जिन्दगीमा प्रेम र पढाइलाई एकै बाटोतिर नडोर्याउन भन्ने मेरो अपेक्षा माथि खेलबाड भयो। प्रेमभन्दा पनि पढाइ लक्ष्य बोकेको मेरो निदारले प्रेमलाई समर्थन गर्न थाल्यो, मैले पढाइलाई भन्दा बढी प्रेमलाई समय दिन थालेछु। अब जिन्दगीले दुइटा लक्ष्यको लागि दौड गर्न थाल्यो; एक प्रेम अनि अर्को पढाइ।
म अहिले १९ वर्षको भएँ। मेरो यो उमेर प्रेम सम्बन्धमा लतपतिने उमेर हो भन्छ यो समाज। ‘बाबु तिमी राम्ररी पढ, यो समय पढ्ने समय हो यो, माया प्रेमको चक्करमा नलाग्नु, जिन्दगी ब्रेक फेल हुन्छ’ भन्ने मेरा आफन्तजनलाई मैले गिज्याए जस्तो भयो।
नभन्दै पढाइलाई प्रेम सम्बन्धले आफ्नो मातहतमा राख्न थाल्यो। उसको मुडले मेरो मुड चल्ने गर्थ्यो। आज ऊसँग राम्रो समय चलिरहेको छ भने मैले पनि पढाइलाई समय दिन्थेँ। कुनै बेला झगडा परेको बेला वा उनी रिसाएको बेला म पनि किताबसँग रिसाउँथेँ।
कहिलेकाहीँ यस्तो सोच पनि आउने गर्थ्यो कि उनी पनि मेरो भविष्य हुन् अनि पढाइ जसले गर्दा हामी दुवैको भविष्य सुरक्षित हुन्छ भन्ने भानमा म फसेछु, अल्झेछु र भुलिएछु।
खासमा यो प्रेम सम्बन्धमा गर्लफ्रेन्ड रिसाउँदा ब्वाइफ्रेन्डले फकाउनु पर्ने रे अनि ब्वाइफ्रेन्ड रिसाउँदा चाहिँ वास्ता नगर्नु रे! यो कस्तो संस्कृति बसेछ माया पिरतीमा भनेर बेलाबेला उनी रिसाएको बेला मेरो मनलाई यी कुराले खुब पोल्यो।
तर मेरा लागि हिजो पढाइ सबैभन्दा महत्त्वपूर्ण कुरा बनेको थियो भने अहिले उनीसँगको प्रेम र पढाइ। जसलाई सँगसँगै डोराएर हिँड्न खोजिरहेको थिएँ। रातभरि पढेर बस्न सकिँदैन थियो। किताब समाएपछि आँखाले निद्रा लागेको जनाउ घण्टी बजाउन थाल्थ्यो। तर जब कुरा उनीसँग भिडिओ कल गर्ने र टेक्स्ट म्यासेज गर्ने समय आउँथ्यो, चाहे रातको १ नै किन नबजोस् यी आँखाले निद्राको जनाउ घण्टी नै बजाउँदैन थियो।
यसरी पढाइलाई पनि उसको र मेरो प्रेम सम्बन्धले बिस्तारै लात हान्दै गयो। अब किताब झिकेर पढ्नेभन्दा मोबाइल झिकेर उसको म्यासेज पढ्न आतुर हुन थालेछु।
कक्षा कोठामा गुरु अगाडि उभिएर पढाइरहनु हुन्थ्यो। म भने रातभरिको निद्रा र उसको त्यो मिठो म्यासेजको सम्झनामा भुलिन्थेँ, सम्झन्थेँ, हराउँथेँ। अनि गुरु भन्नु हुन्थ्यो- रोल न ४। म अझै उतै भुलिरहेको हुन्थेँ। जब एक्कासि मार्करको झट्टी मेरो अगाडि आइपुग्थ्यो अनि म झस्किएर हेर्दा सबै जना गलल हाँस्थे। त्यसपछि मात्र म भन्थेँ- हाजिर छु गुरु।
यतिसम्म प्रेमको भूतले लखेट्यो कि मलाई मेरो बोर्ड परीक्षा आउँदै छ भन्ने कुरा नि मैले पत्ता पाएन छु। पढाइको नाममा उसको म्यासेज बाहेक केही पढेको छैन, सुनेको कुरा गर्दा उसको भ्वाइस म्यासेज बाहेक केही सुनेको छैन अनि हेरेको भनेको उनको त्यो सुन्दर अनुहार त्यही नि भिडिओ कलमा।
यसरी कसरी भइएला त पास?
अर्को दोधारले मेरो मस्तिष्कको झोला खोतल्न थाल्यो।
भोलि बोर्ड परीक्षाको, पहिलो दिन नै सबैभन्दा गाह्रो विषय परेको छ। कानुन क्षेत्रको सबैभन्दा गाह्रो र पढ्न जाँगर नचल्ने विषय ‘ज्युरिस्प्रुडेन्स’ विषय। तर विडम्बना! एक हप्ताभन्दा बढी भएछ उनीसँग कुरा नभएको। न त कल नै रिसिभ गर्छिन् न म्यासेज नै सिन गर्छिन्। अब भएन त तनाव!
यता भोलि परीक्षा पढ्नु पर्ने तर पढेको केही छैन। उता प्रेमिका एक हप्तादेखि म्यासेज गरिरहेकी र कल उठाइरहेकी छैन। साथीले त भन्थ्यो बौद्धको क्याफेमा एक जना केटासँग कफी पिउँदै थिइन् भनेर।
अब न त पढ्ने जाँगर नै आउँछ न उसलाई म्यासेज गर्ने, कल गर्ने। अनि अन्त्यमा केही उपाय नलागेपछि सबै सामाजिक संजाल डिएक्टिभेट गरेर उसलाई ब्रेकअप गर्ने निर्णय लिएको छु।