स्ववियुको निर्वाचन मिति तय भएसँगै क्याम्पसको माहौल नै परिवर्तन भएको थियो। विभिन्न विचारधारा लिई प्रस्तुत भएका विद्यार्थी सङ्गठन समूह र दल दर्ता भई निर्वाचनमा होमिएका, पढाइलाई केही समय विश्राम दिई राजनीति र कूटनीति बुझ्न लागि परेका, क्याम्पसमा गर्नु पर्ने सुधारको योजना बनाउने र आफ्नो सङ्गठनलाई भोट माग्दै हिँडेका युवा-युवतीको जमातले क्याम्पसमा छुट्टै रमाइलो र उमङ्ग बढाउँदै गएको थियो।
झन् लगातार २० वर्ष देखिको विरासत बोकेको सङ्गठनबाट सभापति पदको उम्मेदवार लिएको मैले, मेरो लागि इतिहासमा नाम लेख्ने अवसरको कारण म आफै नि दङ्ग थिएँ। सबै खाले भूमिका निर्वाह गर्दै आफ्नो प्रतिस्पर्धीको योजना, लक्ष्य, सुधारक कुराहरू र अन्य विभिन्न खाले गतिविधिहरूलाई निहालिरहेको थिएँ।
म र मेरो जित सङ्गठनको विश्लेषणात्मक अभ्यासपछि कडा प्रतिस्पर्धा अन्य समूह वा सङ्गठनसँग नभए नि सभापतिमा भने स्वतन्त्र विचारधारा लिएर आएकी श्रुतिसँग हुने अड्कलबाजी भने भइसकेको थियो। क्याम्पस एउटै भएको कारण र सभापतिमै उम्मेदवार भएका कारण मैले उनिलाई नजिकैबाट चिन्न कोसिस गर्दै थिएँ। उनले गर्ने कुराकानी, योजना, लक्ष्य र क्याम्पस प्रतिको माया देखेर म पनि छक्क परेको थिएँ।
उनको र मेरो योजना प्रायः समान नै थिए तर प्रस्तुत गर्ने शैली भने फरक थियो। म स्वतन्त्रताको कुरा गर्थेँ, उनी अनुशासन सहितको स्वतन्त्रताको कुरा गर्थिन्। म नेतृत्व विकासको कुरा गर्थेँ, उनी महिला नेतृत्व विकासको बारेमा चर्चा गर्थिन्। म न्यायको विषयमा आफ्ना तर्क प्रस्तुत गर्थेँ भने उनी समान न्यायको विषयमा प्रस्तुत हुन्थिन्। म अनुसन्धानको विषयमा वकालत गर्दा उनी भने नवीनतम अनुसन्धानको वकालत गरेको हुन्थिन्।
स्वच्छ छवि, निडर, निरन्तरता, निष्पक्षता र जिम्मेवारी वहन गर्ने क्षमता र अन्य यस्तै कारणले म उनीसँग प्रभावित पनि भएको थिएँ।
मौन समय सुरु भएको थियो निर्वाचनको। यो समयमा हामी सबै मौन थियौँ। सबै साथीहरू जित सङ्गठनको जितको आधारहरू खोज्दै थिए, विश्लेषण गर्दै थिए। सबैको मनमा चुनावमा के होला भन्ने थियो तर नि हामी खुसी थियौँ। अरू क्याम्पसमा झगडा भएर चुनाव स्थगित भइराख्दा हाम्रोमा भने चुनाव हुने भएको थियो।
मौन समय सकिएसँगै निर्वाचन सुरु भयो। सबै जना अनुशासनमा थिए, सफल ढङ्गबाट चुनाव सकिए लगत्तै मतगणना सुरु भयो। कडा सुरक्षाको घेराभित्र उम्मेदवारहरू राखेर मतगणना सुरु हुँदै थियो। सबै जना व्यग्र प्रतीक्षामा थिए। सबैको मनमा धेरै प्रश्नहरू थिए जस्तै कि- विरासत के हुन्छ? सभापतिमा कसले जित्छ? जिते पछिको माहौल के हुन्छ? यस्तै यस्तै।
दुई हजार विद्यार्थी भएको क्याम्पसमा १७२५ मत खसेको रहेछ। सदर भएको मत भने जम्मा १७ सय, २५ मत विभिन्न कारण बदर भएको थियो। मतदान अधिकारीले सदर भएको मत गन्न सुरु गरेसँगै सबैको मनमा डर प्रस्टसँग देखिन्थ्यो।
मैले एक फेर उनीतिर हेरेँ। उनी निर्धक्क थिइन्। अनुहार उज्यालो थियो। बेचैनी कतै पनि थिएन। लगभग मतगणना सकिन लागेको थियो, सभापति बाहेक सबै पदमा मत अन्तर धेरै भए पनि सभापतिको पदमा भने ४ भोटले मात्र अघि थिएँ म उनीसँग।
१० भोट गन्न बाँकी, ४ भोटको अन्तर। आफै विचार गर्न सक्नु हुन्छ मुटुको ढुकढुक कतिसम्म बढेको थियो भन्ने। यति बेला पनि मैले उनीतिरै हेरेँ। उनले नि मलाई हेरिन्। ममाथि डर हाबी पाइरहेको बेला उनमा भने त्यो एक थोपा नि देखिएको थिएन।
उनले हँसिलो पारामा भनिन्- ‘जित सङ्गठनकै जित हुन्छ, के बिना कालो भएको!’
