तिमीले जित्यौ
मैले हारेँ
हार मेरै भयो
नहोस् पनि कसरी
तिमीले त मलाई
म कमजोर बनेको बेला
निशाना मार्यौ
म ओछ्यानबाट
उठ्नै नसक्ने
तिमी मिठो पोसिलो खाई
बलियो बनेको
सायद जिन्दगीकै स्वर्गानुभूति
पिएर फर्केकी तिमी
मेरै दुर्दशा बनी आएकी तिमी
काँडा बनी बिझाउन
झरेकी रहिछौ
सानो मेरो संसार
भत्काउन लागेकी रहिछौ
तिम्रा झुटहरू
सत्य सम्झी विश्वास
बाँडेर बसेकी म
गोहीको जस्ता तिम्रा आँसुहरू
अमूल्य मोतीका दाना ठानी
टिप्न फसेकी म
म कत्ति प्रफुल्लित थिएँ
तिम्रो त्यो आगमनदेखि
श्रद्धा सुमन चढाउँदथेँ म
म जे थिएँ, म के थिएँ
जे होस् म भ्रमित थिएँ
मेरै काल बनी
हिँडेकी रहिछौ
दुखाइमा नुन-चुक छर्न
तिमी रहेछौ
थाहा छैन कहिलेदेखि
जुठो बारेकी
निशाना मारेकी
कति कमजोर म
कस्तो अनजान म
विश्वासघातीलाई
समाउन पुगेछु
भाग्य मेरो
थमाउन पुगेछु
तिमीलाई चिन्न सकिनँ
चिनेर पनि कतै भन्न सकिनँ
विष लुकाएर अमृत
देखाएकी थियौ
नाता जोडी
आफ्नो बनेकी थियौ
राक्षसी रूप तिम्रो
ढकाएर आयौ
सम्बन्धको घुम्टो ओढी
सबैलाई छकाएर आयौ
कत्ति निर्दयी रहिछौ
कस्तो स्वार्थ तिम्रो
कत्रो अहममा डुबेकी तिमी
कुना परेको माई
खोला पसेको गाई
मौका त्यहीँ छोप्यौ
ओछ्यान परेकी म
नतङ्ग्रिँदै
नउठ्दै
फेरि लडायौ
मार्न भनी पठायौ
पिट्नसम्म लगायौ
निस्वार्थ मेरो प्रेमको
त्यही दिन
बली चढायौ
मलाई ढाल्न, मलाई फाल्न
आँटेकी रहिछौ
सिक्का
साटेकी रहिछौ
आखिर ढाल्यौ
म ढलेँ
अस्पतालको ओछ्यानमा थाहा भयो
मलाई ढालिएको रहेछु
ढाल्ने तिमी रहिछौ
आखिर के गुनासो थियो
मसँग
म त तिम्रै इसारामा
नाच्दै थिएँ
तिम्रै आदेशमा
मखमली भाँच्दै थिएँ
आज म
पछुतोको भुप्रोहरूमा
पल्टी खेल्दै छु
जल्दै छु
ढल्दै छु
तिमीलाई अन्दाज होला
कस्तो पीडामा म बल्दै छु!
मेरो वफादारीको
राम्रै फाइदा उठायौ
तिमी जस्तालाई
माया गर्नुको सजाय
यही भयो मलाई
तिम्रै भरोसा गर्नुले
मर्नु न बाँच्नु भयो मलाई
त्यसैले त
मैले हारेको छु
मेरो हार भएको छ
आज म शून्य भएँ
शून्यतामा हराएँ
सपनाहरू तुहाएँ
तिमीले देखाएको
अपनत्वको ढाडसमा
बग्ने म
तिम्रा ती खोक्रो आडम्बरभित्र
कहाँ हो कहाँ हराएँ
मैन सरी कहाँ बिलाएँ
झुटा कथा हरू सुनायौ
मैले सधैँ सत्य सम्झेँ
सत्य
म त्यहीँ भुलिएँ
खहरे भेल रहेछौ
सागर भनी म
त्यही डुबेँ
तिम्रो देखावटी
बनावटी
मायाले बुनेको
सम्बन्धमा
मैले
मलाई बिर्सेँ
मेरो जरा बिर्सेँ
मेरो हाँगा बिर्सेँ
हाँगाहरूको फैलावट बिर्सेँ
पातहरू बिर्सेँ
मैले मलाई मात्र होइन
मेरो भरोसा गर्नेहरूलाई
पनि बिर्सेँ
म कहाँ भुलिएँ
म कसरी हराएँ
सबै-सबै कसरी बिर्सेँ
हेर त म
तिमीभित्र
कति हराएँ
आजित भई
आफ्नै अस्तित्व गुमाएँ
वाह!
बधाई छ तिमीलाई
तिमीले जित्यौ
मैले हारेँ।