डाँडाघरे बाहुन कान्छो बिहानै उठेर आँखा मिच्दै बस्तुभाउको खोले भकारा गर्न आफ्नो गाई गोठतिर जान्छ। उसलाई देख्ने बित्तिकै उग्राइरहेका गाई बाछाहरू पुच्छर हल्लाएर आफ्नो जीउमा बसेका भुसुना धपाउँदै जर्याकजुरुक उठ्छन्।
सधैँ आफूलाई देख्ने बित्तिकै खोले खान जुरमुराउने गोरुहरूलाई एक्कासि थलोमा नदेख्दा एकपल्ट कान्छोको सातोपुत्लो जान्छ।
’हरे शिव! मेरा खेतबारी जोत्ने हलगोरु दाम्लो चुँडालेर कता मुन्टिएछन् हौ,’आत्तिएको स्वरमा कान्छो कराउन थाल्छ।
आफ्नो पोइ भुतभुताएको सुनेर बिहानको चिया पकाउन अगेनोमा आगो फुक्दै गरेकी कान्छी पनि अत्तालिँदै दौडेर गोठमा आइपुग्छे।
‘के भो हौ कालेका बाबु? एकाबिहानै किन यसरी चिच्याउँछौ?’ कमरको खुकुलिएको पटुका कस्दै कान्छीले आफ्ना बुढालाई सोध्छे।।
’हेर न कान्छी, हिजो दिनभर तोरी बारी जोतेर साँझपख डुँडभरि घाँस पराल हालिदिएर बाँधेका हाम्रा हलगोरु गोठबाट गायब भएका छन्। कुन पापीको आँखा लाग्यो हौ हाम्रो हलगोरुमा?’कान्छाले निन्याउरो मुख लाउँदै कान्छीसँग मनको बह पोख्छ।
वरिपरि देखे जति ठाउँमा खोज्दा पनि गोरु नभेटिएपछि डाँडाघरे लोग्ने-स्वास्नी बिलखबन्दमा पर्छन्। आफ्नो पहिलो बेते लैनो जर्सी गाईसँग साटेर ल्याएको हलगोरु हराउँदा कान्छाकान्छीलाई पर्नु पिर पर्छ। कान्छो हातमा एउटा लाठो बोकेर गोरु खोज्न गाउँतिर लाग्छ। उसले बिहानभरि यताउता भौँतारिँदा पनि आफ्ना हराएका गोरुहरू भेट्दैन।
ऊ दिक्क भएर आफ्नो घर नजिकै पर्ने खरिबोटे भनिने सँधियारको मकैबारीको डिलमा बसेर पुर्पुरोमा हात लगाई टोलाउन थाल्छ। नाकको टुप्पोमा रिस भएको खरिबोटेको घोगा लाग्न आटेको मकैबारी भित्रबाट कर्याक-कर्याक गर्दै केही चपाएको आवाज आउँछ। त्यस्तो आवाज सुनेर कान्छो मकैबारी भित्र पस्छ र त्यहाँ उसका गोरुहरू चरिरहेको दृश्य देखेर ऊ स्तब्ध हुन पुग्छ।
आफ्नो गोरुले झगडालु स्वभाव भएको खरिबोटेको बाली खाएको देखेपछि अब कति हर्जाना तिर्नु पर्ने होला भन्ने डरले उसका ओठ तालु सुक्न थाल्छन्। एकछिनपछि उसलाई अर्काको बिगार गर्ने गोरुलाई देख्दा उसको रिसको पारो तातेर तिनीहरूका टाउकामा हातमा बोकेको कठबाँसले हानेर ड्याम्मै ढालिदिऊँ कि जस्तो लाग्छ तर आफ्नो मालिकलाई देखेर उसका गोरुहरू बाँ-बाँ गर्दै उसको नजिक आएर उसलाई सुँघ्न थाल्छन्।
आफ्ना अनजान पाल्तु जनावरले आफूप्रति दर्साएको प्रेम देखेर कान्छाका आँखा रसाउँछन्। कान्छाले तिनीहरूको अपराधलाई मनमनै क्षमा गरिदिन्छ र रातभरि चरेर डम्म अघाएका आफ्ना गोरुहरूलाई लिएर आफ्नो घरतिर जान्छ।
बाजेबराजुको पालादेखिकै अग्लो खरीको बोटकै आडमा घर बनाएर बसेकाले राई जेठोलाई गाउँलेहरूले खरिबोटे जेठो भनेर बोलाउँछन्। आज मध्यान्नतिर खरिबोटेको घरमा ऊ र उसकी जोई खरिबोटेनी जेठीको ठाकठुक परेर झगडा गरे जस्तो आवाज आउँछ।
