अनेकौं परिस्थितिहरूसँग जुध्दै अघि बढेको परिवार मेरो। बुवा सरकारी जागिरे अनि आमा घरकै जिम्मेवारीमा। बहिनी मेरै मार्गदर्शनमा हिँडिरहेकी। परिवारको इज्जत, मान र प्रतिष्ठा आँच आउन नदिन जेनतेन लागिरहेका हामी।
छोरा पनि सरकारी जागिरे नै होस् भन्ने बुवाको चाहनालाई शिरमा राख्दै मेहनतले पढेको मान्छे म। जिन्दगीमा सबथोक पुगेकै थियो। कुनै चिच्याहट थिएन। मागेको र चाहेको खाना नाना पुर्याउनु भाकै थियो बाबाले।
पढाइभन्दा अन्त नजर कतै थिएन। सरकारी जागिरे बन्ने नै अन्तिम ध्येय रहन्थ्यो। अनुमति बिनाका माया प्रेमहरू बर्जित थिए। पढाइले ल्याई पुर्याएको सफलता किताबको अन्तिम पाना झैं लाग्थे। जब एउटा सकिन्थ्यो अर्को किताब सुरू हुन्थ्यो। टिलिक्क टल्किएको बाहिरको दुनियाँसँग कुनै आशक्ति थिएन। अध्ययनबाट पाउने सफलता आफ्नै परिश्रमले हासिल गर्ने चिज जस्तै लाग्थ्यो। कहिलेकाहीँ भावनाका झिल्कोहरूले लखेट्थे, स्मृतिमा आई बारम्बार सताउँथे तर उम्केरै छडिन्थ्याे। किनकि निर्णयहरूमा अडिग रहँदै पर्खिनु बाहेकको विकल्प थिएन।
विस्तारै समय चल्दै गयो। अफिसरमा नाम निस्केरै छाड्यो। नियुक्ति र पदस्थापन गोरखामा हुने भयो। म अब बाआमाको घेराबाट टाढा हुने भएँ। के गर्ने? के नगर्ने? अब आफैले निर्णय गर्नुपर्ने भयो।यसले आफैलाई विस्तारै परिपक्व बनाउँदै थियो भने कता कता अनिणर्यको बोझ पो हुनुपर्ने हो कि भन्दै संशय समेत उत्पन्न गर्थ्यो।
यस्तैमा बसोबासका लागि कोठा खोज्ने क्रममा धेरै दुःख पाइयो। बल्लतल्ल पाएको कोठामा सामान जोड्नै धौधौ पर्यो। ओड्ने, ओछ्याउने पकाउने खाने सामान जोडियो। बारम्बार घरबाट फोन आउँथ्यो, संगत कस्तो छ? कोठामा वरिपरि कोको बस्छन्? भनेर सोधखोज गर्नुहुन्थ्यो। मलाई अत्तोपत्तो थिएन। काठमाडौंमा हुर्किएको मान्छे गाउँसहर मिसिएको परिवेशमा घुलमिल हुँदै थिएँ।
अफिस जाने आउने क्रम जारी थियो मेरो। एकदिन त्यसै क्रममा आडैको कोठामा एक जना केटी बसेको थाहा पाएँ। सानी छोरी पनि थिई। मन्टेस्वरीमा पढ्दी रैछे छोरी। उहाँ भने प्राइभेट अफिसमा आइटीको काम हेर्नुहुँदो रहेछ। सामान्य चिनाजानी भयो। घर कहाँ के भनेर सोधियो? कहिलेकाहीँ न्यास्रो लाग्दा यसै बोल्ने साथी पाएँ जस्तो पनि भान भयो।
शनिबारको दिन थियो। म कोठामा नै के गरौं र कसो गरौंको भावमा घोत्लिरहेको थिएँ। यस्तैमा उहाँले मलाई खाजा खान बोलाउनुभयो। मलाई अलि असजिलो लागेर आयो तर हत्ते गरेपछि म पुगेँ।चराको गुँड जस्तै सिंगारिएको थियो कोठा। म चकटीमा बस्न साथ छोरीले मलाई पुलुक्क हेरी। म भने कोठाका चारैकुना आँखा घुमाएर बसें। उहाँको श्रीमानको फोटो कतै देखिनँ। मैले अनि श्रीमान कहाँ हुनुहुन्छ? भनेर सोधें। उहाँले कुनै मोडमा साइकलको ह्यान्डिल मोडेजस्तै कुरा अन्तै मोड्नुभो। हामी फेसबुकमा जोडियौं। उहाँको नाम मञ्जरी रहेछ र थाहा पाएँ उहाँ त डिभोर्सी हुनुहुँदो रहेछ।
