ज्ञानपुर नाम गरेको एक दिव्य भूमिमा माध्यमिक मूल्यांकन परीक्षा धुमधामका साथ चलिरहेको थियो।
'निष्पक्ष, स्वच्छ, अनुशासित, व्यवस्थित, र प्रभावकारी' परीक्षा गराउने संकल्पका साथ सरकारको प्रतिबद्धता अटल रहेको देखिन्थ्यो।
बिहान सात बजेसम्म शयन कक्षमा नै ध्यानमग्न हुने ज्ञानपुरका मुख्य प्रशासक सुरक्षा दस्ता वरिपरि राखेर एक बिहानै परीक्षा केन्द्रतर्फ हानिन्थे। उनको तत्परता हेर्दा सरकारको उर्दीबमोजिम परीक्षालाई मर्यादित बनाउने दायित्व बोध हुन खोजेको आभास हुन्थ्यो।
रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरू गर्वका साथ एउटै नारा लगाउँदै थिए 'यो वर्षको परीक्षा इतिहासकै सबभन्दा अनुशासित र मर्यादित हुनेछ!'
विद्यालयका प्रधानाध्यापकहरू अनुपम रूपमा हर्षित अनि उत्साहित थिए। किनभने उनीहरूले शिष्यलाई परीक्षा दिनुअघि ज्ञानको क्याप्सुल खुवाउने तयारी गरिसकेका थिए।
वर्षौंको अनुसन्धानपछि तयार भएको त्यो ज्ञानको क्याप्सुल वास्तवमै चमत्कारी थियो। त्यो दिव्य औषधि वास्तवमै कुनै पौराणिक ऋषिले ब्रह्माजीको वरदानबाट प्राप्त गरेको दिव्य अमृत भन्दा कम थिएन।
एकचोटि निल्यो कि पुग्यो! तुरून्तै विद्वता प्रकट हुने, कुनै परिश्रमको झन्झटै गर्नु नपर्ने! गोबर गणेश शिष्यसमेत महाविद्वानमा परिणत हुनसक्ने!
परीक्षाको केही समय पहिला ज्ञानको क्याप्सुल खुवाउन पाउने भएपछि वर्षभरी दुःख गरेर पढाउनुपर्ने अवस्था थिएन। यो औषधिले अत्यधिक फाइदा भने शिष्यलाई हुने भयो। वर्ष दिनसम्म टुपी बाँधेर पढ्नुपर्ने, गुरू र अभिभावकको गाली खानुपर्ने जस्ता समस्याबाट उनीहरू सजिलै मुक्त हुने भए अनि परीक्षामा गज्जबको नतिजा हात पर्ने भयो। परीक्षार्थीले औषधि सेवनको समयमा भने निकै सावधानी अपनाउनुपर्ने हुन्थ्यो।
थोरै मात्रै असावधानी भयो भने जीवनको घडी एक वर्षसम्म ढिला घुम्न सक्ने त्यो औषधिको प्रमुख समस्या थियो। औषधि सेवन निकै सावधानीपूर्वक गर्नुपर्ने, मुख्य प्रशासक र प्रहरीको नजर लाग्न नहुने त्यो दिव्य औषधिको एक मात्र बेफाइदा थियो। नजर लागिहाल्यो भने औषधि पूर्ण रूपमा निष्काम हुने। वास्तवमा औषधि सेवन आफैमा एक साहसिक खेल जस्तै हुने गर्दथ्यो। शिष्यको भविष्य अन्योलमय बनाउन उद्यत ती प्रहरी र प्रशासक औषधि सेवन गरेको पत्ता लगाउन अनेकौं तिकडम गर्ने गर्दथे अनि राज्यका अरू संयन्त्रहरू चाहिँ औषधि सेवनलाई यसको प्राथमिक नियम अनुसार गोप्य बनाउन बलबुताले भ्याए जति परिश्रम गर्दथे। औषधि सेवन गोप्य बनाउनका लागि प्रत्येक कक्षा कोठामा निरीक्षकहरू पनि खटाइएका हुन्थे।
उनीहरूको प्रमुख कार्य भनेको शिष्यले औषधि सेवन गरेको शत्रु पक्षले नदेखून् भन्ने थियो। तसर्थ, अन्यत्रबाट शिष्यहरूको भविष्य बर्बाद बनाउने नियोजित षड्यन्त्रका साथ औषधि सेवन गरेको पत्ता लगाउन आउने झुन्डहरूलाई देख्ने बित्तिकै खोक्ने, सानो स्वरमा आयो-आयो भन्ने, खुट्टा ठटाउने, कक्षाकोठा शिष्यहरूलाई गाली गर्ने, आदी जस्ता साङ्केतिक कार्य गरी शिष्यलाई सचेत गराउनु उनीहरूको प्रमुख जिम्मेवारी थियो।
शिष्यहरू शतप्रतिशत काबिल भएकोले दुःख गरी पढाउनु आवश्यक नभएको राम्ररी बुझेका गुरूहरू पढाउनुपर्ने कार्यबाट उब्रेको समय अन्यत्र सदुपयोग गर्न थाले।
बिहान समाज सेवाका लागि राजनीति गर्ने, दिउँसो मनोरञ्जनका लागि जुवा तास खेल्ने अनि बेलुका गाउँ साथीहरूसँग सम्बन्ध ताजा राख्नका लागि मदहोसी हुने। धेरैले मास्टरले तास खेल्न थाल्यो भनी कुरा काटेको पनि भेटियो तर वास्तवमा तास खेल्नु कसरी नराम्रो काम भयो? पेसाले गुरू भएता पनि ऊ खासमा मानिस भएकोले उसलाई पनि अन्य सामान्य मानिस सरह मनोरञ्जन त चाहिने नै थियो!
