कृष्णलाई यति थाहा थियो, ट्याक्सीमा बसमा झैँ कोचाकोच हुँदैन। ट्याक्सी चढुन्जेल नितान्त आफ्नै हुन्छ। त्यसमा अरू यात्रीको पसिनाको गन्ध आउँदैन र आफ्नो पसिनाको गन्ध पनि कतै फैलिँदैन। ट्याक्सीमा बाहिरबाट प्रवाहित हुने हावा खुसबुदार हुन्छ।
यद्यपि कृष्णेले जीवनमा कहिल्यै ट्याक्सी चढेको थिएन। यस कारण ट्याक्सी उसको लागि सपनाको वायुपङ्खी घोडा थियो। कृष्णेले आफ्नी आमा पनि ट्याक्सी सवार भएको कहिल्यै देखेको थिएन। यस कारण ‘ट्याक्सी चढ्दा कस्तो अनुभूति हुन्छ आमा?’ भनेर कृष्णले जीवनमा कहिल्यै सोधेन।
आमासँग कहिलेकाहीँ ट्याक्सीको बारेमा कुरा चाहिँ हुन्थ्यो। आमाले हामी गरिबको भाग्यमा कहाँ ट्याक्सी चढ्न पाइन्छ र भनेर टार्थिन्। ‘कुनै दिन ट्याक्सी चढ्यौँ भने सँगै चढ्नुपर्छ है आमा’ भनेर आमासँग कृष्णको पटक-पटक सम्झौता भएको थियो।
ट्याक्सी चढ्ने रहरै रहर बढिरहेको समयमा एक दिन कृष्णेले आफ्नी आमालाई एक ट्याक्सीमा सवार भएको देख्यो। कृष्णे त्यो बेला निलो रङको पाइन्ट र आकाशे रङको सर्ट लगाएर गाउँकै एक सरकारी विद्यालयबाट घर फर्किरहेको थियो।
ट्याक्सी चढ्यो भने तिमीलाई पनि चढाउँछु भनेर कसम खाएकी आमाले मलाई नराखी किन आफू एक्लै चढ्नुभयो? कृष्णेले आफ्नी आमाप्रति खुब चित्त दुखायो।
उसले त्यस ट्याक्सीलाई बाटैमा समात्न ट्याक्सीको गति जति नै आफ्नो गति पनि बढाएर दौडियो। ट्याक्सी उसको घरको आँगनमा नै गएर घ्याच्च रोकियो। ट्याक्सी चढ्न पाएकी आमा खुसीले हाँस्दै ओर्लिलिन् भनेर कल्पना गरेको त, उनी रुँदै झरेको दृश्यले कृष्णे विस्मित भयो।
त्यो बेला रुनु भएकी आमालाई ‘आमा किन रुनु भयो?’ भनी प्रश्न नगरी त्यसको सट्टामा सपनाको वायुपङ्खी घोडामा चढ्न नपाएको दुखेसो पो व्यक्त गर्यो।
‘किन ट्याक्सीमा नराख्नु भएको मलाई? तपाईंले त मोलाई माया नै गर्नुहुन्न।’
त्यो बेला आमाले रुँदै कृष्णेलाई छातीमा च्यापेकी थिइन्। ट्याक्सीको पैसा तिर्नुभयो ठुलोआमाले।
ठुलोबुबाले भन्नुभयो, ‘नरो बाबु, यो मोटर होइन, यो त शववाहन हो।’
उसले यसो हेर्यो, ट्याक्सीमा कुँदिएको थियो मोटो अक्षरमा– शववाहन। त्यो ट्याक्सीले पितालाई आर्यघाटमा छोडेर आमालाई घरमा पुर्याउन आएको थाहै पाएन कृष्णले त्यो बेला।
कृष्णे यस्तै ८ वर्ष हुँदाको कुरा हो। असारको महिना भएकाले पानी खुब दर्किरहेको थियो। त्यो बेला रुन्चे झरी पृथ्वीमा ओर्लियो भने दुई/चार दिन बास लिन्थ्यो र गाउँका सबै बाटाहरू बटुवाको घुँडासम्म चुर्लुम्मै डुब्ने गरी छोडेर जान्थ्यो। घरका छानाहरू रुन्थे। घरभित्र बाल्टीहरू थापिन्थे। झरीभन्दा सृष्टिमा निर्मम केही छैन जस्तो लाग्थ्यो, गाउँको त्यो ओसिलो तस्बिरले।