’ए बुढा! कति सुत्छौ हौ दिउँसो मासो? जतिखेर पनि जाँड खायो, सुत्यो। खुरुक्क उठ अब। गाईबाख्रा कराएर कानै खान आँटिसके। हिँड डोको बोकेर मकैबारीमा घाँस काट्न,’ जाँडले टिल्ल भई आँगनमा हिउँदे घाम ताप्दै गुन्द्री ओच्छ्याएर उँगिरहेको खरिबोटे जेठोलाई झकझकाउँदै उसकी श्रीमती कराउन थाल्छे।
’कति कराउँछे हाउ यो कचकचे राइनी। एकछिन घाममा सुत्या पनि देख्नै सक्दिन,’ रमरम मातेर राई लवजमा फतफताइरहेको जेठोले सुत्दा सिरानी छेवैमा खोलेर राखेको ढाकाटोपी शिरमा लगाउँदै जुरुक्क उठ्छ।
ऊ मकै छोडाउँदा आँगनमा छरिएका मकैका दानाहरू खाइरहेका कुखुराहरूलाई हा हा गरेर धपाउँदै गाई गोठतिर जान्छ। उसलाई देखेर भोकाएका गाईबाख्राहरू झन् चर्को स्वरले कराउन थाल्छन्।
’ल हिँड् जेठी! डाँडाघरेको साँधमा पर्ने मकैबारीमा घाँस काट्न जाऔँ,’ थाप्लोमा नाम्लो भिरेर ढाडमा खांग्रे डोको बोकेको खरिबोटेले हातमा हँसिया हल्लाउँदै जेठीलाई हुटहुटी लगाउन थाल्छ।
दुवै बुढाबुढी मकैबारीतिर घाँस काट्न जान्छन्। आफ्नो मकैबारीमा पुगेर त्यहाँको नजारा देखेपछि खरिबोटे दम्पती आकाशबाट खसे झैँ हुन्छन्। आफूले साँचेर राखेको घाँस र लहलह परेका मकैका बोटहरू कसैका गाईबस्तुले चरेर सखाप पारेको देखेर रिसले चुर भएका खरिबोटे दम्पती डोकोनाम्लो बारीमै फालेर नानाथरी फलाक्दै गाउँको बिचैमा रहेको चौतारीमा आएर कुर्लन थाल्छन्।
उनीहरूको गर्जन सुनेर वरिपरिका छिमेकीहरू चौतारीमा भेला हुन्छन्।
’ए खरिबोटे! के यस्तो आपत् आइलाग्यो र यसरी आकाशै झरेर थिचे जस्तो गरी चर्किँदै कराउँछौ दुवै लोग्ने स्वास्नी?’ भिडको बिचबाट गाउँमा सबैले मानेका र गाउँमा मुखियाको भूमिका खेल्दै आएका एवम् सबैलाई निष्पक्ष भएर निसाफ दिने माइलाबाले खरिबोटेलाई हातको इसाराले शान्त भएर सबै सामु आफ्नो कुरो राख्न आग्रह गर्छन्।
‘हेर्नु न माइलाबा! मेरो दस पाथी मकै फल्ने बारीमा कुन चाहिँ असतीले गाईबस्तु चराएर विध्वंस मच्चाएछ। हाम्रो वर्षदिन खाने अन्न सखाप भयो। अब हामीले के खानु? ढुङ्गा खानु?’ रिसले आगो भएकी खरिबोटेनी जेठीले आफ्नो गुन्यु घुँडासम्म उचाल्दै माइलाबा सामु आफ्नो व्यथा पोख्छे।
‘म त्यो वस्तु छाडा छोडेर मेरो बाली खुवाउने फटाहालाई भेटेँ भने दुई टुक्रा पार्छु,’ हातमा सिरुपाते खुकुरी नचाउँदै खरिबोटेले त्यहाँ भेला भएका गाउँले सामु झोक्किँदै आफ्नो मनको बह पोख्छ।
आफ्नो अन्नबालीको सर्वनाश हुँदा रिसले बहुलाएर अनियन्त्रित भएको खरिबोटेलाई माइलाबाले चौतारीमा बसेर सबै सामु शान्तिपूर्वक आफ्नो कुरा राख्न आदेश दिन्छन्। माइलाबाको आदेश सुनेर खरिबोटे जेठाजेठी शान्त हुँदै चौतारीको एउटा कुनामा बस्छन्।