परीक्षाको निर्धारित समय आइपुग्यो। निरीक्षकहरू परीक्षा केन्द्रमा तोकिएको कक्षाकोठामा मन्दिरको पुजारी झैँ निष्ठापूर्वक प्रवेश गरे। उनीहरूको चालढाल देख्दा लाग्थ्यो, यो कुनै आध्यात्मिक साधना हो, जहाँ शिष्यहरू गहिरो ध्यानमा ध्यानमग्न छन्। कोठामा शान्ति छाएको थियो, किनभने सबै शिष्यहरू दिव्य ज्ञानको वर्षाको प्रतीक्षा गर्दै थिए। परीक्षालाई मर्यादित बनाउन खटिएका निरीक्षक 'घनश्याम' शिष्यहरूलाई असाध्यै प्रेम गर्ने एक असल गुरू थिए जसको गुप्तचरी क्षमता चाहिँ अभूतपूर्व नै थियो।
उनले आफ्नो विशेष क्षमताको उच्चतम प्रयोग गर्दै साथमा भएको दुरभाष यन्त्रको प्रयोग गरे अनि परीक्षाको प्रश्न पत्रको तस्बिर लिए। बाहिरका ऋषिमन गुरूहरूले केही मिनेटमै परीक्षा हलमा दिव्य ज्ञान प्रवाहित गरे। अनि शिष्यहरू त धर्मभीरु भक्त झैँ एक-एक अक्षर श्रद्धापूर्वक आफ्नो उत्तर पुस्तिकामा उतार्न लागे। 'गुरुर्ब्रह्मा, गुरुर्विष्णुः' भनेको सुनेका उनीहरू गुरूहरूले अति मेहनतसाथ आधुनिक प्रविधिको प्रयोग गरी प्रदान गरेका उत्तरहरूमा शङ्का गरी तोडमोड गर्नु महापाप ठान्दथे। तसर्थ, प्राप्त ज्ञानहरू किञ्चित फरक नपारी उनीहरूले उत्तर पुस्तिकामा उतारे।
मातृभाषाको परीक्षाका दिन 'शिक्षाको महत्त्व' विषयमा निबन्ध लेख्नुपर्ने थियो। विद्यालयको बाहिर भोला नाम भएका गुरू एक पीपलको वृक्षमुनि ध्यानमग्न थिए। हातमा कलम, निधारमा पसिना। उनले मन्त्र जप गर्दै उत्तरहरू लेखे- 'शिक्षा भनेकै राष्ट्रको मेरूदण्ड हो!'
यस्तै यस्तै आदर्शात्मक सृजनाहरू भोला गुरूले दिव्य शक्तिको प्रयोग गरी प्रत्येक शिष्यको उत्तर पुस्तिकासम्म प्रवाहित गरिदिए।
परीक्षा केन्द्रको अर्को कुनामा केही नास्तिक गुरूहरू चिन्तित देखिन्थे।
'यस्तो शिक्षाले देशको भविष्य के बनाउला?'
प्रधानाध्यापक महोदयले आफ्नो चस्मा मिलाउँदै कड्किए, 'भविष्यको किन चिन्ता गर्ने? अरूको भविष्यको चिन्ता गर्दा तिम्रो भविष्य धरापमा पर्यो भने नि! अहिले नतिजा राम्रो आउनुपर्छ। नतिजा कमजोर आएर तिमीहरू कारबाहीमा पर्नु राम्रो कि शिष्यको नतिजा राम्रो आउनु!'
