घरका शून्य कोठाहरू
मात्र नभएर भान्सादेखि
मानिसका शरीर समेत
केही आभूषणले भरिए
तर
त्यो अतृप्त देह कहिले भरिएन।
सामान मात्र होइन
कोखबाट निकालेर स्याहारेको
मुटुको टुक्रा नै दिइयो
परिस्थितिको कहरमा परेर
सिङ्गो मानिस मात्र होइन
एउटा स्मरणले भरिएको हृदय नै
पठाइयो
सबै बिर्सन र उतैकालाई
आफ्नो बनाउन भनेर तर
एक चौथाइ शताब्दी नै झेलिसक्दा पनि
कहिले तृप्त भएन
कुनै-कुनै एक दुई परा देह र
ओकल्छन्
आफ्ना अतृप्तताहरू
खानाको स्वादमा
हिँडेको चालमा
बोलेको तरिकामा
गरेको परिश्रममा
निभाएको कर्तव्यमा
संस्कारमा, सभ्यतामा
प्रश्न उठेपछि त्यो निरीह
पात्रका कानमा ठोकिन्छन्
उसको आनीबानी
खानदान अनुकूल भएन रे
गरेको कर्म केही नै
भएन रे
र अन्तमा थाहा भयो
नौला नयाँ विदेशी जस्ता
आदि इङ्लिस आदि नेपाली मिसाउने
आदि अङ्ग्रेजी आदि
नेपाली मिसिएको
कपडा लगाउने
आदि जीवन जन्मभूमि
आदि जीवन अन्य राज्यमा
विलासिता खोजेर बिताउने
मानिसहरूका ठुला-ठुला
सुटकेस र चम्किला जुत्ता
ब्रान्डेड घडी
ब्रान्डेड क्रिमहरू
सहितका
आदि नेपाली आदि अङ्ग्रेजी जस्ता
मानिस भेटेपछि त
त्यो लगाएको बेढंगको पहिरन
अनि ढंग नभएका नेपाल र नेपाली
भन्दै राजनीतिक बहस हाँक्ने
ठुला मानिसले
आलिसान महलका सोफा
विदेशी कोसेलीले भरेपछि
दायाँबायाँ आँखीभुइँ हल्लाउँदै
नेपालमा केही सिस्टम रहिनछ
भन्दै भान्सामा दालभात होइन
पिज्जा खोज्ने
रोडमा दुई/चार दिनलाई
प्राइभेट गाडीमा कुद्ने
महामानव वा
अत्यन्त आफ्नो कोही पसेपछि त
संस्कार, सभ्यता
खोज्नेका ओठहरूले
मौनधारण गर्न पुगेछन्।
सायद
सबै दाइजोको कारणले गरेका
विभेदका धेरै वटा चक्रव्यूहमा
जकडिएर पनि जीवन समाप्त
नपारेकी स्थिर आकृतिको
अगाडि समय निर्लज्जताको
तस्बिर लिएर उदाएको छ
आफ्नो र अर्काको हुनु
गरिब र निरीह हुनु
अनि धन र स्वार्थको
सुन्दर मिलनले देखाएको
धमिलो तर कुरूप तस्बिर लिएर
सायद
रातको कालो घुम्टोले छोपेर
यो लज्जित परिवेशबाट मुक्त पाएको
एउटा सुन्दर बिहानको
पर्खाइमा छिन् उनी।