स्कुलको प्रार्थना भेलाको समय थियो। राष्ट्र गान र सरस्वती वन्दना त सकिसकेको थियो, तर केही काम अझै बाँकी नै थियो।
‘टुडे, दियर इज गोइङ टु बी नेल चेकिङ। दोज हु ह्याभ नट कट नेल्स, विल गेट पनिशमेन्ट,’ प्रिन्सिपल सरले घोषणा गर्नु भयो।
चार कक्षाको लाइनमा बिचतिर उभिएकी विनिताले ‘नेल चेकिङ’ र ‘पनिशमेन्ट’ भनेको बुझिहाली र झट्ट आफ्ना दुवै हातका नङ हेरी। आजै काटेको नभए पनि देखिने गरी नङ लामा भइसकेका थिएनन्।
स्कुलमा कहिलेकाहीँ यसरी अचानक नङ जाँच हुनु नौलो कुरा थिएन। लाइनमा उभिएका हरेकलाई एक-एक गरी औँला फिँजाएर दुवै हात देखाउन लाउँदा जसको हातमा नङ आजै काटेको जस्तो देखिन्थ्यो, ऊ बच्थ्यो। जसको नङ अलिकति लामो देखिन्थ्यो, उसले गलामा एक चड्कन पाउँथ्यो।
दिव्या मिसले एक कक्षाको लाइनदेखि काम सुरु गर्नु भयो। यसरी एकदेखि पाँच कक्षाका लाइनमा हरेकलाई एक-एक हेर्नु पर्ने भएकोले केही बेर समय लाग्थ्यो। परको लाइनमा एउटाले कुटाइ खाएको विनिताले थाहा पाई। आफू उभिएको ठाउँबाट छेलिने भएकोले को हो भनेर ठ्याक्कै चिन्न सकिन उसले। तर खासखुस र गाइँगुइँबाट कुटाइ खाने दुई कक्षाको मन्दिप हो भन्ने थाहा पाई।
एक-एकको हात हेर्दै दिव्या मिस विनिताको दायाँपट्टिको लाइनमा आइपुग्नु भयो। हात ओल्टाइ-पल्टाई आफैँले धेरै पटक पटक हेरिसकेकी भए पनि नङ लामो हो वा छोटो हो भन्नेमा विनिता निश्चित हुन सकेकी थिइन। धेरै देखिने गरी लामो पनि थिएन तर आजै काटेको पनि होइन। ऊ आफ्नै नङलाई कुनै बेला छोटो त कुनै बेला लामो देख्न थाली। आँखामा त्रास र मुटुमा जोडको धड्कन बोकेर आफ्नो पालो पर्खेर उभिइरही विनिता।
दायाँतिर केटाहरूको लाइनमा त एक जनाले एक चड्कन मात्रै होइन, दुवै गालामा एक-एक चड्कन पायो। ‘यु स्टुपिड! यु नट्टी बोइ!’ भन्दै दिव्या मिसले अरू पनि चड्कन लाउन तम्सिए जस्तो देखियो। किन हो विनिताले कुरा बुझिन।
‘निकेशले हात लुकाउन खोज्यो अरे, त्यसैले दुई झापु खाएको,’ पछाडिबाट खासखुस र गाइँगुइँ सुनी विनिताले। उसको मुटु अझै जोडजोडले ढुकढुक गर्न थाल्यो।
चार कक्षाका केटाहरूको लाइन सकेर केटीहरूको लाइन सुरु भयो। लाइनको सुरुमै उभिएकी रोजिनाका घोप्टिएका हत्केला नियालेर हेर्दै दिव्या मिसले गर्जेर भन्नुभयो, ‘जस्ट भर्बल वार्निङ फर टुडे। बी स्योर टु ट्रिम, ह्वेन यु गो होम।’
पर उभिएका प्रिन्सिपल सरले कराएर भन्नुभयो, ‘दिव्या मिस!’
