छर्लङ्गै थियौँ—
हाम्रो सामीप्यले प्रेमको आकार लिने छैन भन्ने तथ्यमा
सम्बन्धको परिभाषा पाउने छैन भन्ने यथार्थमा
तर पनि मस्तिष्कले एकअर्काको हृदयमा ठडाइदिएको
प्रणयको पर्खाल तोड्न सकेन।
समयले आफ्नै नियम बनाइदियो
हाम्रो पाइलाहरूलाई फरक दिशामा मोडिदियो
हामीले चाहेर पनि तोड्न नसक्ने
एउटा अजङको दूरी कोरिदियो।
तिमी र म—
एउटै बाटोका यात्रु बन्न खोज्दै थियौँ
अचानक मोडहरू आए
र,
हामी दुईलाई फरक बिन्दुका छाया बनेर हिँड्न बाध्य बनाए।
प्रतिकात्मक शब्दहरूका देहान्त भए
भावनाहरू बिधुवा नै रहे
एकीकृत हुने चाहनाहरू काँचझैँ टुक्रिए
अनि
त्यसका अवशेषहरूले मनभित्र गाडिएर राज गर्न थाले।
तिम्रो स्पर्शको अनुभूति
हावा भएर ती अवशेषहरूमा बिलाइरहेछ
र त्यो हावाले अझै पनि
मेरो आत्मामा तिमीलाई बोकेर सताइरहेछ।
हामी दुई—
एउटै आकाशका पृथक् तारा बन्न त चाहन्थ्यौँ
एउटै उज्यालोको अंश पनि भयौँ
तर
अब फेरि कहिल्यै एउटै गगनमा चम्कन नसक्ने गरी
हाम्रो प्रेमिल जीवनको बीभत्स हत्या गरियो।
तिमी र म—
एउटै कथाका अपूरा पानाहरू भयौँ
जुन कहिल्यै पूर्ण हुने छैनन्
तर जसको अर्थ जीवनको पानामा
कहिल्यै विलीन हुने छैन।
प्रेम थियो
छ र सायद सधैँ रहिरहनेछ
तर सम्बन्ध बन्न नपाएको
एक अधूरो सपनाझैँ
एउटा अपूर्ण गीतझैँ
मनको कुनामा गुन्जिरहनेछ।