यति भनेपछि मतगणना स्थलमा एकछिन हाँसोको सुवास छर्लङ्ग देखियो। म नि मुस्किलले हाँसेँ।
मतगणना सकियो, म छाँगाबाट खसेँ। मेरा साथीहरू हाँस्ने कि खुसी हुने टुङ्गो पाउन सकेका थिएनन्। विरासत कायम भयो कि भएन भनेर सबै साथीहरूले विश्लेषण गर्न सकेका थिएनन्। यसैबिच मतदान अधिकारीले क्याम्पसको बाल्कोनीमा आएर सबै पदमा जित सङ्गठन र सभापतिमा भने ३ भोटले स्वतन्त्रतर्फबाट श्रुति सिग्देल विजय भएको घोषणा गरिदिनु भयो।
क्याम्पसमा खुसी र दुखी एकै फेर आएको थियो। म उसै त कालो झन् कालो भएको थिएँ। मेरो हारको कारण कोही साथीहरू विरासत कायम गर्न नसकेको भनेर रिसाए, कोही मेरो हारमा मौन भए, कोहीले पानीमरुवा भनेर गाली गरे, कोहीले सान्त्वना दिए।
मैले के भन्ने, के गर्ने, के बोल्ने मेसो पाएको थिइनँ। यसैबिच उनी मतर्फ अघि बढिन् र हँसिलो अनुहारमा निर्धक्क भएर भनिन्, ‘बधाई छ!’
मैले सोधेँ, ‘किन?’
उनले जवाफ दिइन्, ‘आफू हारेर पनि साथीलाई जिताउन सक्ने त कोही महान् नै हुन्छ नि हैन र?’
म अलमल्ल परेँ। उनले मिलेर काम गर्न सहयोग मागिन्। मैले हुन्छ भन्दै सबै साथीहरूसँग परिचय गराइदिएँ।
मेरा जितेका साथीहरू खुसी हुन सकेका थिएनन्। यसैबिच हामी सबै बाल्कोनीमा निस्क्यौँ। मनमा भएको डरलाई हटाएर, हँसिलो मुहार बनाई अनि ठुलो स्वरमा सबैलाई मैले भनेँ, ‘स्वच्छ छवि, निडर, निरन्तरता, निष्पक्षता र जिम्मेवारी वहन गर्ने क्षमता भएको विद्यार्थी र विरासत बोकेको जित सङ्गठनको विजय भएको छ, उत्सवको तयारी गर।’
सबै साथीहरू खुसी भएर नाच्न, गाउन, रमाउन थाले। हर्ष र उमङ्गले क्याम्पस पनि दङ्ग पर्दै थियो। विजय भएकाहरूलाई अबिर माला के-के हो के-के, लाग्थ्यो कुनै चाडपर्वमा हामी सबै रमाउँदै थियौँ। म पनि यही रमाइलो र क्याम्पसको इतिहासको पात्र हुन सकेको खुसीयालीमा रमाउँदै गएँ।
साँच्चै नै सभापतिको उम्मेदवारभन्दा माथि उठेर विद्यार्थी भएर हेर्दा मैले चुनाव हारेर नि कुशल सभापति पाएको थिएँ। महिला नेतृत्व पाएको थिएँ। सङ्ठनको साथीहरूको माया पाएको थिएँ। एउटा मिठो भोगाइ पाएको थिएँ।
अझ योभन्दा बढी मैले स्ववियुको सभापतिमा उनलाई पाएको थिएँ। त्यसैले त मैले चुनाव हारेर नि उनलाई पाएँ।