सबैले प्रिन्सिपलतिर हेरे।
‘नो भर्बल वार्निङ टुडे। जस्ट गिभ पनिशमेन्ट,’ प्रिन्सिपल सरको यो घोषणा सुनेर विनिताको अनुहार नीलोकालो भयो।
प्रिन्सिपलले आदेश दिएपछि दिव्या मिसले रोजिनाको गालामा पनि कसेर एक थप्पड लाउनु भयो। त्यसै बेला प्रिन्सिपल सर नजिकै आइपुग्नुभयो र त्यहीँ उभिएर ‘पर्सनल हाइजिन’ को बारेमा बताउन थाल्नुभयो, ‘इफ यु डन्ट क्लिन योर ह्यान्ड, यु विल बी सिक। हाइजिन इज भेरी इम्पोर्टेन्ट फर आवर हेल्थ …’
बोल्न थालेपछि अलि लामै बोल्नु हुन्थ्यो प्रिन्सिपल सर। उहाँले बोलुन्जेल दिव्या मिस पर्खिएर उभिइरहनु भयो।
सर एकोहोरो बोल्दै हुनुहुन्थ्यो तर थाहै नपाई विनिताको दिमागमा भने कता-कताका कुराहरू घुम्न थाले। सम्झनामा विगतमा आफूले पाएका सजायका घटनाहरू सलबलाउन थाले। क्लास वानमा एडिसन र सब्ट्रयाक्सन अनि क्लास टुमा मल्टिप्लाई र डिभिजन कसै गरे पनि बुझ्न नसक्दा सर र मिसहरूले दिनदिनै औँलाको बिचमा पेन्सिल च्यापेर घुमाएको झलझली सम्झी उसले। क्लास थ्रीमा चाहिँ उसलाई म्याथभन्दा पनि बढी ड्रइङले पिरेको थियो। कोही कोही साथीहरू राम्ररी मिकी माउस पनि बनाउन सक्थे तर विनितालाई चाहिँ आफूले एउटा सग्लो स्याउ पनि बनाउन नसकेको पछुतो मनमा अझै थियो। आँप बनाई भने पनि नमिलेको, धेरै लाम्चो र धेरै चुच्चो हुन्थ्यो। मिसले बेलाबेला औँलामा डस्टरले धेरै चोटि चुट्दा पनि उसले न त राम्ररी आँप बनाउन जानी, न त ड्रइङको जाँचमा उसको कहिल्यै राम्रो मार्क्स नै आयो।
आखिरीमा दिव्या मिस विनिताको सामु आइपुग्नुभयो। मुटुको तेज धड्कनलाई जबरजस्ती सहन आफ्ना दुवै ओठ दाँतले च्याप्दै विनिताले दिव्या मिसका सामु घोप्टिएका हत्केलाका औँला फिँजाएर देखाइदिई। मिसले एक पल गौर गरेर हर्नुभयो। त्यसपछि ‘ओके’ भन्दै अर्की विद्यार्थीतिर लम्किनु भयो। राहतको लामो सुस्केरा छोडी विनिताले। खुसीले गद्गद भई विनिता।
सबैको नेल चेकिङको काम सकिएपछि अन्त्यमा प्रिन्सिपल सरले आफ्नो लामो स्पीच सुरु गर्नुभयो। अरू दिन भए उहाँले बोलेको कुरामा विनिताले दुई वटा शब्द बुझ्थी- ‘डिसिप्लेन’ र ‘हार्ड वर्क’ जो उहाँ पटक-पटक दोहोर्याएर बोल्ने गर्नु हुन्थ्यो। तर आज त उसलाई ती दुई मात्र शब्दमा पनि ध्यान गएन।
सजाय नपाएको खुसी साम्य भएको थिएन उसको मनमा। कुनै खेलकुद प्रतियोगितामा विजयी भएको जस्तो प्रसन्नताले भरिएर ऊ सजाय पाउनेहरूको नाम मनमा दोहोर्याउन थाली- ‘मन्दिप, निकेश, रोजि … मन्दिप, निकेश, रोजिना …’
त्यसपछि प्रिन्सिपल सरले परबाट एकाएक गर्जिएर भन्नुभयो, ‘नाउ, आइ एम गोइङ टु रिड नेम्स अफ सम स्टुडेन्ट्स। दोज हु हियर देयर नेम, जस्ट स्टे हियर। रिमेनिङ स्टुडेन्ट्स क्यान गो टु क्लास।’
सबैका कान ठाडा भए।
सरले ठुलो स्वरले लामो लयमा नाम पढ्न सुरु गर्नु भयो- ‘मिलन… सबिना… सन्ध्या… प्रशान्त… रोजिना…’
किन र केको लागि नाम पढ्नु भएको हो सरले भन्ने कसैलाई थाहा थिएन। खुसी हुने कुरा हो वा डराउनु पर्ने कुरा हो भन्ने बुझ्न नसकी सबै जना अचम्म मान्दै अचल भएर उभिइरहे। विनिताको मुख उत्सुकता र अनजान भयले आँ भएको थियो।
‘सुमिना… रिकेश…’ प्रिन्सिपल सरले भन्न जारी राख्नु भयो।
यतिन्जेलसम्म आफ्नो नाम नआएकोले विनिताको मनमा थोरै खुसी बढ्न थाल्यो। ‘अब त सकिन लाग्यो होला, अब मेरो नाम आउँदैन होला। हे भगवान्, नआए हुन्थ्यो,’ विनिताले मुठी कस्दै मनमनै भनी।
‘एन्ड द लास्ट नेम इज…’ प्रिन्सिपल सरले अझ ठुलो स्वरले भन्नुभयो, ‘विनिता!’
