कविता
मेरो देशको राजनीति म केही बुझ्दिनँ
मेरो देशको नेता म कोही चिन्दिनँ
हिजो मेरो घरको आँगनमा
ऊ दुई हात जोडी नमस्ते गर्दै थियो
मलाई एक भोट देउ भनी ऊ बिन्ती गर्दै थियो
त्यो बिन्ती सम्झी मैले पनि उसैलाई दिए भोट
आखिर कसैलाई त मतदान गर्नु नै थियो
आज ऊ ठूलो मान्छे भयो अरे, मेरो त्यही एक भोटले गर्दा
अब ऊ चिन्दैन मलाई, किनकी ऊ ठूलो मान्छे
कसले बनायो उसलाई ठूलो मान्छे
अब ऊ राख्दैन यस्ता सानातिना हिसाबकिताब
आउँदैन अब ऊ टोल, छरछिमेकमा समेत
मेरो घरको आँगन त, झनै पराई भयो उसलाई
उसलाई भेट्न अब मैले सिंहदरबारको ढोका छिर्नुपर्ने भयो
घण्टौं त्यो ढोका बाहिर कुर्नु पर्ने भयो
कहाँ सजिलो छ र त्यो ढोका पार गर्नलाई पनि
लाख बिन्ती गरेँ, कैयौ कोसिस गरेँ, खुल्दैन ढोका
फेरि अब मैले कोही चिन्नु पर्ने भयो
त्यहाँ भित्र छिर्न पनि ठूलै संघर्ष गर्नु पर्ने भयो
यो कस्तो नियम जसले उसलाई त्यहाँ पुर्यायो
उसैले भेट्न बाहिर घण्टौं कुर्नु पर्ने भयो
भित्रबाट भित्र पस्न भनी आदेश नआउँदा सम्म
म त्यहीँ ढोका बाहिर बस्न बाध्य हुनुपर्ने भयो
सायद! यस्तै यस्तै धेरै कारण भएर होला
मेरो देशको राजनीति म केही बुझ्दिनँ
मेरो देशको नेता म कोही चिन्दिनँ।