उमेरले मभन्दा २ वर्ष जेठो हुनुहुन्थ्यो। कलेजमा लाएको प्रेमलाई छिट्टै विवाहमा परिणत गर्नुभएको रहेछ। तर खै के मिलेन सम्बन्ध टुक्रिएको रहेछ। म त्यो रात निदाउन सकिनँ। आँखाले उहाँलाई पछ्याइरह्यो। बादलमा जुन छेलिएझैं छेलिए अनेकौं मेरा अड्चनहरू। र म विस्तारै उहाँप्रति नजिकिन थालेँ।
एकदिन अर्को भेटमा उहाँ भन्दैहुनुहुन्थ्यो, 'म यत्ति राम्री थिएँ कलेज पढ्दा,सबै केटाले आँखा लाउँथे। मिस कलेज भएकाले पनि ममा अनेकौं क्षमताहरू थिए। तर उसैको हुन लेखेको रहेछ। निकै पछि लागेपछि म हार खाएँ र उसको मायामा फसेँ। तर जब विवाह भयो लाग्यो सिकारीले पासोमा पारे झैं महसुस भयो। प्रेमको ललिपप देखाएर विवाहको बन्धनमा मलाई पार्यो र ऊ भने विवाह बाहिरका सम्बन्धहरूमा रमाउन थाल्यो। एकदिन त अर्कै केटीसँग आफ्नै आँखाले देखेँ। मेरो आकास भनेको मात्र ऊ र वैवाहिक जिम्मेवारी थिएन। अझै धेरै ताराहरू झिल्मिलाउन बाँकी थियो।त्यसैले मैले डिभोर्स गरेँ। सानी छोरीलाई आफैसँग राख्ने निधो गरें। कुनै दिन आफ्नो बाबा खोजेकी छैन छोरीले त्यति धेरै माया स्नेह दिएर पालेकी छु। अरू त अरू आफ्नै खुट्टमा उभिएकी छु। त्यसले भन्दा बढी कमाउँछु। मलाई गहिरो चोट दिने श्रीमानको श्रीमती हुनुभन्दा मलाई डिभोर्सी केटी भएर बाँच्न इज्जतिलो लागिरहेको छ।'
यी कुराहरू सुनिसकेपछि मभित्र गुम्सिएको मन, घ्यार्र उघ्रियो। मानौं, मलाई अब प्रेमको चाहा भयो। रातहरू उहाँकै बारेमा सोचेर बित्न थाले। शनिबार कहिले आउला र उहाँले खाना खान बोलाउनुहोला होला भन्ने प्रतीक्षामा बस्न थालें।
म आफैलाई थाहा थिएन म के गरिरहेछु भनेर। आफ्ना भावनाका उभारहरू विस्तारै बढ्दै थिए। तर त्यो भावनालाई कसरी सहजीकरण गर्ने वा प्रेममा बदल्ने मैले मेसो पाएको थिइनँ। आफैलाई प्रश्न गरिरहेको थिएँ। 'के गर्दै छस् यो तँ? के तेरो एकतर्फी प्रेमलाई उसले स्वीकार्छे। ल ल मानौं उसले स्विकारी नै भने पनि के तेरा परिवारले स्वीकार्छन्? यो समाजले स्वीकार्छ? कहाँ गएर बस्छस् तँ? त्यत्रो सरकारी जागिरे भएर बाआमाको सपनामा लात हानेर अघि बढ्न सक्छस्? तलाईं आदर्श मान्ने तेरी बहिनीले के सोच्ली? तेरा बारेमा तेरो अफिसमा के के हल्ला चल्ला? कहीँ केटी नै नपाएर उमेर पुगेकी, आमा भइसकेकी डिभोर्सी केटीसँग फस्योभन्दा तेरो परिवारको सान मान कहाँ जाला?'
