मैले जापान जाने सपना छाडेपछि उनले सम्बन्ध तोडिन्।
हैन! मैले नै सजिलो पारिदिएँ, विदेश जान समेत नसक्नेसँग उनले किन जीवन बरबाद पारुन्?
चैतको मध्य दिन, काठमाडौँको जाममा उनले फुसफुसाएर सोधेकी थिइन्- ‘तपाईंको जेएलपिटीको एक्जाम कस्तो भयो?’
मैले उत्तर नदिँदै हतारमा उनले अर्को जिज्ञासा राखिन्, ‘जापान जाने प्रोसेस कहाँ पुग्यो?’
हुन त मैले पनि देशमा बस्ने सपना देख्न छोडिसकेको थिएँ। बारम्बार डिभी भरेर अमेरिकाको तयारी गर्नेदेखि पहिल्यै कोरियन भाषा पढिसकेको म कुनै देशले भिसा दिए कसैलाई थाहै नदिई जाने सोचमै थिएँ।
जेएलपिटीकै परीक्षामा गोलो लगाउँदा डटपेन हेर्दै सोचेकै हो; अहिले भिसा लागेको खबर आए यसको बिर्को नै नलाई चल्दिन्थेँ। अनि सोचेकै हो, विदेश गएर केटाहरूलाई देखाइदिने हो।
यसैका लागि पुस माघको चिसो बिहान बागबजार धाएकै हो। कखरा नै नसिकी सेन्सईसँग जापानका मान्छेका कलर, कल्चरदेखि जीवनशैलीका बारे चासो पनि राखेकै हो।
सिइओ आउने रेट टोकियोतिर कति छ? अन्य सिटीमा कति छ? प्रश्न गरेकै हो।
टक्क माउन्ट फुजीलाई ब्याकग्राउन्डमा राखेर आइफोन १५ प्रोम्याक्सबाट खिचेको फोटो पोस्ट गरेर के क्याप्सन राख्ने ड्राफ्ट तयार पारिएको हो।
बिस्तारै काठमाडौँका सडकमा खाल्डाखुल्डी र धुलो बढी महसुस हुन थालेको थियो। देशमा भविष्य देख्न छोडेको थिएँ। गज्जब भनौँ, फेसबुक इन्स्टामा समेत यस्तै पोस्टहरू बारम्बार दोहोरिइरहेका थिए।
उता दाजुले आँट दिएपछि यता देशमा भविष्य देख्न छोडेको यही समयमा कन्सल्टेन्सीका काउन्सिलहरूले पखेटा थपेपछि चिसा बिहानहरूको बाल लाग्न छाडेको थियो। हुन पनि सिओई त उनीहरूको शब्दमा बायाँ हातको खेल न थियो।
लाग्थ्यो म घरबाट १६ घण्टा टाढा र जापानबाट साढे १२ घण्टा मात्रै टाढा छु। म एक कदम अघि उनको मनको नजिक र समुदायको सफल व्यक्ति बन्ने यात्रामा जो थिएँ।
उनलाई पनि मेरा सपनाहरूले उत्साह थपेको हुनसक्छ सायद। लोक सेवा को भिड्ने? कसले पढ्ने भनेर एकअर्कालाई कर गर्दागर्दै मैले गरेको नयाँ ‘ट्राई’मा उनले त्यति विश्वास गर्नु स्वाभाविक पनि थियो।
सपना सिओईमा पुगेर अड्कियो, मेरो मन शून्यमा पुगेर। सुनाऊँ मेरो जापनिज दुख कसले बुझ्ने? मौन बसूँ उनलाई के उत्तर दिऊँ?
आखिर उनले पनि त मेरै सपनाका लागि आफ्ना सपना मारेर कामना गर्दै बसेकी थिइन्। तर माया नै मार्ने गरेर बसेकी थिइन्, त्यो तहको समर्पण मेरो अपेक्षा थिएन।
त्यही अपेक्षालाई पनि झुट साबित गरिदियो, त्यही बानेश्वरको जामले। जसबाट म अघि जाने प्रयत्नमा थिएँ।
हरियो बत्ती बल्यो, ट्राफिकले अघि जाने इसारासहित सिट्ठी फुके। उनलाई बाइकको पछि राखेको देखेर म शून्यतिर हानिएँ। जहाँ उनले सय तिरको यात्रा तय गरिसकेकी थिइन्।
साथीसँग याङतारुमा जमेको दिन पो म झल्याँस्स भएँ– मैले मेरा दिदी-बहिनी माग्न आउनेसँग के-के योग्यता खोजेको थिएँ?
न सरकारी जागिर, न विदेश; त्यस्ता ‘नाथे’हरू कति जनालाई रिजेक्ट गर्न बाध्य पारेको थिएँ।