ती नास्तिक गुरूहरूको झुन्डलाई प्रधानाध्यापकको यो कुरा चित्त बुझेनछ।
'अहिले १५/१६ वर्षका शिष्यहरू यस्तो शिक्षा दिइयो भने यसले अबको ५०/६० वर्षसम्म हाम्रो ज्ञानपुर नगरीमा असर गर्छ। हामीहरू अरू ५०/६० वर्ष पछि पर्ने छौँ।'
दूरदर्शी प्रधानाध्यापकले सम्झाए: '५०/६० वर्षमा तिमी हामी माथि धेरै रूख बिरूवाहरू उम्रिसक्ने छन्।'
परिणाम आयो। विद्यालयले शतप्रतिशत सफलता हासिल गर्यो। अभिभावकहरू गदगद भए। नतिजामा प्रथम श्रेणी आएका कारण शिष्यहरू प्रसन्न नहुने कुरै भएन। प्रधानाध्यापक मालाले ढाकिए।
निरीक्षकहरूलाई 'मर्यादित रूपमा परीक्षा सम्पन्न गराएको' प्रमाणपत्र दिइयो। आखिर परीक्षा भनेको केवल एउटा महाज्ञान मेला थियो, जहाँ ज्ञानको क्याप्सुल सेवन गरेर अङ्क पाइन्थ्यो र अङ्क प्राप्त गर्ने शिष्यहरू समाजमा विद्वान मानिन्थे। अभिभावकहरू आफ्ना छोराछोरीलाई यही विद्यालयमा भर्ना गराउन हतारिए।
'हाम्रो सन्तानको भविष्य यही विद्यालयमा सुरक्षित छ!' उनीहरू गर्वका साथ भन्दै थिए।
गुरू, निरीक्षक तथा अभिभावकहरू सबैले 'भविष्य' व्याख्या भने आ-आफ्नै तरिकाले गर्ने गर्दथे।
ज्ञानपुरमा क्याप्सुल नखाइकन उत्कृष्ट अंक प्राप्त गर्न सक्ने शिष्यहरू पनि थिए। तर क्याप्सुल नखाने हो भने वर्षभरि टुपी कसेर पढ्नुपर्ने, गुरूलाई दैनिक रूपमा गृहकार्य बुझाउनु पर्ने, रेडियो/पत्रपत्रिकाहरूबाट समेत सामान्य ज्ञानका टिप्सहरू लिनुपर्ने, आदि इत्यादि नाटकहरू। वर्षको एक पटक विद्यालयले बाँडेको क्याप्सुल निःशुल्क प्रयोग गर्दा सबै प्रकारका झन्झटबाट मुक्ति पाइने! त्यसो हुँदा क्याप्सुल खान नपर्ने शिष्यहरूमा पनि क्याप्सुलको लत बस्यो। वर्षौं बिते। ज्ञानपुरको महाज्ञान मेला निरन्तर चलिरह्यो। ज्ञानपुरका स्नातकहरू गौरवमय प्रमाणपत्र बोकेर जागिरको खोजीमा निस्किए। महाज्ञान मेलाका उत्कृष्ट विजेता भएका कारण उनीहरू आत्मविश्वासले भरिएका थिए।
'तपाईंको सीप के छ?' एक रोजगारदाताले सोधे।
'म ज्ञानपुरभरिमा गणित विषयमा सबभन्दा बढी अङ्क ल्याएर पुरस्कृत भएको शिष्य हुँ!'
'अति उत्तम!'
रोजगारदाता एक प्रश्न पत्र निकाल्दै भने- 'यसमा सामान्य समीकरण हल गर्ने पाँच वटा प्रश्नहरू सोधिएका छन्, कुनै ३ वटाको जबाफ दिनुहोला।'
शिष्यको निधारमा पसिना टपक्क चुहियो। किनभने ज्ञानको क्याप्सुलको डरलाग्दो साइड इफेक्ट भनेको छोटो समय काम गर्ने… मात्रै २/३ घण्टा, पुनः ज्ञान चाहिएमा पुनः सेवन गर्नुपर्ने!
रोजगारदातालाई उनले भने, 'हामीले परीक्षा हुनुभन्दा अघि गोप्य रूपमा ज्ञानको क्याप्सुल खानुपर्ने हुन्छ, कृपया बाहिर गइदिनुहोला।'
रोजगारदाताले मुस्कुराउँदै भने, 'दुःख नगर्नुहोस्, तपाईंलाई हामी चाँडै खबर गर्छौं।'
स्नातकहरू बेरोजगार भए। तर चिन्ता गर्ने कुरै थिएन! उनीहरू सामाजिक सञ्जालमा क्रान्तिकारी स्ट्याटसहरू पोस्ट गर्न र कमेन्ट गर्न व्यस्त भए- 'नालायक सरकारले बेरोजगारी हटाउन सकेन!' कोही टिकटके बने, कोही युट्युबे बने, केहीले फेसबुकमा 'हामी शिक्षित छौँ, तर बेरोजगार!' भनेर अभियान नै चलाउन थाले।
र यो चक्र चलिरह्यो। परीक्षा निष्पक्ष, स्वच्छ, अनुशासित, व्यवस्थित, र प्रभावकारी देखिन्थ्यो । गुरूहरू 'सहायक' बने। शिष्यहरू 'सफल' भए। विद्यालय 'प्रतिष्ठित' बन्यो।
तर देशको भविष्य कहाँ हरायो? भनेर कसैले सोध्ने आँट गरेन। किनभने प्रश्न सोध्ने सीप कसैलाई सिकाइएको थिएन। उनीहरूलाई त केवल उत्तर नकल गर्न मात्र सिकाइएको थियो!