भगवानले सृष्टि रच्ने क्रममा उसको
दिन खोसेर रात दुई भाग पार्यो
पूर्ण कदको जून खोसेर
उसको हिस्सामा दाग पार्यो
सायद भगवानलाई आफ्नै पापले पोल्यो
अनि प्रायश्चितको अग्निमा दग्ध भएर
उसको गलामा सजाए 'सारेगमपधनिसा'
औँलाहरू जन्मजात कलाकार बनाए
बाँच्नु त पर्यो
ती औँलाले ऊ, मादल कुटी-कुटी
घिन्ताङ-घिन्ताङको बजार लाउन सक्थ्यो
त्यही धुनले भरिन्थ्यो उसको कचौरा
कचौरामै बिहानी उदाएर
त्यसैमा साँझ डुबाएर
साँझमा लिएर आउँथे घर
दुई माना चामल
आधा केजी दाल
दिनभरिको भोक बिर्सेर
हाँस्थे केटाकेटी भात खाएर
ताली पिट्थे गीत गाएर
‘बाबा, चामल त गोरा हुन्छन्
अनि दाल काली
जो जस्तै होस्
हाम्लाई सबैभन्दा बाबा प्यारी’
छोराछोरी अनि सन्तुष्ट पेट निदाउँथे
लगत्तै उनीहरूको निदको
एक-एक वटा पखेटा तोडेर
उडाउँथे आफ्ना परेवा आँखा नि भुर्र
बिहानीको आकाश ताक्दै
भोलि फेरि बिहानै
त्यही मादल गलामा बाँधी
सेतो छडीको औँला समाती
उहीँ कचौरा लिएर
हिँड्थ्यो
रत्नपार्कको आकाशे पुलको काख खोज्दै
जुन पुलको मुनि
सुन्दर पुष्ट पुष्ट छाती भएका
बैँसालु केटीहरू बस्थे बैँसको आगो बाल्दै
सुनिन्थे आवाजहरू पटक-पटक ‘जाने हो?’
त्यही ‘जाने हो’ को आवाज मुनि
दबिँदै
थिचिँदै
च्यापिँदै
सुनिन्छ उसको
एक थान मादलको घिन्ताङ घिन्ताङ।