस्तताले मलाई तिमीसँग बिताउने समय दिन सकेन, वा सायद मैले त्यो समय निकालेको थिइनँ।
आज म तिमीलाई भेट्न आउन सकिनँ, आमा। यथार्थको यो कटु सत्य मलाई हरेक दिन पोलिरहन्छ। के तिमी पर्खिरहेकी थियौ? के तिमी हरेक दिन झ्यालबाट बाहिर हेर्दै मेरो प्रतीक्षा गरिरहेकी थियौ? म त्यहाँ पुग्न सकिनँ, तिमीलाई अन्तिम पटक देख्न सकिनँ।
म अब पछुताइरहेछु, तर के पछुतोले समयलाई उल्टाउन सक्छ? के मेरा नदेखिएका आँसुहरू तिमीलाई फर्काउन सक्छन्? म तिम्रो तस्बिरलाई अँगालो मारेर बस्छु, तर तिमीलाई छुने अवसर सधैंका लागि गुमाइसकेको छु।
आज म महसुस गर्छु, माया कहिल्यै बाँधिएर बस्दैन। तिमी यहाँ छैनौ, तर तिम्रो माया मभित्र अझै बाँचिरहेको छ। तिमीले मलाई जसरी हरेक परिस्थितिमा बलियो बन्न सिकायौ, म त्यसरी नै अगाडि बढ्नेछु।
तर, आमा, के तिमीलाई थाहा छ? कहिलेकाहीँ म थाक्छु। जिन्दगीको दौडधुपले मलाई थकाइ दिएको छ। म तिम्रो त्यो सान्त्वनाको हात फेरि एकचोटि महसुस गर्न चाहन्छु, तिमीले कहिल्यै नबोलेका तिम्रा पीडाहरू बुझ्न चाहन्छु। तर तिमी मेरो लागि आकाशको तारा जस्तै भएकी छौ—छुन नसकिने, क्षितिज।
'आमा, तिमीले बा’लाई भेट्यौ त?'
यो प्रश्न मैले मनभित्र कैयौं पटक दोहोर्याएकी छु। बा कस्ता हुनुहुन्छ त, आमा? के उहाँले मलाई सम्झनुहुन्छ? तिमीले उहाँसँग मेरो बारेमा कुरा गर्यौ होला नि?
स्वर्गमा आमाबुबाको पुनर्मिलन
स्वर्गको एक सुन्दर बगैंचामा दुई आत्माहरू फेरि भेटिएका थिए—एघार वर्षपछि।
'तिमी आयौ?' बाले आमालाई हेर्दै सोधे।
आमाले हल्का मुस्कान दिँदै टाउको हल्लाइन्।
'हो, तर हेर न, नानीलाई भेट्न नपाएर मन भारी बनाएर आएकी छु।'
बा चुपचाप सुनिरहे। त्यहाँ समयको सीमा थिएन, न त भौतिक संसारका बाधाहरू नै। केवल अनुभूतिहरू मात्र थिए।
'बुझ्छु,' बाले बिस्तारै भने, 'नानी त सधैं तिमीलाई सम्झन्छे।'
'तिमीलाई सम्झन्छे?' आमाले अलिकति आड लाग्ने आशामा सोधिन्।
बा हल्का हाँसे।
'अलि अलि सम्झिन्छे होला। म त पहिल्यै गइसकेँ। तर तिमीलाई भने उसले एकपल पनि बिर्सेकी छैन। हरेक दिन तिम्रो तस्बिर हेरिरहेकी हुन्छे।'
आमाका आँखामा नमिठो सन्तोष झल्कियो।
'हो, म पनि थाहा पाउँछु। हरेक रात जब ऊ निदाउँछे, मनमा मेरो नाम दोहोर्याउँछे। हरेक सुख-दुःखमा मलाई सम्झिन्छे। तर के गरौँ, उसलाई नसम्झ भनेर त भन्न सक्दिनँ।'
'तर तिमी यहाँ आएर रोएको छैनौ होला नि?' बाले सोधे।
आमाले गहिरो सास फेरिन्।
'त्यहाँ त मन सधैं रोइरहन्थ्यो, यहाँ आएपछि कमसेकम तिमीलाई भेट्न पाएँ।'
बा चुपचाप बसे। आकाशबाट तल हेर्दै भने, 'ऊ हाम्रो नानी'
'उसले मसँग गुनासो गर्छे, तर अरूसँग देखाउँदिन। म पनि यही सम्झिएर मन बुझाउँछु, 'आमाले भक्कानो थाम्दै भनिन्।'
बा हाँसे।
'त्यसैले त ऊ हाम्रो छोरी हो।'
सूर्यास्तको उज्यालो स्वर्गका बादलहरूमा झल्कियो। ती दुई आत्माहरू चुपचाप बसे। अब उनीहरू सँगै थिए, तर तल पृथ्वीमा, एउटा आत्मा अझै छु हजुरआमा र हजुरबुवाको माया हृदयमा बोकेर, उनीहरूको सम्झनाहरूलाई अँगालो हालेर।