अहो! चार बज्यो
अथवा पाँच बज्यो
ऊ/उनी अफिसबाट निस्कन्छ गह्रुङ्गो भारी बोकेर
जिम्मेवारीको भकारी बोकेर
अनि बाटैबाट बेलुकीको लागि तरकारी बोकेर
अफिसको दिक्दारी घरको कुन दलिन
कुन भित्तामा टाँसिएको बिसौनीमा बिसाउने
घरका बेखुसी अफिसका कुन कोठा,
कुन क्याबिन, कुन टेबलमा बिसाउने
ऊ सोच्छ घरबाट निस्किँदा अफिससम्म
अफिसबाट निस्किँदा घरसम्म
ऊ दिक्क मान्दैन प्रत्येक दिनको आफ्नो ताल देखेर
माथिल्लो पदका व्यक्तित्वको हप्काइका बेताल देखेर
भाँचिँदो हो मपाईँत्वको चाप्लुसी देखेर
साँचिँदो हो सत्यताको सिद्धान्त टेकेर
यसै यसै बित्दो हो दिन
यसै यसै बित्दो अधीन
ठुला ज्यानको खडेरीमा
ऊ सानो ज्यान यसै सुकिजाँदो हो
उसलाई सिँचाइको लोभ छैन
ऊ भर परी बस्छ बर्खे झरीहरूको
ऊ सही रहन्छ बेकामे मनपरीहरूको
ऊ सहनु बाहेक अरू जान्दैन
अड्डा अदालत उसको पक्षमा मान्दैन
यही नै त छ तिकडम
यस्तै यस्तै त छ खिचातानी
काला रङका सबै काग नहुन सक्छन्
बुझ्दैन त्यो घरको मूल मान्छे
बुझ्दैन उसले रङको महत्त्व
बुझ्दैन उसले सीप
बुझ्दैन उसले कला
ऊ कुरी बस्छ कुराहरूको खिचडी
चाख्छ मिठै मानेर
हाँस्छ ठुलै जानेर
लेख्छ राम्रै मानेर
बोल्छ गजब ठानेर
कठै!
लाज लजाएन यो कुरामा
ऊ जान्नेहरूकै भिडमा झन् गन्यमान्य सम्झन्छ
बिर्सन्छ आफ्नो पुरानो पैतालाको डोबहरू
भुल्छ उसले टेकेका पुरानो जमिनहरू
यसै गरी चलिराख्दो हो उसको समय
यसै गरी बलिराख्दो हो भ्रमको भ्रमण
बाँडिराख्ने नै त हो मिठाई
अहो! फेरि चार बज्यो अथवा पाँच बज्यो।