म अनुत्तरित भएँ।
गह्रौं मनौता ओढेर बसिरहें।
एकदिन अचानक उहाँले मलाई, 'सुन न! मेरो आमा सिकिस्तै हुनुभाछ रे म गाउँ जान पर्ने भयो। मेरी छोरी हेर्दिन्छौ दुई चार दिन' भनेर प्रस्ताव गर्नुभो।
मैले म पनि 'तपाईं सँगै जान्छु। केही सहयोग गर्छुु' भनेर भनें।
उहाँले 'नाइँ' भन्न सक्नुभएन।
उहाँ यात्राभरी पीर चिन्तामा हुनुहुन्थ्यो। मैले नै छोरीलाई आफ्नै काखमा राखेर भुलाइराखें। हामी पुग्नासाथ उहाँको आमा बित्नुभयो। माइतमा आमाको एक मात्र सहारा उहाँ मात्रै हुनुहुँदो रहेछ। तेह्र दिने काजकिरियासम्म म अफिस छुट्टी लिएर गाउँमै बसें। सहयोग गरें। त्यो उहाँको साहस र व्यावहारिकता देखेर निकै आकर्षित भएँ, प्रेरित भएँ। सोची बस्थें, हाम्रो माया जम्यो भने- घुर्क्याउने, रिसाउने, माग्ने, हप्काउने केही हुने छैन। स्वभावहरूमा हामीले एक अर्कालाई बुझिदिनेछौं।
गोरखा बजार फर्किएपछि हाम्रा दिनहरू यसै बितिरहेका थिए। मलाई उहाँ दिनप्रतिदिन नरम लागिरहेको थियो। उहाँले मेरो प्रेमलाई सहजै स्वीकार गर्नुहुन्छ भन्ने आसहरूले मीठो रङ पोतिदिन्थ्यो मनमा।
काठमाडौं जान थियो तालिममा। त्यसअघि मनका भावनाहरू पोखेर जाउँ भन्ने चाहना भयो। अनि लेख्न थालें पत्र। अनि छोडिदिएँ ढोकामा च्यापेर।
'प्रिय मञ्जरी,
ठाउँ परिवेश समयहरू फेरिएपछि आफ्नै माथिको आकासको आयतन पनि बेग्लै लाग्दो रहेछ। शून्यतामा छु भन्दाभन्दै पनि कसैको उपस्थितिले विराटता थपिदिँदो रहेछ। सोच्ने व्यवहार, मनन गर्ने मन र स्नेह बाँड्ने मुटु छ र त औपचारिकताले बाटो बिराउँदो रहेछ। आज सम्बोधनमा तपाईंभन्दा पनि तिमी भनेर यो चिठी कोरौं जस्तो भाछ। तर तपाईलाई असहज पो लाग्ने हो कि भनेर आँट गरिरहेको छैन।
तपाईं र हाम्रो भेट भएदेखि हो, यो प्रेमको ज्वरोले भेटेको मलाई। सिटामोलको डोजले भन्दा तपाईंसँगको केही बात र मुस्कानले बरू यसलाई घटाइदिन्छ जस्तो लाग्छ। म आउँदा यो गोरखा बजार सुनसान थियो। मलाई एकान्त पनि बिरानो लाग्दै थियो तर जब देखि तपाईंलाई भेटें इन्द्रियहरूले अर्को जुनी पाएका छन्।
कसरी भनौं कि म तपाईंलाई प्रेम गर्छु भनेर?।किनकि म कहिल्यै प्रेममा परेको छैन। मलाई पढ्दाका संघर्षहरू थाहा छ, सफलताहरू थाहा छ। तर प्रेममा कसरी परिन्छ र गासिँन्छ भन्ने ज्ञान छैन।तर तपाईंलाई देख्न साथ, सुन्न साथ हावाले फुलेको बेलुन जस्तै मन उड्न थाल्छ। अनि एक दुई दिन बोल्न नपाउँदा मुटु गाँठो पर्छ। सायद यही नै त प्रेम हो।
थाहा छ तपाईंको अतित नमिठो छ। गाँठैगाठा परेका, मैला धुलौटे अतितलाई टकटक्याउँदै गाँठो फुकाउने साहस पनि गरेको भनेर नसम्झिनुहोला। किनकि प्रेम कुनै साहस वा समाजमा प्रेरणा पाउन गरिने चिज होइन। बरु स्वतस्फुर्त हुँदा गर्दा प्रेरणा कसैलाई मिलेछ भने त्यो बेग्लै कुरा। तपाईंले एक्लो भएर बाँच्न पक्रिएको लय बिथोल्न आएको पनि होइन। बिर्सिएका घाउहरूमा म आफूलाई मलम बनेर आएको छु भनेर पनि भन्दिनँ। तपाईं डिभोर्सी हुनु र नहुनुसँग यो प्रेमको कुनै साइनो छैन। किनकि मन पुरानो वा डिभोर्सी हुँदैन। तपाईंसँग पनि त्यो मन छ। मसँग पनि त्यस्तै मन छ।
