छोरा, तिमीलाई एयरपोर्टमा बिदाइ गर्न जाँदाको क्षण एकदमै नमिठो र कालो बादल छाएको दिन जस्तो हुन्छ। तिम्रो हिँड्न लागेका पाइलाहरू रोक्न नपरोस् भनी म मेरा सम्पूर्ण अभिभावकत्वलाई बल जस्ती बेलुनमा हावा भरिए जसरी कोचेर राख्न कोसिस गर्छु। तर के गर्नु छोरा? उकुसमुकुस पारेर राखेको मेरो रोदनहरू जब तिमी त्यो ठुलो जहाजमा चढेर भुइँ छोड्छौ नि, तब सम्पूर्ण मेरा एकत्रित गरिएका रोदन र भावनाहरू एक्कासि पृथ्वीमा पछारिन्छन्।
म रुन्छु, कराउँछु र छिनभरमै मैले मेरा संवेग गुमाउन पुग्छु। म रोएकोमा समाजले गिज्याउँछ किनकि ममा पुरुषार्थ जोडिएको छ। पुरुष भएर रुनु हुँदैन भन्ने भाष्य अडिएको छ। तर एकै छिन मेरो अस्तित्व बिर्सेर मात्र अभिभावकत्व बहन गर्न अनेकौँ प्रयास गरी म तिमीलाई राष्ट्र र छोडेर नजान मनमनै अनुरोध गर्छु।
म हरेक चोटि तिम्रो बडेमानका सुटकेसहरू छुँदै भन्न खोज्छु, ‘होस् क्या बाबु, अब नजाऊ। हामी दिनानुदिन डुब्न लागेको घाम जस्तै छौँ। फेरि किन जान लागेको विदेश बाबु? हामीले जायजेथा गरेर जोडेको सम्पत्ति छँदै छ बरु बेचबिखन गरेर सहर तिरै एउटा घर किन्दा भइहाल्छ। हामी बुढाबुढी डाँडा माथिको घाम भयौँ बाबु।’
तर यी सब भन्न सक्ने आँट र साहस ममा आउँदैन। किनकि तिमीलाई पनि तिम्रो कर्तव्य निभाउने अंश आइपरेको छ। मैले पनि मेरो सम्पूर्ण जीवन जागिरे जीवनमै आहुति दिएँ। तिमीहरूलाई पढाउने जिम्मेवारी र जागिरको सिलसिलामा कहिले पनि तिमीहरूसँग बस्न पाइनँ। छोरीको पनि उमेर नपुग्दै बिहे वारी गरेर पठाउनु पर्यो। तिमीहरूसँगै चाडबाड मनाउन नपाउनुको क्षण एकदमै खल्लो र नरमाइलो हुन्थ्यो र हुनेछ।
मैले धेरै बेर छोरालाई मेरो उथलपुथल भएको मनका कुण्ठाका पोकाहरू फुकाउँदै थिएँ।
कालो बादल मडारिएर एक्कासि मुसलधारे पानी पर्न लागेको मौसम जस्तै भएको मैले छोराको अनुहार पढेँ। तर उसले एक शब्द बोल्न सकेन। बालबच्चा पढाउने जिम्मेवारी मेरो काँधमा परेर मैले सम्पूर्ण जीवन जागिरमा घर-परिवारबाट टाढा भएर बिताउनु परेको थियो। स्वयम त्यही जिम्मेवारी मेरो छोराको काँधमा आइपरेको थियो। फरक यही थियो, हामीले पहाडमा बसेर ग्रामीण परिवेशमा छोराछोरी हुर्काएका थियौँ। नातिनातिनाको पालामा हर झर्ने प्रचलन र छोराले जीविकोपार्जनका लागि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता थियो।
सँगै घाँस-दाउरा गरेका कतिपय दौँतरीहरूको स्वर्गारोहण भइसकेको छ, कतिपय थला परेर मृत्युको मुखमा पुग्नै लागेका त कोही दीर्घ रोगका सिकार भएर गाउँ बेसी गर्दै बसेका छन्।