यस्तै अविराम झरी परेको बेला, सबेका आमाहरू हातमा आधुनिक छाता लिएर आ—आफ्ना छोराछोरीलाई लिन विद्यालय आएका थिए। कृष्णेले पनि त्यो पापी झरीबाट आफूलाई जोगाउन आफ्नी आमाले पनि वायुपङ्खी छाता लिएर आउने कल्पना गरेको थियो। तर आमा आउँदा हातमा वायुपङ्खी छाता होइन, घुम लिएर आउँदा ऊ खिन्न भयो।
चुहेको छाना जस्तै चुहिरहेको त्यो घुम देखेर उसलाई आत्मग्लानि भयो। आफ्ना साथीहरूका आमाहरूले लिएर आएको छातासँग आफ्नो आमाले लिएर आउनु भएको छातालाई तुलना गर्यो।
निकै विभेद चर्किएपछि कृष्णेले आमालाई रिसाउँदै बोल्यो– ‘यो घुम तपाईं नै ओढ्नुस्। म यस्तो घुम ओढेर तपाईंसित घर जान्न’ भन्दै कृष्णे असारको दर्कँदो मुसलधारे पानीमा रुझेरै घरसम्म कुलेलम ठोक्यो।
यस्तै कृष्णे नौ वर्षको हुँदा विद्यालयमा अभिभावक दिवस भएको थियो। सबै साथीहरू आ– आफ्ना बाबुआमा लिएर विद्यालय आएका थिए। सबैका पोसाक चिटिक्क परेको थियो। कृष्णेले आफ्नी आमालाई नियाल्यो। आफ्नी आमाको मैलो त्यो पनि दुई/चार ठाउँमा फाटेको सारी देखेर कृष्णेलाई आफ्नी आमा र साथीहरूको आमालाई तुलना गरी ग्लानि भयो।
कृष्णेले आमालाई गुनासो गर्यो— ‘अरूका आमाहरू कति नयाँ–नयाँ लुगा लगाएर आएका छन्। तपाईं मात्र सेतो र मैलो लुगा किन लगाउनु भएको आमा? मलाई त तपाईंलाई आमा भन्न पनि लाज लाग्छ।’
कृष्णेले यसो भन्दा पनि आफ्ना छोरालाई गर्लम्म अँगालो हाली कृष्णेकी आमाले दुई/चार थोपा आँसु झार्न बिर्सिनन्।
कृष्णे दश वर्षको हुँदा आमा नियमित रूपमा दमको औषधि सेवन गरिरहन्थी। उसलाई त्यो औषधिको झोल कुनै फलफूलको झोल जस्तो लाग्यो। उसले एक्लै त्यो झोल खाँदा आमालाई भन्थ्यो— ‘आमा, मलाई पनि स्याउको रस।’
आमाले यो खानुहुन्न बाबा भन्दा कृष्णेले रिसाउँदै भन्थ्यो— ‘तपाईं त कस्तो नहुने, एक्लै खानुहुन्छ। मलाई त माया पनि गर्नुहुन्न।’
आज कृष्णे अठार वर्षको किशोर भइसकेको छ। उसको ओठमाथि जुँगाको रेखी पनि बसिसकेको छ। आज उसलाई जीवन र मृत्युको बारेमा राम्रै बोध भइसकेको छ। छ वर्ष भयो आमाले पनि संसार छोडेर कृष्णेलाई टुहुरो बनाई गएको। आमासँग जोडिएका एक–एक संस्मरण सम्झिँदै आउँदा मन चिस्याउँछ।
आज कृष्णेले आफ्नी स्वर्गीय आमाको नौ वर्ष अघिको सेतो वस्त्र लगाएको फोटोमा हेरी भन्छ— ‘एउटी विधवा गरिब आमाले आफ्नो सन्तानको लागि त्योभन्दा बढी त्याग अरू के नै गर्न सक्थ्यो र!
कृष्णे आज धुरुधुरु रोयो।