कविता
लौरोको सहारामा
सुस्त चालमा
कुप्रिँदै, लर्खराउँदै
गाउँको डगरमा हिँडिरहेको
म एक बुढो मान्छे।
म बुर्कुसी मार्दै उफ्रिने
बाटो त्यहीँ हो मेरो बालापनको,
माटो त्यही हो गाउँको
जसको महकमा म रमाउने गर्थें,
मैले फरूवाले खनेर बनाएको
डगरको छेवैमा बग्ने कुलो र
कुलुलु बग्ने पानी पनि त्यहीँ हो,
म मात्र बदलिएछु समयको चालमा,
बदलिएन यो माटो ?
बदलिएन यो बाटो ?
बदलिएन खेतका गरामा जाने यो कुलो,
र बदलिएन मैले मुहानबाट खनेर ल्याएको यो पानी,
हातको मुठीले मुख छोप्दै, खोक्दै
छाती समातेर स्याँस्याँ गर्दै
र लत्रेको टाउकोलाई उठाउने प्रयत्न गर्दै
गाउँको डगरमा हिँडिरहेको म एक बुढो मान्छे।
बाटोको किनारमा छ बरको बुढो रूख,
आफ्ना चाउरी परेका गाला मुसार्दै
म उसका उप्केका बोक्राहरू नियाल्छु,
बोक्राहरूको बीचबाट खोक्दै छ ऊ
मलाई ईशारा गर्दै,
आकाश छुने आकांक्षाले अग्लिँदै अग्लिँदै
आफ्नै सपनाको बोझले निहुँरेको मजस्तै
निहुँरिरहेको छ यो बरको रूख,
अचानक रूखबाट पातहरू खस्छन्
मानौ वर्षिरहेका हुन् फूलका पत्रहरू ममाथि
जिउमा टाँसिएका पहेँला पातहरूलाई सुम्सुम्याउँदै
म गम खान्छु
सायद आफूसँगै बुढो भइरहेको मलाई देखेर
यो बुढो बरको रूखले उत्सव मनाइरहेको छ।
हो, यो बरको रूख पनि मैले नै रोपेको हुँ,
मसँगै यो पनि त बुढो भएछ,
मसँगै यो पनि त बदलिएछ,
तर
बदलिएन रूखको फेदको यो जीर्ण चौतारो?
बदलिएन रूखको फेदमा गोरू बाँध्ने चुँडिन लागेको बाबियोको डोरो?
बदलिएनन् ख्याउटे गोठालाका हातका मसिना नाडी ?
बदलिएनन् चिसा आँखाका गहिरा भाव ?
बेतको लौरोको सहारामा पैंतला घिसार्दै
बुढो घोडाका लय बिग्रेका टापहरू झैं
हडबडाउँदै, कदम बढाउँदै
गाउँको डगरमा हिँडिरहेको म एक बुढो मान्छे।
मेरो छेवैबाट बत्तिन्छ हावाको एक झोंका
हावा पनि आज बात मार्दै छ,
हावा पनि आज हाँस्दै छ,
शीर उठाएर जब पछाडि फर्केर हेरेँ
एक हुल नानीहरू स्कुल जाँदै थिए
ओहो ! म पनि त यसैगरी मच्चिँदै जान्थेँ स्कुल
धेरै पहिले छुटेको हो मेरो काँधबाट स्कुलको झोला
धेरै पहिले नै उतारेको हुँ शरीरबाट आकाशे रङको कमिज,
बुढो छातीलाई छोपेको घुर्मैलो भोटोलाई छाम्दै
म खोज्छु स्कुलको उज्यालो नीलो रङ,
कमिजको रङसँगै मेरो बुढो शरीरको रङ पनि बदलिएछ
तर
बदलिएन नानीको गोडाको फाटेको जुत्ता ?
बदलिएन स्कुलको मक्किएको जीर्ण छानो ?
बदलिएन कखरा सिकाउने मास्टरको खिया लागेको कलम ?
पिँठ्यूमा किताबको झोलाको भारीले कुप्रिएको
स्कुलको फुच्चे ठिटो झैं
शिर झुकाएर स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै
गाउँको डगरमा हिँडिरेहेको म एक बुढो मान्छे।
बाटो किनारको घरबाट आउँदैछ
कुनै महिलाको चर्को स्वर,
स्वर परिचित झैं लाग्छ,
कोही रूँदै छ घरभित्र, कोही रूवाउँदैछ घरभित्र
त्यो स्वर मेरी मरेकी स्वास्नीको झैं लाग्छ,
म लत्र्याकलुत्रुक हुन्छु
ऊ त उहिले मरिसकेकी हो,
तर बदलिएन छ लोग्ने मान्छेको लात र मुड्की
बदलिएन छ घरभित्रको झगडा र रूवाबासी
बदलिएन छ स्वास्नी मान्छेको मुटु छेड्ने करूण रोदन
टलक्क टल्केको घरभित्र बस्ने मान्छे किन यति अँध्यारो ?
घरबाट भागेर हिँडेको बटुवा झैं
निरूद्धेश्य भौंतारिरहेको
गाउँको डगरमा हिँडिरहेको म एक बुढो मान्छे।
गाउँ त्यहीँ हो,
गाउँमाथिको आकाश पनि त्यहीँ हो
केराका पातहरू हल्लाउने बतास पनि त्यहीँ हो
सख्खारै घरको बार्दलीमा लाग्ने घाम पनि त्यहीँ हो
तर
बदलियो माथि आकाशमा उड्ने बादलको रङ
बदलियो गाउँको बतासको गन्ध
बदलियो गाउँको उर्वर माटो
बदलियो साँझपख बज्ने मादलको स्वर
तर यो गाउँ अझै किन बदलिएन ?
बाटो काटेर जब म पुगेँ घरको आँगन
मेरा आँखा अगाडि ठिङ्ग उभियो मेरो घर
घर पुरानो हो, बाले बनाएको
तर घरको छानो फेरिएको छ
मर्मत गरिएका छन् घरका झ्याल र ढोकाहरू
भर्खरै बजारमा आएको नयाँ पेन्टले
घरको भित्तो चम्केको छ
म गम खान्छु,
ओहो ! मेरो घर त बदलिएछ
पुरानो घर पनि नयाँ देखिएको छ
तर अफसोस
घर बदलिए पनि
म आफै बदलिएनछु,
आफै नबदलिएपछि कसरी बदलिन्छ मेरो गाउँ?