म काठमाडौं जाँदैछु। फर्किंदा तपाईंको जबाफको अपेक्षा रहनेछ। तपाईंको 'हुन्छ' भन्ने जबाफ, यस्तो शक्ति भएर आउनेछ जसका कारण मेरा बाआमा, तपाईंका माइती वा सामाजिक व्यवधानहरूलाई सजिलै चिर्न सकौंला।
धन्यवाद'
यो चिठो छोडेर काठमाडौं आएको हप्ता दिनपछि म गोरखा फर्किएँ। जाँदा उहाँ बसेको कोठा रित्तो थियो जसलाई देखेपछि म पनि रित्तिएँ। उहाँ कोठा सरेर अन्तै जानुभयो रे कुनै अनजान सहरमा- घरबेटी भन्दै हुनुहुन्थ्यो। मैले मेरो ढोका खोल्दा भुइँमा उहाँको चिठी फेला पारें। लुगै नखोली पढ्न थालेँ।
'प्यारो मान्छे,
तिमीलाई सर भनेर बोलाउँदा खल्लो लाग्यो आफैलाई त्यसैले तिमी भन्दैछु। अन्यथा नलिनुहोला। म तिमीलाई घृणा गर्थें त्यही भएर छोडेर गएँ भनेर नसम्झिनुहोला। किनकि त्यो भूलको प्रायश्चित गर्न म फेरि सक्नेछैन। प्रेमको पथमा ठेस लाग्छ होला भनेर म हिँड्न नचाहेको पनि होइन। तिमीप्रति मसँग पनि प्रेमिल भावहरू उत्तिकै छन्। तिम्रो चिठी पढेपछि मनमा धेरै प्रश्नहरू उब्जिए जस्तै -
'प्रेमको रहर नै किन गर्न सक्दिनस् तैंले? एक डिभोर्सी केटी भइस् त्यही भएर? कि एउटा प्रेमबाट धोका पाइस् अनि त्यही भएर? प्रेमको नयाँ सुरूआत गर्दा किन पुराना विवशताहरूलाई फिँजाउन पर्छ तलाईं? किन प्रेमलाई स्वाभिमानसँग जोड्छेस्? बारम्बार ब्रेकअप गरेर पनि मानिस बिहे अघि हाँस्न सक्छन् भने जाबो डिभोर्स गर्दैमा अर्को सम्बन्ध गाँस्न किन गाह्रो तलाईं?'
तर जबाफ मैले दिन सकिनँ। किनकि एउटा सम्बन्धबाट निस्किँदै गर्दा त्यो बिदाइ आत्मीय भएन भने अर्को सम्बन्ध जोड्न मान्छे जरूर हिच्किचाउँछ। ल! मानौं तिमी, तिम्रो परिवार वा समाज नै पूरै सकारात्मक भएता पनि आजको भोलि यो मेरो थकित मन, केही नभएको जसरी प्रस्तुत हुन सक्दैन। सेलाएको चिया जति स्वादिलो छ भनेर विज्ञापन गरिएता पनि त्यो मानिसलाई प्रिय हुँदैन। किनकि चियाको गुण भनेकै तातो हुनु हो। त्यसरी नै सम्बन्धलाई आवश्यक पर्ने प्रेमिल गुणहरू ममा धेरै मलिन भएका छन्। एकै दिनमा बादल सरेर झरी पर्दैमा फेरि आकाशमा कालो बादल मडारिन्न भन्ने ग्यारेन्टी कहाँ छ र? त्यो विगतको कालो बादल ममा आइरहन्छ, मडारिरहन्छ।
अर्को कुरा,म कसैकी श्रीमती थिएँ। र अब कसैकी ममतामयी आमा हुँ। कसैको प्रेमिका हुने नाममा मैले कतै आमा हुनुको कर्तव्य भुल्दै गएँ भनें म मेरी छोरीको लागि सदैव ओठमा मुस्कान लिएर उभिने त छु तर त्यो अपरिचित हुनेछ। बाँचुन्जेल जुन परिधि खिचिएको छ, डिभोर्सी केटीको ट्याग जो लागेको छ यसैलाई भिरेर वा परिधिभित्र मात्रै आफूलाई समेटेर बस्ने चाहना पनि मेरो होइन। यसरी सम्झ, डिभोर्सी नारीहरूको पुनर्जीवन वा मिलन, समाजमा हुर्किएको एउटा नयाँ अभ्यास जस्तै हो। र स्वयं नारीलाई पनि विद्रोह जस्तै हो। जसलाई हिँड्न, दौडिन र फैलिन समय लाग्छ।
सुरूआत एकदिन हुने नै छ किनकि तिमी जस्तै असल मनहरूको जागृति जो पलाइसकेको छ। अहिले यो समयलाई माफ गरिदिनु प्रिय। फेरि कुनै दिन भेटिएछौ भने आशालाग्दो सपनाको उडान सँगै भर्नेछौं।
उही हितैषी मञ्जरी'
चिठी पढेर हाँगाबाट लुछिएको डाली जस्तै लुछिएँ र भुइँमा झरें। बल्लतल्ल उनेर लाएको स्वीटर ध्वार्र फुक्लिँदै गयो, म आफै लुगलुग काँपीरहें। आफैले आफैलाई फेरि प्रश्न सोधें, 'डिभोर्सी केटीसँग प्रेम गरेँ, मैले के बिराएँ?'