’मेरो बालीको खती गर्ने जो कोही भए पनि उसले सबैको सामु आफ्नो गल्ती स्वीकार गरेर दस पाथी मकै बिगो भरोस्, अन्यथा त्यसले जमिनमुनि गएर लुके पनि त्यसलाई म त्यतिकै छोड्ने छैन,’ माइलाबालाई देखेर केही हच्किएको जब्बर खरिबोटेले गाउँले सामु अलिक मत्थर हुँदै आफ्नो कुरा राख्छ।
’हे गाउँले हो! कसको वस्तुले खरिबोटेको मकै खाएको हो? नढाँटी भन नत्र भने दुगुना दण्ड तिर्नुपर्ला,’ माइलाबाले ठुलो स्वरमा कराएर त्यहाँ भेला भएका गाउँलेसामु उर्दी जारी गर्छन्।
माइलाबाको कुरा सुनेर गाउँलेहरू एक अर्कासँग मुखामुख गरेर कल्याङकुलुङ गर्न थाल्छन्।
’खरिबोटे दाइको बाली मेरै हलगोरुले खाएको हो। मैले पनि जानाजान दाइको बाली खुवाएको होइन। रातको समयमा मेरा असती डिँगाहरू फुकेर उनका मकैबारीमा चर्न पसेछन्,’ झगडालु र भाङ्जा स्वभाव भएको खरिबोटेको डरले लगलग काँपिरहेको डाँडाघरे कान्छोले गाउँले सामु घटनाबारे तथ्य कुरो बताउँछ।।
’पख तँ असती। तँलाई गोर्खे लौरी कसेर सिस्नुपानी नलगाई कहाँ छोड्छु र?’ कान्छोको कुरा सुनेर रिसले बौलाएको खरिबोटे आफू बसेको ठाउँबाट जुरुक्कै उठेर ढुङ्गा उजाउँदै डाँडाघरे कान्छोतिर जाइलागेर उसको कठालो समाती भुईँमा पछार्छ।
बिहानै जाँड धोकेर उधुम मच्चाइरहेको रिसाहा खरिबोटेलाई गाउँलेहरूले च्याप्प समाएर शान्तिपूर्वक वार्ताबाट समस्याको समाधान खोज्नुपर्छ भनेर सम्झाइ बुझाई गरी चौतारीमा बसाउँछन्।
’हे खरिबोटे! तँ पनि आफ्नो रिसलाई काबुमा राखेर अरूको पनि कुरो सुन्ने गर्,’ माइलाबाको आदेशलाई खरिबोटेले टाउको हल्लाएर सहमति जनाउँछ।
’हेर् कान्छो! तेरो गोरुले खरिबोटेको बाली खाएर बिगार गरिहालेछ। उसको पनि वर्षदिन खाने अन्नको क्षति भइहाल्यो। तैँले सहमतिअनुसार बिगो भर्नै पर्छ।’
‘हुन्छ माइलाबा। म तोकिएको बिगो भर्न तयार छु,’डाँडाघरे कान्छोले माइलाबाको प्रस्तावलाई निसर्त स्वीकार गर्छ।
’हेर् खरिबोटे! एउटै गाउँमा बसेपछि छिमेकीबिच जानी नजानी सानातिना गल्ती त भइहाल्छन् नि। यस्ता झिनामसिना कुरालाई तिलको पहाड बनाएर इख लिनु ठिक हुँदैन। छिमेकी भनेका ज्युँदाका जन्ती र मर्दाका मलामी हुन्। आज गरिब कान्छोलाई परेको चोट भोलि तँलाई पनि नपर्ला भन्न सकिन्न। त्यसैले तँ गाउँको केही हुँदोखाँदोले कान्छोबाट बिगो स्वरूप पाँच पाथी मकैमा चित्त बुझाउनु पर्छ,’ माइलाबाले आफ्नो राय व्यक्त गर्छन्।
आफूले सोचे झैँ दस पाथी बिगो भरपाई नपाउने भएपछि खरिबोटे जुरुक्क उठेर च्याँठिँदै जङ्गिन थाल्छ। आफ्नो सन्काहा खसमको रवैया देखेर जेठीले खरिबोटेलाई शान्त रहन अपिल गर्दै उसको हात तानेर चौतारीमा थ्याच्चै बसाउँछे।
’हामीलाई पाँच पाथी बिगो मन्जुर छ’ भन्दै गाउँमा सबैसँग मिल्ने स्वभावकी नम्र खरिबोटेनी जेठीले उठेर आफ्नो राय व्यक्त गर्छे।
आफ्नी स्वास्नीको कुरा काट्न नसक्ने खरिबोटेले पनि अन्ततः तोकिएको बिगोमै सहमति जनाउँछ। उता चिन्ताको भारी बोकेको डाँडाघरेले पनि बिगोको सहमति पश्चात् आफ्नो टाउको हलुका भएको महसुस गर्छ।
