तिमी र म
सधैँ एउटै बाटो हिँड्ने
तर एक अर्कासँग कहिल्यै बोल्न नसक्ने
न आँखाले आँखालाई छुन सक्ने
न ओठले शब्द सुमसुम्याउन सक्ने
तर पनि
कसैले नदेख्ने भाषामा हाम्रो माया फुलिरह्यो।
तिमीलाई पहिलो पटक देख्दा
न मैले तिमीलाई बोलाउन सकेँ
न तिमीले मलाई
बस् हावा चल्यो
रुखका पातहरू सलबलाए
चरा पर-पर उड्न थाले
तर हाम्रो मौनता उस्तै रह्यो।
मेरो मनले धेरै पटक करायो
‘बोल न, भन न
माया गर्छु भनेर एक चोटि भन न!’
तर
शब्दहरूले जिब्रो छोडेनन्
सासहरूले हृदयलाई पार गर्न सकेनन्।
तिमी चुप, म चुप
तर हाम्रो मौनताले
दसौँ कविताहरू लेखिसकेको थियो
तिमी मसँग बोल्दैनथ्यौ
तर हरेक रात सपनामा आएर
तिमीले अनगिन्ती कथाहरू सुनाइसकेको थियौ।
हामी भेट्थ्यौँ
उस्तै ठाउँमा, उस्तै समयमा
तिमी मलाई हेर्थ्यौ
म तिमीलाई हेर्थेँ
मुस्कानको भाषा बुझ्न सक्थ्यौँ
तर बोल्न सक्दैनथ्यौँ
हाम्रो प्रेमको प्रमाण शब्द थिएनन्
थिए त केवल अनुभूतिहरू।
एउटा दिन तिमी
धेरै टाढा जाँदै छ्यौ भन्ने सुनेँ
मन काँप्यो
मन रोयो
तर मेरो जिब्रो फेरि निष्क्रिय बन्यो
तिमी अगाडि उभिएकी थियौ
म तिमीलाई एकटक हेरिरहेथेँ
भन्न मन लाग्यो—
‘नजाऊ न!
यत्तिकै बस, यत्तिकै हेरिराख!
यो मौन प्रेम यत्तिकै चलिरहोस्!’
तर शब्दहरू फेरि थुनिए।