आफ्नो नाम सुनेर विनिताको शरीर सिरिङ्ग भयो र मुटु फेरि बेस्मारी ढुकढुक गर्न थाल्यो।
‘ओके, दिस इज अल’ प्रिन्सिपल सरले भन्नुभयो, ‘दोज, हु हर्ड देयर नेम, स्टे हियर। रिमेनिङ अल अदर्स, गो टु योर क्लास।’
सरले नाम बोलाउनु भएका बाहेक अरू सबै आ-आफ्ना कक्षामा गए।
‘यु सी द्याट बेन्च ओभर देयर?’ प्रिन्सिपल सरले पर बरन्डामा राखिएको एउटा बेन्चतिर औँलाले देखाउँदै भन्नुभयो, ‘गो देयर एन्ड स्ट्यान्ड अन इट, एन्ड क्याच योर बोथ इयर्स।’
उज्यालो घाम लागेको त्यो प्राङ्गणमा एकाएक निस्तब्ध रातको जस्तो सन्नाटा छायो।
‘ह्वाइ सर?’ निकेशले सोध्ने हिम्मत गर्यो।
‘डु एज आइ से एन्ड डन्ट आस्क मी क्वेश्चन,’ सरले रिसाएर भन्नुभयो, ‘आइ विल कम दियर आफ्टर सम टाइम एन्ड टेल यु ह्वाइ।’
रहस्यमय फन्दामा परेका आठ जना बच्चाहरू चुपचाप त्यो परको बेन्चतिर गए र नीलोकालो अनुहार लाएर कान समाएर बेन्चमाथि उभिए।
पाँच मिनेटपछि प्रिन्सिपल सर आएर भन्नुभयो, ‘यु नो ह्वाइ यु आर स्ट्यान्डिङ हियर ?’
आश्चर्य र भयले ग्रसित विद्यार्थीहरूले एकसाथ भने, ‘नो सर।’
‘कान थापेर सुन तिमीहरू,’ उनले गर्जिएर भने, ‘तिमीहरूको फी तिरिएको छैन! कसैको तीन महिनाको बाँकी छ, कसैको दुई महिनाको। अबदेखि जहिलेसम्म फी क्लियर हुँदैन, हरेक दिन तिमीहरूले एसेम्बलीको बेला यही बेन्चमा, यसै गरी उभिने! त्यसपछिको फर्स्ट पिरियड पनि क्लास नजाने, यहीँ उभिइरहने!’
कान समाएर उभिएका विद्यार्थीहरूको अब आँसु चुहिएला जसरी आँखा टिलपिल भरिएर आयो। प्रिन्सिपल सर उनीहरूलाई त्यसै अवस्थामा छोडेर जानुभयो।
विनिताका आँखा आज फर्स्ट भए। हतार हतार हातको बाहुलाले आँसु पुछी उसले। कक्षाका पाठहरू, गृहकार्य, पोसाक र नङका सर-सफाइ जस्ता कुरा सिकेर, बुझेर गर्दा सजायबाट बच्न सकिन्छ भन्ने सिद्धान्त उसले बुझेकी थिई। तर आजको जस्तो समस्यालाई कसरी सिकेर समाधान गर्ने र सजायबाट जोगिने भन्ने रहस्य उसको सानो दिमागले ठम्याउन सकेन।
भय, हीनता र लज्जाले आक्रान्त आँखाबाट गालाभरि अविरल आँसु बगाउँदै त्यस दुरूह अपराधको सजाय कटाउन यातनालयको निर्मम तखतामाथि कालान्तरसम्म उभिइरहे ती निर्दोष विनिताहरू।