माइलाबा र गाउँलेको अगाडि हुन्छ भनेर मुन्टो हल्लाए पनि आफूले सोचे जति बिगो नपाउने भएपछि खरिबोटे डाँडाघरे कान्छोसँग भित्रभित्रै रिसले मुरमुराइरहेको हुन्छ। कचहरी बसेको भोलिपल्ट एकाबिहानै रमरम मातेको खरिबोटे कान्छोको आँगनमा गएर नानाथरी फलाक्न थाल्छ।
कान्छाकान्छीले उसलाई नम्र हुँदै सम्झाउन थाल्छन् तथापि खरिबोटे कराउन छोड्दैन। आफ्नो खसम कराएको सुनेर एकछिनपछि खरिबोटेनी पनि त्यहाँ आउँछे र आफ्नो श्रीमानलाई धकेल्दै घरतिर लैजान्छे। खरिबोटे र कान्छोको सम्बन्ध बिस्तारै चिसिएर अन्ततः पानी बाराबारसम्म पुग्छ।
चैत महिनाको हावाहुरीले राती अगेनाको भुङ्रोबाट आगो सल्किएर खरिबोटेको घरमा आगो लाग्छ। हेर्दा हेर्दै उसको घर र गोठमा आगो दनदनी बल्न थाल्छ। अप्रत्याशित विपद्ले आत्तिएका खरिबोटे दम्पती आफ्ना लालाबाला लिएर आँगनमा आएर चिच्याउन थाल्छन्।
उनीहरूको आर्तनाद सुनेर छिमेकीहरू घटनास्थलमा आउँछन् र कसैले गोठमा बाँधेका गाईबस्तुलाई फुकाएर सुरक्षित स्थानतिर लैजान्छन् भने कसैले सेउला र पानीको सहायताले आगो निभाउने प्रयास गर्छन् ।अथक प्रयासको बाबजुद पनि गाउँलेहरू आगो निभाउन असफल हुन्छन्। फलस्वरूप हेर्दाहेर्दै खरिबोटेको घरगोठ जलेर ध्वस्त हुन्छ। आगजनीले मान्छे र चौपाया हताहत नभए पनि घरमा भएका सम्पूर्ण मालमत्ता जलेर नष्ट हुन पुग्छ।
’हे भगवान्! हामीले कुन जन्ममा पाप गरेका थियौँ र आज यो दिन देख्नुपर्यो। अब हामी यी लालाबाला लिएर कहाँ बस्नु र के खानु?’ सर्वस्व जलेर बेघर हुन पुगेका खरिबोटे दम्पती गाउँलेका अगाडि छाती पिटीपिटी रुन थाल्छन्।
बिस्तारै बिस्तारै आगो शान्त हुँदै गएर झ्याप्पै निभ्छ। वरिपरि मडारिरहेको कालो धुवाँ आकाशतिर गएर बिलाउँछ। जूनको टहटह उज्यालोमा आडैको खरिबोटमुनि बसेर टिठ लाग्दो अनुहार लगाएर आफ्नो जलेको घरगोठ हेर्दै पिलपिलाइरहेका खरिबोटेको परिवारलाई सहानुभूति दिँदै गाउँलेहरू आ–आफ्ना घरतिर लाग्छन्।
मद्दत गर्न आएका सबै गाउँलेहरू घर फर्किए पनि रातको मध्य प्रहरमा रुखमुनि बसिरहेका लाचार खरिबोटेको परिवारको दुर्दशा देखेर उनीहरूलाई नजिकैबाट नियालिरहेको डाँडाघरे कान्छोको आँखा रसाउँछ।
‘हिँड खरिबोटे दाइ। मेरो घरमा बास बस्न जाऔँ। तिम्रो घर नबनुन्जेल हामी दुवै परिवार एउटै छानोमुनि मिलीजुली बसौँला। मेरो घरमा पाक्ने रुखोसुखो बाँडिचुँडी खाऔँला,’ विगतका दुस्मनीहरू बिर्सेर खरिबोटेको छेवैमा गएर डाँडाघरे कान्छोले उसको कुम थपथपाउँदै भन्छ।
कान्छोको कुरा सुनेर खरिबोटे कान्छोलाई अँगालो हालेर ग्वाँ-ग्वाँ रुन्छ। यसरी मध्य राति एउटा असल छिमेकीले गर्नुपर्ने कर्तव्य पूरा गर्दै कान्छोले खरिबोटेको परिवारलाई आफ्नो घरमा लगेर आश्रय दिन्छ।