भेटघाट र रमाइला क्षणहरूलाई
म चाहेर पनि
मनभित्र बाँधेर राख्न सक्दिनँ
आउनु र जानुको क्रम
अकाट्य छ
म काट्न खोजेर काट्नै सक्दिनँ
मित्रताको सन्दर्भले भित्र
सत्कारका दुई शब्द बाहेक
के दिऊँ तिमीलाई?
स्विकार्नुस्
बिदाइका दुई हातहरू।
जिन्दगी उतारचढाव छ
जन्मनु, हुर्कनु र मर्नु
म विश्वासका पहाडहरू चढ्न खोज्दै छु
तिमी विजयका बाँसुरी बजाउँदै छौ
फेरि किन
म उराठ लाग्दा दिनहरूको माझमा
पट्यार लाग्दो जिन्दगी लड्न विवश छु
साथी
म निर्दयीहरूलाई शुभेच्छा दिनै सक्दिनँ
जसले आमाहरूको सपना खोसेको छ
जसले बाबाहरूको भरोसा तोडेको छ
पुर्खाहरू त बिते भविष्य छोडेर
स्मृति लत्त्याएर हिँड्न हुँदैन
केही लगेर गए
केही छोडेर गए
अलिकति हारहरू थिए होलान्
अलिकति जितहरू थिए होलान्
म सम्पूर्ण हारेर गएँ भन्न सक्दिनँ
यो धरती पुर्खाहरूकै सृजना त हो
र हामी पुस्ताहरू
त्यही सृजनामा
लुकामारी खेल्दै
जीवनको बोटहरू उमारिरहेछौ।
साथी
अब छुट्टिनै पर्ने भएको छ
मुटु गह्रुँगो हुन्छ किन?
भेटघाटहरू टुटे पनि
शृङ्खलाहरू छुटे पनि
तिमी बाँसुरीका धुनहरूमा
सृजनाका गीतहरू गाई बस्नू
औपचारिकताका औपचारिक शब्दहरूले
प्रत्येक क्षण गुज्रिएको बेला
म पट्यार लाग्दो जिन्दगीको सिराने लगाएर
दुःखका सिरकहरू ओढ्नै सक्दिनँ
साथी
समय वेगवान् छ
समयलाई लत्त्याएर हिँड्न सकिन्न
म शब्दहरू दिन्छु तिमीलाई
त्यसमा संगीत भरी
जीवनका गीतहरू गाउँदै गर्नू
म जीवनको गीत सुनी बस्छु।