मेरा पनि सम्पूर्ण आवश्यकताहरू पूरा गर्न छोराले बल जस्ती गरिरहेको थियो। त्यो बेला छोराछोरीलाई खुवाउँला भनेर कति धित मारेर बसियो, लगाउन मन लागेका कुराहरू लगाइएन। एक जोडी भए पनि बच्चाहरूलाई नै हुन्छ भनेर जोहो गरियो। मुख सुकाएर हत्केला खियाएर माटो जोडियो। धुरी हालियो। आज त्यो धुरीले छोराछोरीको ओत लगाएन, संघर्ष गरेर जोडेको माटोमा सन्तानले खुट्टा राखेनन्। मेरो बाले गरेका संघर्ष मेरा लागि फिक्का भए। त्यसै गरी मैले गरेका त्याग मेरा सन्ततिका लागि अधुरै भयो।
आज त मेरा सन्ततिहरू ७ समुद्रपारि रमाउँदै छन् तर हामी हजुरबा-हजुरआमाले साउँको भन्दा ब्याजको माया भन्ने उखानको उपयोग पनि गर्न पाएनौँ। बल्लबल्ल विदेश गए नि एकै छाक सँगै बसेर खान नपाइने। त्यही पनि अर्काको देश र भेषमा आफ्नोपनको अनुभूति गर्न नपाउँदै बस्ने स्वीकृति सकिने रहेछ। एक दिन दुई दिन गर्दा गर्दै नाति नातिनाहरूले बाजेबज्यै बिर्सिने रहेछन्।
आँखाहरू ओभानो हुन नपाउँदै फेरि सन्तान कहिले फर्केलान् भनेर आँखाको डिल रसाउँदै जीवनलाई कटाउने संघर्षमा लागेको छौँ। आज छोराछोरीले झोलाभरि लुगा पठाइदिन्छन्। ती चटक्क टमक्क परेका लुगाहरू हाड छोडेका मासुहरूमा अत्यास लाग्दा देखिन्छन्। बाकसभरि राखेर मिष्टान्न भोजन पठाइदिन्छन्। न रोगले खान दिन्छ न खाँदा सन्तानको यादले सन्तुष्ट मिल्छ। बेलामा हिँड्न नपाएका रमणीय स्थलहरू पुग्न त कहाँ हो कहाँ, आफ्नै आँगनी पनि टाढा लाग्छ।
चौतारीहरूमा दिउँसो १२ बजेपछि सुरु हुने गाउँले गफमा न मानिस, न संघर्षका कथा सुन्ने ती पछिल्ला पिँडीहरू नै। सबै पराया भएका छन्, गाउँ उजाड भएको छ। मुहानको पानी सुकेर खडेरी लागेको छ। विद्यालयहरू, त्यही छेउमा रहेका स्वास्थ्य चौकीहरू सबै रित्तै छन्। औषधी खुवाइदिने ती उत्तराधिकारीहरू कोही छैनन्। केही समस्या परे सहयोगी युवाहरू गाउँमै छैनन्। बारी सब बाँझो भएको छ। चराचुरुङ्गीहरू पनि सबै बसाइ सरेर सहर नै पसेका छन्। कुकुर बिरालोसँग पनि बोल्न पाइने छैन।
बुढेसकाल लौरीको सहाराले दैनिकी गुजार्नु परेको छ। औषधीका पोकाहरू सारथि भएका छन्। जीवनका सबै रङिन जीवन चित्रहरू अहिले रङहीन भएका छन्। चोकमा बसेर चियाका चुस्की लिँदै गरिने राजनीतिक गफहरू गर्न दौँतरीहरू पनि आफ्ना बचेराहरू स्वदेश फर्किने आसमा दैनिकी गुजारी रहेका छन्। सन्तानलाई वैदेशिक मोहले तानेको छ र हाम्रो पिँडीलाई पीडाले घेरेको छ।
अहिलेको ग्रामीण भेगको स्थिति ठ्याक्कै मेरो अनुभवसँग मिल्दोजुल्दो भएको छ।