प्रश्न आफैलाई, हामी कस्ता?
अरूको इसारामा रनभुल्ल पर्ने
मित्रलाई टाढा राखी, दुस्मनलाई अँगाल्ने
हे बरै! कठपुतली पनि धोका पाएपछि
अस्तित्व खोज्न तम्सिन्छ
हामी त आफूले आफैलाई हराउने
गुनीलाई अलबिदा, खुनीलाई डोर्याउने
साँच्चै हामी कस्ता?
आफै सिकारी,आफै सिकार जस्ता
आफ्नै पासो,आफ्नै लास जस्ता
जिउँदो हुँदा आफैबाट काटमार
मर्दा-पर्दा एक्लै भए जस्ता।
शिष्यले गुरुको इमान बेच्ने
देशलाई पराधीन पार्नै सोच बोक्ने
जोगी हुन ती जो राष्ट्रलाई मिच्ने
टुक्रे-टुक्रे सूचना छन्
विचार, पद्धतिलाई लत्त्याउने
हामी त पेन्डुलम जस्ता
देश नै बेच्ने घोषणापत्र बोकी हिँड्छौँ
वस्त्र फेर्छौँ अनेकन् रूप उही
हामी कस्ता?
नयाँ बोतलमा पुरानो रक्सी बेच्ने भट्टी जस्ता
गर्दन आफ्नो, कटाई मौसुफ खुसी पार्नै जस्ता
सयौँ गोरेटोमा हिँडेर पनि
मूलबाटो कहिल्यै नभेटे जस्तो
आफूलाई पढ्ने समयमा
शास्त्रबाट चिना हेर्नै अनपढ जस्तो
प्रश्न आउँछ, हामी नेपाली कस्तो?
आफ्नै अस्तित्व बिर्सिएर
परिचय, कुण्डली खोज्न हिँडे जस्तो।
न भाषा, न शैली
न विधा, न बुद्धि
न ज्ञान, न विज्ञान
न चिन्यौँ आफूलाई, न चिन्न सक्यौँ अरूलाई
आफ्नै खुट्टामा बन्चरो
शिर टक्राउँछौँ अरूको खुट्टोलाई
शान्तिको सौदाबाजी अराजकसँग
रणभूमि बन्छ नागरिकसँग
हामी कस्ता?
तालबाट नदी, नदीबाट समुद्र बने पनि
न बग्यौ, न बग्न सिक्यौँ
खहरे भेलले उठीबास लगाएको
उजाड बस्ती जस्ता।